 
																			२१ माघ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पहिचान सहितको संघीयताको नारा लिएर चुनावमा जाँदा पनि जनताको साथ नपाउनु दुर्भाग्यपूर्ण रहेको बताएका छन् । आदिवासी जनजाति आयोगको तेस्रो वार्षिक स्थापना दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
उनले २०७० सालको चुनावमा आफूहरु पहिचान सहितको संघीयता र संघीयता सहितको संविधान भन्ने मूल नारा लिएर निर्वाचनमा गएको भए पनि आदिवासी जनजातिकै साथ नपाएको बताए ।
उनले भने, ‘खासगरी २०७० को चुनावको सन्दर्भमा हामीले पहिचान सहितको संघीयता र संघीयता सहितको संविधान भन्ने मूल नारा लिएर निर्वाचनमा गयौं । तर त्यो नाराको पक्षमा जनमत देखिएन । त्यसको विरुद्ध जनमत देखियो । यो बडो दुर्भाग्यपूर्ण कुरा हो भन्ने मलाई लाग्छ ।’
उनले २०७० को निर्वाचन सकिएलगत्तै आदिवासी जनजातिकै स्थापित नेताले आफूसँग आदिवासी जनजाति नै पहिचान विरोधीलाई दिएको बताएको उल्लेख गरे ।
उनले यो दोष आदिवासी जनजातिको नभई पहिचान र संघीयताको पक्षमा, समावेशी र समानुपातिकताको पक्षमा काम गर्ने पार्टी र नेतृत्वको कमीको परिणाम भएको बताए । उनले पहिचानवादी पार्टी एकतावद्ध नरहनु, जनतालाई विश्वास दिलाउन नसक्नु आफूहरुको कमजोरी रहेको बताए।
‘यो पहिचान र संघीयताको पक्षमा, समावेशी र समानुपातिकताको पक्षमा काम गर्ने पार्टी र नेतृत्वको कमीको परिणाम हो भनें । त्यसो गर्ने पार्टी एकताबद्ध नरहनु र जनतालाई यो विश्वास दिलाउन नसक्नु, कि पहिचान र अधिकारको लडाईं हामीले जित्नसक्छौं भन्ने विश्वास दिलाउन नसक्नु हाम्रो कमजोरी हो । जनताको कमजोरी होइन’ उनले भने ।
प्रधानमन्त्री दाहालले आदिवासी जनजातिको श्रम र सीपलाई संरक्षण र प्रवर्धन गरी राष्ट्रिय आयमा वृद्धि गर्ने, विशेष औद्योगिक कार्यक्रम तर्जुमा गर्ने, आदिवासी जनजातिको सांस्कृतिक सम्पदालाई युनेस्कोमा अभिलेखन गर्ने, आदिवासी जनजातिको अन्तर्राष्ट्रिय श्रम सम्बन्धी महासन्धी १६९, संयुक्त राष्ट्रसंघका घोषणापत्र लगायतका सन्धि, अभिसन्धिहरु पूर्ण रुपमा कार्यान्वयन गर्न सरकारले काम गरिरहेको बताए ।
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                .png) 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4