२३ माघ, विराटनगर । नेपालका तीन ठूला परिवर्तनको आन्दोलनमा सक्रिय रहेका नेता केशवकुमार बुढाथोकीको निधन भएको छ । पूर्वमन्त्री समेत रहेका झापा अर्जुनधारा निवासी बुढाथोकीको ८० वर्षको उमेरमा आज निधन भएको हो । बुढाथोकी राजा महेन्द्रको ‘कु’ पछि प्रजातन्त्रको आन्दोलनमा होमिएका थिए ।
२०४६ साल र २०६२-६३ सालको आन्दोलनमा सक्रिय भूमिका निर्वाह गरे । नेपाली कांग्रेस निकट विद्यार्थी संघबाट राजनीति सुरु गरेका उनी राजाकालीन प्रधानपञ्चदेखि गणतन्त्रका मन्त्रीसम्म भए ।
सम्पन्न परिवारमा जन्मिएका बुढाथोकी नेपाली राजनीतिक नेतृत्वदेखि राजपरिवारका सदस्यका पनि अभिभावक थिए । उनलाई स्वर्गीय राजा वीरेन्द्र शाहले भाइ धीरेन्द्र र ज्ञानेन्द्र शाहको अभिभावक मानेका थिए । राजकुमारहरुले उनलाई ‘क्षेत्री दाइ’ भनेर सम्बोधन गर्थे ।
भारतको दार्जीलिङमा बुढाथोकी तत्कालीन युवराज वीरेन्द्र, धीरेन्द्र र ज्ञानेन्द्रसँगै बसेर पढेका थिए । २००० सालमा जन्मिएका उनी ११ वर्षको उमेरमा सेन्ट जोसेफ स्कुल दार्जीलिङमा भर्ना भएका थिए । बुढाथोकी भर्ना भएकै वर्ष नेपालका तत्कालीन तीन राजकुमार पनि भर्ना भए । तत्कालीन राजा महेन्द्रले ६ जना छोराछोरीलाई पढाउन दार्जीलिङ नै लगेका थिए ।
वीरेन्द्र थप अध्ययनका लागि बेलायत जाँदा आफ्ना दुई भाइको जिम्मा बुढाथोकीलाई लगाए । ‘रुम मेट’ भएका कारण उनले दुई भाइको जिम्मा लगाएका हुन् । बुढाथोकीसँग भुटानका युवराज पनि पढ्थे । तर नेपालको राजपरिवारको जस्तो नजिकको सम्बन्ध भने उनीसँग भएन ।
ताप्लेजुङबाट इलाम हुँदै झापा झरेका बुढाथोकी प्रधानपञ्च, जिल्ला सभापति हुँदै पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा २०७३ सालमा सामान्य प्रशासन मन्त्री पनि बनेका थिए ।
हक्की स्वभावका बुढाथोकीले ‘आफ्नो आफ्नो सगरमाथा’ पुस्तक पनि लेखेका छन् । उनले आफ्नो आत्मसंस्मरणमा राजा परिवारका सदस्य वीरेन्द्र र धीरेन्द्रको राम्रो प्रशंसा गरेका छन् । स्कुल पढ्दा वीरेन्द्र शाह लोभी भएको उल्लेख गरेका छन् ।
‘वीरेन्द्र यस्ता चाम्रा थिए, मरिगए पैसा ननिकाल्ने, कहिलेकाहीं स्कुल भित्रको दोकानमा आइसक्रिम वा केही खानु पर्यो भने एक आना दुई आना मरेर दिन्थे’ उनले लेखेका छन् ,‘धीरेन्द्र चाहिं जहिलै आइसक्रिम खान मसँग दुई आना मागेर हैरान पार्थे, छेउमा भएको सबै उनैको दाजुले मुठ्याएको हुन्थ्यो, ऊ आफ्नो दाजु (वीरेन्द्र) सँग माग्न नसक्ने, मलाई कचकच गर्ने । अनि म वीरेन्द्रसँग मागिदिन्थे, वीरेन्द्र मलाई भन्थे यसलाई (धीरेन्द्र) कति पैसा दिएको ?’
उनले वीरेन्द्रसँग राजपरिवारको सदस्य भनेर संगत गरेको भने होइन । राजपरिवारको सदस्य हुन् भनेर थाहा पाएको राजा त्रिभुवनको मृत्युपछि मात्रै हो । ‘२०११ सालमा राजा त्रिभुवन वितेछन्, त्यो खबर लिएर एक दिन मातृकाप्रसाद कोइराला आए, वीरेन्द्रलाई भेटेर के भने कुन्नि वीरेन्द्र रोए, मैले अंग्रेजीमा तिमी किन रोएको भनेर सोधें, उनले भने, मेरो हजुरबुवा स्वर्गे होइबक्स्यो । मैले सोधें को हो तिम्रो हजुबुबा ? उनले जवाफ दिए– नेपालको राजा थिए । मत अलमल्ल परें ।’ त्यसपछि भने उनको संगत वीरेन्द्रसँग झन् नजिकियो । वीरेन्द्रको रक्षाका लागि उनी उभिए ।
‘एकदिन भुटानको युवराज जिग्मेले तेरो नेपालको राजा यही हैन ? भनेर वीरेन्द्रलाई हेप्यो । मैले त्यसलाई झम्टिहालें । म नभएको बेला हेपेर वीरेन्द्रलाई लात हानी हाल्दो रहेछ । भरे जब म थाहा पाउथें, म जाइलागिहाल्थें, त्यसलाई (जिग्मे) मैले पेलेको देखेपछि वीरेन्द्र झन् मेरो नजिक हुन थाले’ उनले लेखेका छन्, ‘वीरेन्द्र त राजकीय अनुशासनमा बस्नुपर्ने मान्छे । उनले झगडा गर्दै हिंड्नु पनि नहुने । फेरि उनी एकदम नै सोझो र भलाद्मी थिए । वास्तवमै उनी राजामा हुनुपर्ने धीर स्वभाव बोकेका मानिस थिए ।’
वीरेन्द्रको रक्षाका लागि जिग्मेलाई कुटेपछि उनी होस्टलको नेता बनेका थिए । ‘स्कुलमा त जो झोंकी छ त्यही नेता हुने हो । म कसैलाई दादा हुन नदिने, मेरो सुरोपनले गर्दा सबै मसँग तर्सिन्थे । जिग्मेलाई पिटेपछि त म होस्टलको नेता नै भइहालें नि,’ उनले लेखेका छन् ।

ज्ञानेन्द्रचाहिं राम्रो नाच्न र बोल्न सक्ने भनी बुढाथोकीले व्याख्या गरेका छन् । ज्ञानेन्द्रले भारतभरिका विद्यार्थीहरूको वक्तृत्वकला प्रतियोगितामा स्वर्णपदक जितेको भन्दै उनले लेखेका छन्, ‘उनले भाषण गर्न थालेपछि सबै मौन हुन्थे । उनको भाषण तर्कपूर्ण र मेसो मिलेको हुन्थ्यो ।’
स्कुल पढ्दा उनीहरुबीच छोटकरीमा नाम बोलाउने चलन थियो । ‘हामी सबैका छोटा नामहरू पनि थिए । वीरेन्द्रको वी शाह, ज्ञानेन्द्रको जी शाह, धीरेन्द्रको डी शाह, मेरो के छेत्री । मलाई चाहिं के चेट भन्थे । के चेट भनेको केशव क्षेत्री’ उनले भनेका छन्, ‘एकदिन वीरेन्द्रले खै के भन्दै थिए, बीचैमा ज्ञानेन्द्रले (वी शाह डजन्ट नो एनिथिङ, आई वाज किङ बिफोर हिम (वी शाह केही जान्दैनन्, उनीभन्दा पहिला म राजा भइसकेको थिएँ, भनिदिए । त्यो सुन्ने बित्तिकै मलाई के झोंक चलेछ कुन्नि भइस् राजा, हावा कुरा गर्ने भनेर पर ठेल्दिहालें, वीरेन्द्रले छोड्दे–छोड्दे यसको बानी नै यस्तै हो भने, तर एकछिनपछि मचाहिं अलमल्ल परें, कस्तो हावादारी कुरा गरेको !’
ज्ञानेन्द्रलाई धकेलेको कुरा उनले घर गएर बुबालाई पनि सुनाए । छोराले राजालाई कुटेको थाहा पाएपछि बा–आमा दुवै छक्क परे । घरबाट फर्किएपछि भने उनको राजपरिवारका सदस्यसँग राम्रो सम्बन्ध भयो । सन् १९५९ सालमा वीरेन्द्र उच्च शिक्षा अध्ययनका लागि बेलायत गए, बेलायतबाट वीरेन्द्रले भाइ ज्ञानेन्द्र र धीरेन्द्रको अभिभावक बनिदिन आग्रह गरेर चिट्ठी पठाए । चिट्ठी पाएपछि उनले दुई भाइलाई देखाए । त्यसपछि दुई भाइको अभिभावककै रुपमा अरुबाट सुरक्षा गरे ।
राजनीतिक क्याम्प फेर्नुको कारण
केशवकुमार २०२५ सालदेखि विद्यार्थी राजनीतिमा लागेका थिए । २०२७ सालमा तरुण दलको सदस्य भएर काम गरेका थिए । सुरुमा उनको जिम्मेवारी तरुण दल मेचीको अध्यक्ष थियो ।
इलाम जिल्लाको जिल्ला पञ्चायत सभापति भएका बुढाथोकी २०४३ सालमा राष्ट्रिय पञ्चायतको सदस्य निर्वाचित भए । त्यसपछि जलस्रोत सहायकको जिम्मेवारीमा रहे । उनले पहिलोपल्ट राष्ट्रिय पञ्चायतको चुनाव जितेर सदनमा पुगेपछि आफ्नो भाषणमा भनेका थिए ‘अलेक्जेन्डरको घोडा (बुकोफालेस) हुँ । म, मलाई तेज दौडाउन सक्ने अलेक्जेन्डरको खोजीमा छु । मैले मेरो राजनीतिक जीवनभरि नै मलाई हाँक्नसक्ने कुनै नेता भेटिनँ र नै बारम्बार राजनीतिक क्याम्पहरू फेरिरहनुपर्यो ।’
उनी २०४६ सालको आन्दोलन सुरु हुँदा मन्त्रीको जिम्मेवारीमा थिए । आन्दोलन चर्कंदै गएपछि मन्त्रीबाट राजीनामा दिएर आन्दोलनमा मिसिए । जनआन्दोलनपछि उनलाई कांग्रेसले झापामा सदस्यता दिएन । सदस्यता नपाएपछि उनी फेरि राप्रपामा लागे । चुनावमा उठ्दा हारे ।
राप्रपाबाट फेरि उनी कांग्रेसमै फर्किए । दोस्रो जनआन्दोलनमा सक्रिय भएर लागेका उनले २०६४ सालको पहिलो संविधान सभा र दोस्रो संविधानसभा निर्वाचन जितेका थिए ।
‘२०२१ सालमा जेल प्रवेशपछि अनायासै राजनीतिमा आइपुगेको मैले आफ्नै मूल्याङ्कन गर्दै चित्त बुझाउनु पर्दा त्यो युगमा जन्मन पाएछु, जुन युगले मेरो देशको इतिहासलाई एउटा निर्णायक बिन्दुमा पुर्यायो, त्यो युग पुर्याउने भूमिकाको एउटा सानो यन्त्र मैले पनि हुन पाएँ, यो देशका जनताले बनाएको संविधानमा मैले पनि हस्ताक्षर गर्न पाएँ । म यो देशको भविष्यको राजनीतिका लागि दुई–दुई चोटि साक्षी बस्न पाएको छु’ उनले लेखेका छन्, ‘आगामी पुस्तालाई देशको राजनीतिक भविष्यको दस्तावेज हस्तान्तरण गर्दै गर्ने हातहरूका बीचमा कहीं मेरा औंलाहरू पनि छन् । हामीले हाम्रो आगामी पुस्तालाई मन्त्री हुने, सांसद हुने वा पार्टीको पदाधिकारी हुने कुरा दिएका हैनौं, हामीले सिङ्गै देशको भविष्यको दस्तावेज हस्तान्तरण गरेका हौं, मन्त्री, सांसद र नेता त कति हुन्छन्–हुन्छन्, मैले त्यस्तो पानामा हस्ताक्षर गरेको छु जो देश र जनताको स्वतन्त्रता र स्थायित्वको प्रतीक हो ।’
                    
                                    
                
                
                
                
                
        
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                            
                                            
                                            
                                            
                                            
                                            
                
                
                
                
                
                
                
                
प्रतिक्रिया 4