
७ फागुन, काठमाडौं । नेपाली कांग्रेसका उपसभापति एवं कानुनमन्त्री धनराज गुरुङले क्रोनी क्यापिटालिजम अर्थात आसेपासे पुँजीवादले सुशासन ल्याउन नसकिएको बताएका छन् ।
पार्टीको महासमिति बैठकमा बोल्ने क्रममा सरकारका मन्त्रीसमेत रहेका गुरुङले क्रोनी क्यापिटालिजमले बाटो पहिल्याउन नसकिरहेका बताए । ‘नेताहरु व्यापारी जस्ता देखिए । व्यापारी कतै नेताहरु जस्ता देखिए,’ गुरुङले भने । क्रोनी क्यापिटालिजम कै कारणले आर्थिक सुशासन कायम गर्न नसकिएको उनले दाबी गरे ।
आर्थिक अवस्थाले विस्तारै लय समातेको दाबी गरेका गुरुङले क्रोनी क्यापिटालिजमविरुद्ध महासमिति बैठक एकवद्ध हुनुपर्ने बताए ।
महासमिति बैठकले भुइँ मानिसका बारेमा सोच्नुपर्ने पनि उनले बताए । फेदमा बसेकालाई टुप्पोमा बसेकासँग दाँजेर पार्टीले नीति लिनुपर्ने गुरुङको सुझाव छ ।
‘फेदमा बसेकाले मलजल गरिरहेका हुन्छन् । टुप्पोमा हुनेहरुले फल खाइरहेका हुन्छन् । त्यसलाई पनि एउटा तादाम्यता मिलाउन पर्छ कि पर्दैन ?’ गुरुङले महासमिति बैठकमा भने ।
फेदमा बसेर मलजल गरिरहने एकाथरि र टुप्पोमा बसेर फल खाइरहने अर्को पक्षका बारेमा यो महासमिति बैठकमा छलफल हुनुपर्ने उनले बताए ।
बैठकमा प्रस्तुत हुने प्रतिवेदनमाथि ३ दिन छलफल गरेर थप परिष्कृत गरिने उनले बताए ।
प्रतिक्रिया 4