+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

कृत्रिम तालमार्फत पर्यटन प्रवर्द्धनको योजना बनाउँदै व्‍यास

रासस रासस
२०८० फागुन १६ गते १६:२२

१६ फागुन, तनहुँ ।  तनहुँको व्यास नगरपालिका-१० दुम्सीचौरमा नारेश्वर ताल निर्माण गरी पर्यटन प्रवर्द्धनका लागि व्यास नगरपालिका जुटेको छ । प्रदेश सरकारसँगको साझेदारीमा कृत्रिम ताल निर्माण गरी पर्यटन प्रवर्द्धन र रोजगारी सृजना गर्ने लक्ष्य राखिएको हो ।

पर्यटन, कृषि र रोजगारीलाई जोड्ने उद्देश्यका साथ नारेश्वर ताल निर्माण गर्न लागिएको नगरप्रमुख बैकुण्ठ न्यौपानेले जानकारी दिए । न्यौपानेका अनुसार ताल निर्माणका लागि बाँध बनाउन सुरु गरिएको छ ।

कृत्रिम ताल सिँचाइ, मस्त्यपालनलगायत पर्यटनमार्फत आयआर्जन गर्ने उद्देश्यका साथ ताल निर्माण थालिएको न्यौपानेको भनाइ छ ।

ताल निर्माणका लागि चालू आर्थिक वर्षमा गण्डकी प्रदेशको ताल संरक्षण प्राधिकरणमार्फत रु १० लाख, व्यास नगरपालिकाबाट रु ५० लाख र गण्डकी प्रदेश सरकारबाट रु एक करोड ५० लाख विनियोजन भएको छ ।

नगरपालिकाले कृत्रिम ताल निर्माणका लागि स्थानीयवासीलाई जग्गाबापतको रु एक करोड ३७ लाख ८६ हजार पाँच सय मुआब्जा वितरण गरिसकेको छ ।

नारेश्वर खोलाको पानी थुनेर कृत्रिम ताल निर्माणका लागि २४ रोपनी ११ आना जग्गाका लागि स्थानीयवासीलाई मुआब्जा वितरण गरिएको नगरपालिकाले जनाएको छ ।

जग्गा अधिग्रहणबापत सिम र अब्बललाई प्रतिरोपनी रु पाँच लाख ५० हजारका दरले र दोयमलाई प्रति रोपनी रु पाँच लाख ७५ हजारका दरले मुआब्जा वितरण गरिएको छ । २८ रोपनी क्षेत्रफलमा बाँध बाँधेर कृत्रिम ताल बनाउने नगरपालिकाको योजना छ । ताल निर्माणका लागि करिब रु चार करोड बजेट लाग्ने अनुमान छ ।

ताल निर्माणका लागि रु एक करोड ८४ लाखको लागतमा ठेक्का सम्झौता गरिएको छ । ताल निर्माणको ठेक्का जिएस निर्माण सेवाले पाएको छ ।

विसं २०७५ पुस २० गते गण्डकी प्रदेशका तत्कालीन उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्सालले ताल निर्माणको सुरुवात गरेका थिए । तर काम अगाडि बढ्न सकेको थिएन ।

तीन सय मिटर लम्बाइ रहने तालको चौडाइ २८ देखि ६८ मिटरको रहने वडाध्यक्ष खेमराज पोख्रेलले जानकारी दिनुभयो । तालको औसत गहिराइ दुई दशमलव पाँचदेखि तीन मिटरको रहनेछभने कङ्क्रिट ग्राभिटी ड्यामको संरचनामा ताल निर्माण हुनेछ ।

आठ मिटर बाँधको उचाइ रहने तालमा बाँधको चौडाइ छ दशमलव पचासी (जगमा) देखि एक दशमलव ५० मिटर (टुप्पोमा) रहनेछ । तालको क्षमता २५ हजार देखि ३० हजार घनमिटरको रहनेछ ।

उक्त क्षेत्रलाई पर्यटकीय गन्तव्यका रुपमा विकास गर्ने लक्ष्य राखिएको छ । ‘ताल निर्माण भएसँगै यहाँका स्थानीयवासीले रोजगारी समेत पाउनेछन्,’ उनले भने, ‘तालसँगै अन्य संरचना पनि निर्माण भएपछि पर्यटक आकर्षित गर्न सकिनेछ ।’

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?