+

९ महिनामै क्रिकेट खेल्न तयार एक्स्ट्राटेक ओभल

२०८० चैत  १ गते १६:५८ २०८० चैत १ गते १६:५८
९ महिनामै क्रिकेट खेल्न तयार एक्स्ट्राटेक ओभल

१ चैत, तिलोत्तमा । नौ महिनाअघि गुल्मीका विनोद कुँवर र सुदीक्षा गौतम दम्पतीले रुपन्देहीको तिलोत्तमा नगरपालिका–१७ मा ४० करोड रुपैयाँ लागतको क्रिकेट मैदान बनाउने घोषणा गर्दा धेरैले आशंका गरेका थिए ।

कलाकार धुर्मुस सुन्तलीले चितवनमा गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण सुरु गरेर बीचैमा छाडेका बेला रुपन्देहीमा अर्को क्रिकेट मैदान निर्माणको घोषणा गरिएको थियो ।

सरकारी लगानीमै निर्माण भएका काठमाडौंको तल्लो मूलपानी क्रिकेट रंगशाला पनि निर्माण सुरु भएको दुई दशक हुँदा पनि पूरा नभएका कारण पनि नेपालमा क्रिकेट मैदान बनाउनु सजिलो काम होइन भन्ने देखाएको थियो ।

तर रुपन्देहीको तिलोत्तमा एक्स्ट्राटेक ओभल मैदान भने नौ महिनामै क्रिकेट खेल्नयोग्य भएको छ । हालसम्म करिब साढे ६ करोड रुपैयाँ खर्च भएको र क्रिकेट खेलाउन सक्ने अवस्था बनेको विनोदले बताए ।

सोमबार मैदान उद्घाटनका क्रममा नेपालबाट पहिलो पटक अन्तर्राष्ट्रिय क्रिकेट खेलेका सन् १९९६ को ब्याचका खेलाडीदेखि सन् २०१४ मा टी–२० विश्वकप खेल्दाका पारस खड्कासम्मकाले खेले ।

फराकिलो मैदान र हरियो दुबो एक्स्ट्राटेक ओभलका विशेषता हुन् । नेपालका दुई प्रमुख क्रिकेट मैदान कीर्तिपुर र मूलपानीको बाउन्ड्री बाहिर थोरैमात्र खाली ठाउँ छ । तर एक्स्ट्राटेक ओभलमा बाउन्ड्री बाहिर पनि फराकिलो ठाउँ छ ।

‘मैले विदेशमा एक रातमा पनि धेरै गर्न सकिन्छ भन्ने देखेको थिएँ । म पनि त्यसरी नै काम गर्छु, त्यसैको प्रतिफल यति छिटो काम भएको छ’, विनोदले अनलाइनखबरसँग भने ।

विदेशमा सिकेको समयको महत्व र आफूले गरेको प्रतिवद्धता पूरा गर्नुपर्छ भन्ने सोचाइका कारण क्रिकेट मैदान छिटै तयार भएको उनले बताए ।

नौ महिनाअघि व्यक्तिगत ४० करोड रुपैयाँमा रंगशाला निर्माण घोषणा गर्दा आफूलाई धेरैले खिसी गर्ने विनोदले पनि अनुमान गरेका थिए ।

‘धुर्मुस सुन्तलीसँग तुलना हुन्छ । सबैले मलाई उडाउँछन् । पागल नै हो भन्छन् भन्ने कुरामा म मानसिक रुपमा तयार थिएँ । किनकी एक्कासी आएको मान्छेले यो कसरी गर्दैछ भन्ने आशंका पनि थियो’, उनले भने ।

खेलपछि नेपाल क्रिकेट संघका सचिव तथा राष्ट्रिय टिमका पूर्वकप्तान पारस खड्काले मैदानको तारिफ गरे । ‘पिचमा धेरै मिहिनेत गर्नुभएको रहेछ । ग्राउन्ड एकदमै राम्रो साइजको छ । साइड स्क्रिनदेखि सबै कुरामा नयाँ प्रयास गर्नुभएको छ’, पारसले भने ।

व्यक्तिगत प्रयासमा क्रिकेट रंगशाला बन्दा सरकारलाई चुनौती थपिएको उनले बताए । ‘सबैभन्दा महत्वपूर्ण कुरा एउटा मैदान थपिएको छ । सरकारको पनि जिम्मेवारी बढेको छ’, उनले भने ।

पारसले यो मैदानमा जिल्ला र प्रदेशस्तरका साथै राष्ट्रिय प्रतियोगिता पनि सञ्चालन गर्ने योजना सुनाए ।

पूर्वकप्तान तथा क्यानका म्यानेजर विनोद दासले मैदान यति छिटै तयार हुनु प्रशंसायोग्य भएको बताए । ‘युद्धस्तरमा काम नगरेको भए यो सम्भव थिएन । श्रेय उहाँहरुलाई दिनुपर्ने हुन्छ । आशा गरौं अर्को ६ महिनामा यो मैदान पूर्णरुपमा क्रिकेट खेल्न लायकको आउटफिल्ड पनि भइसक्छ’ उनले भने ।

यो मैदानमा दुई हजार दर्शक अटाउने प्याराफिटको काम अघि बढिसकेको छ । त्यस्तै भीआईपी, भीभीआईपी प्याराफिट, प्लेयर चेन्जिङ रुम र क्यान्टिन निर्माणको काम आगामी नौ महिनामा सक्ने योजना छ । त्यसपछि फ्लड लाइट र प्याराफिटहरु थप्दै जाने विनोदले योजना सुनाए ।

रुपन्देहीमा सरकारको लगानीमा सिद्धार्थ क्रिकेट मैदान पनि बनेको छ । सिद्धार्थमा यस पटक प्रधानमन्त्री कप एकदिवसीय पुरुष प्रतियोगिताका केही खेलहरु खेलाइए ।

क्रिकेटको उर्बर भूमि मानिने रुपन्देहीका कुशल भुर्तेल, कुशल मल्ल र देव खनाल हाल राष्ट्रिय टोलीबाट राम्रो प्रदर्शन गरिरहेका छन् ।

स्तरीय दुईवटा खेलमैदान भएमा रुपन्देहीमा क्रिकेट गतिविधि बढ्ने यहाँका क्रिकेटप्रेमीहरु छन् । रुपन्देहीकै भैरहवामा गौतमवुद्ध अन्तर्राष्ट्रिय विमानस्थल छ र यस वरपर सुविधा सम्पन्न होटल पनि छन् ।

तर मुख्य सडकबाट एक्स्ट्राटेक ओभल मैदानसम्म जाने झण्डै ७ किलोमिटर लामो सडक भने साँघुरो छ ।

एक्स्ट्राटेक ओभल क्रिकेट
लेखक
भुपेन्द्र जि.सी.
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय