९ चैत, काठमाडौं । प्रदिप खड्का र अभिलाषा विष्टले १२औं सहवीर स्मृति खुल्ला लन टेनिस प्रतियोगिता २०८० को उपाधि जितेका छन् ।
नेपाल एपीएफ क्लवको आयोजनामा भएको प्रतियोगितामा प्रदिप पुरुष एकलमा तथा अभिलाषा महिला एकलमा च्याम्पियन बनेका हुन् ।
सशस्त्र प्रहरी बलको प्रधान कार्यालय हल्चोकमा शुक्रबार भएको पुरुष एकलको फाइनलमा प्रदिपले रितिक रानालाई ६–४, ३–६, ६–० ले हराउँदै उपाधि जिते । यस्तै अभिलाषाले महिला एकलमा माहिका राणालाई ६–२, ६–४ ले पराजित गरी उपाधि जित्न सफल भए ।

अभिलाषाले मिक्स डबल्समा पनि उपाधि जिते । अभिलाषा र रितिक रानाको जोडीले प्रदिप खड्का र माहिका राणाको जोडिलाई ६–४, २–६ र १०–६ ले पराजित गरी उपाधी जिते ।
यसैगरी ३५ वर्षमाथि भेन्ट्रान्स एकलतर्फ अनिल शाहीले भिष्मजंग गुरुङलाई ६–३, ६–० ले र ३५ वर्षमाथि भेन्ट्रान्स डबलतर्फ ईलुम दिक्षित र जितेन्द्र परियारको जोडीले कमल भण्डारी र यज्ञबहादुर भण्डारीको जोडिलाई ४–६, ६–३, १०–८ ले पराजित गरी उपाधि जिते ।
४५ वर्ष भेन्ट्रान्स एकलतर्फ रोहित सुनुवारले महेश श्रेष्ठलाई ६–२, ६–४ ले र ४५ वर्षमाथि भेन्ट्रान्स डबल्समा कमल बहादुर भण्डारी र उत्तम शेर्पाको जोडीले देगेन्द्र श्रेष्ठ र महेश श्रेष्ठको जोडिलाई ६–३, ७–५ ले पराजित गरी उपाधि जितेका छन् ।
यसैगरी ५५ वर्षमाथि भेन्ट्रान्स एकलमा विमल वाईबाले राजु श्रेष्ठलाई २–६, ६–१, १०–४ ले र ५५ वर्षमाथि भेन्ट्रान्स डबल्समा बिमल वाईबा र हिमाल शाहको जोडीले कमल थापा र छम्बा ढुण्डुपको जोडीलाई ६–३, ६–४ ले पराजित गरी उपाधि जितेका छन् ।
६५ वर्षमाथि भेन्ट्रान्स एकलमा कमल थापाले मनोज राणालाई ४–१, ४–२ ले र इन्टर गभरमेन्ट डबलतर्फ उत्तम बोगटी र अमित गुरुङको जोडीले बिक्रम गुरुङ र चन्द्र बहादुर थापाको जोडीलाई ६–२, २–६, १०–७ ले पराजित गरी उपाधि जितेका छन् ।
विजयी खेलाडीलाई सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले शिल्ड, प्रमाण–पत्र तथा नगद पुरस्कार प्रदान गरे ।
महानिरीक्षक अर्यालले प्रतियोगिता संचालनमा सहयोग पुर्याउने विभिन्न संघ संस्था, रेफ्री तथा अफिसियलहरुलाई समेत प्रशंसा पत्र तथा मायाको चिनो प्रदान गरे ।
महानिरीक्षक अर्यालले संगठनले आफ्नो स्थापना कालदेखि नै महत्वपूर्ण जिम्मेवारीका साथै विभिन्न खेलकुद गतिविधिहरु निरन्तर रुपमा संचालन गर्दै आईरहेको बताउँदै प्रतियोगिता सफल रुपमा सम्पन्न गर्न सहयोग पुर्याउने विभिन्न खेलकुद संघ संस्था, प्रशिक्षक, अफिसियल तथा महानुभावहरुप्रति आभार प्रकट गरे ।
उनले खेलकुदले संगठन र राज्यलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा परिचित गराउन महत्वपूर्ण भूमिका निर्वाह गर्दै आईरहेको बताउँदै प्रतियोगितामा सहभागी सम्पूर्ण खेलाडीहरुले उच्चस्तरको अनुशासनसहित उत्कृष्ट खेल कला प्रदर्शन गर्दै आफ्नो प्रतिभामा निखारपन ल्याउन यस्ता प्रतियोगिता फलदायी रहने विश्वास व्यक्त गरे ।
प्रतियोगितामा ११ वटा इभेन्ट्समा कुल १ सय ६२ खेलाडी सहभागी रहेको थिए । प्रतियोगिताका खेलहरु नेपाल एपीएफ क्लबको लन टेनिस कोर्ट हल्चोक र दशरथ रंगशालास्थित लनटेनिस कोर्टमा संचालन भएका थिए ।
कार्यक्रममा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकद्वय चन्द्रप्रकाश गौतम र बंशीराज दाहाल, नेपाल टेनिस संघकी अध्यक्ष ज्योती राणा लगायत बहालवाला तथा अवकाश प्राप्त सशस्त्र प्रहरी अधिकृतहरुको समेत उपस्थिति रहेको थियो ।
                    
                                                                                                    
                                                                                                    
                                                                                                    
                                                                                                    
                                                                                                    
                                                                                                    
                    
                    
                    
                    
                
                
                
                
                
        
                            
                            
                            
                            
                            
                            
                            
                            
                            
                            
                            
                            
                            
                            
                            
                            
                            
                            
प्रतिक्रिया 4