
काठमाडौं । बलिउड अभिनेता सलमान खानले ईदको अवसरमा नयाँ फिल्म ‘सिकन्दर’को घोषणा गरेका छन् । यो फिल्मलाई दक्षिणीय भारतीय चर्चित निर्देशक एआर मुरुगादासले निर्देशन गर्नेछन् ।
निर्देशक मुरुगादासले यसअघि ‘गजनी’, ‘होलिडे’ र ‘अकिरा’जस्ता हिन्दी फिल्म निर्देशन गरिसकेका छन् । साजिद नाडियाडवाला यसको निर्माता हुनेछन् ।
बिहीबार ईदको अवसरमा सलमानले सामाजिक सञ्जालमार्फत यो फिल्मको घोषणा गरेका हुन् । पोस्ट सेयर गर्दै उनले लेखेका छन्, ‘यो ईदमा बडे मियाँ छोटे मियाँ र मैदान हेर्नुहोस् । अर्को ईदमा सिकन्दरलाई भेट्नुहोस् । सबैलाई ईदको शुभकामना ।’
निर्माता नाडियाडवालासँग मिलेर सलमानले ‘जुडवा’, ‘मुझसे शादी करोगी’ र ‘किक’ जस्ता धेरै हिट फिल्म दिएका छन् । ‘सिकन्दर’भन्दा पहिले मुरुगादास र सलमानले सन् २०१४ मा रिलिज भएको फिल्म ‘जय हो’ मा पनि सँगै काम गरेका थिए । त्यो फिल्मका लेखक मुरुगादास थिए ।
सलमानको ईद कनेक्सनको कुरा गर्ने हो भने पछिल्लो १० वर्षमा २०२० र २०२२ को ईदमा मात्रै सलमानको कुनै पनि फिल्म रिलिज भएको छैन । सन् २०१५ देखि २०२४ सम्म सलमान खानका ७ फिल्म इदको अवसरमा रिलिज भए ।
जसमध्ये सन् २०२१ मा रिलिज भएको ‘राधे’ मात्र फ्लप भयो । बाँकी दुई फिल्म हिट भए भने अन्य दुई फिल्मले औसत कमाइ गरे । यसबाहेक सलमानको ‘सुल्तान’ र ‘बजरंगी भाइजान’ले बक्स अफिसमा इतिहास रचे । ९० करोडमा बनेको फिल्म ‘बजरंगी भाइजान’ले विश्वभर ९२२.१७ करोड कलेक्सन गरेको थियो ।
प्रतिक्रिया 4