News Summary
Generated by OK AI. Editorially reviewed.- सलमान खान अभिनित फिल्म 'ब्याटल अफ गलवान' को नाम परिवर्तन गरी 'मातृभूमि' राखिएको छ।
- फिल्मले सन् २०२० को गलवान झडपमा भारतीय सेनाको साहस र बलिदान देखाउने उद्देश्य राखेको छ।
- चीनको ग्लोबल टाइम्सले फिल्मलाई तथ्य विकृत गर्ने र नकारात्मक भावना भड्काउने आरोप लगाएको छ।
मुम्बई । सलमान खान अभिनित आगामी युद्धप्रधान फिल्म ‘ब्याटल अफ गलवान’ को नाम परिवर्तन भएको छ । सलमानले सोमबार नयाँ पोस्टर सार्वजनिक गर्दै यसको शीर्षक ‘मातृभूमि’ राखिएको जनाएका छन् ।
पोस्टसँगै उनले क्याप्सनमा ‘युद्धले शान्ति पाओस्’ भन्ने सन्देश लेख्दै ‘मातृभूमि’ ह्यासट्याग प्रयोग गरेका छन् । पोस्टमा सलमानले निर्देशक अपूर्व लाखिया, अभिनेत्री चित्रांगदा सिंह तथा यो फिल्म निर्माणमा संलग्न आफ्नो निर्माण कम्पनीलाई पनि ट्याग गरेका छन् ।
पोस्टरमा सलमान घाइते र रगताम्य अवस्थामा देखिएका छन् । काँडेतार बेरिएको एउटा लठ्ठीले आफूलाई प्रहार गर्न लाग्दा उनी त्यसलाई रोकेको दृश्य पोस्टरमा देखिन्छ । पोस्टरमा फिल्मको नयाँ शीर्षक पनि प्रमुख रूपमा राखिएको छ ।
धेरैले पोस्टरमा फिल्मको प्रदर्शन मिति उल्लेख नभएको पनि औंल्याएका छन् । यसअघि सार्वजनिक गरिएको प्रचार सामग्रीमा भने फिल्मलाई अप्रिल १० मा प्रदर्शन गर्ने घोषणा गरिएको थियो ।
डिसेम्बरमा सार्वजनिक भएको फिल्मको टिजरमा सलमानले पूर्वी लद्दाखमा चिनियाँ सेनाविरुद्धको भिडन्तमा आफ्ना सैनिकको नेतृत्व गरिरहेको देखिन्छ । तर टिजर सार्वजनिक भएपछि भारतमा केही आलोचना पनि भएको थियो ।
धेरै दर्शकले काँडेतार बेरिएको लठ्ठी हातमा लिएर चिनियाँ सेनासामु उभिएको सलमानको दृश्य ‘गेम अफ थ्रोन्स’ को चर्चित एपिसोड ब्याटल अफ द बास्टड्र्स मा जोन स्नो उभिएको दृश्यसँग निकै मिल्दोजुल्दो रहेको टिप्पणी गरेका थिए ।
सामनासामु उभिँदा सलमानको भावभंगिमा अत्यन्त स्थिर देखिएको भन्दै केहीले आलोचना पनि गरेका थिए । पछि सलमानले यसबारे प्रतिक्रिया दिँदै आफ्नो पात्र कर्नेल भएको र त्यस्तो अवस्थामा अत्यधिक चिच्याउने अभिनय उसको पद र व्यक्तित्वसँग मेल नखाने बताएका थिए ।
चिनियाँ मिडियाको विरोध
सन् २०२० मा भारतीय र चिनियाँ सेनाबीच भएको गलवान संघर्षमा आधारित यो फिल्मलाई लिएर यसै महिनाको सुरुआतमा विवाद पनि उत्पन्न भएको थियो ।
चीनको सरकार समर्थित सञ्चारमाध्यम ग्लोबल टाइम्सले यो फिल्मले तथ्यलाई विकृत गरेको र चीनविरुद्ध नकारात्मक भावना भड्काउने प्रयास गरेको आरोप लगाएको थियो ।
चिनियाँ पक्षको चिन्ता के छ भने, गलवान घटनाजस्तो संवेदनशील सैन्य विषयलाई फिल्ममार्फत प्रस्तुत गर्दा दर्शकमा राष्ट्रवादी भावनालाई उकास्ने र चीनलाई नकारात्मक रूपमा चित्रित गर्ने सम्भावना हुन्छ । त्यसैले उनीहरूले यसलाई राजनीतिक सन्देश बोकेको फिल्मका रूपमा समेत हेरेका छन् ।
सलमान खान फिल्म्सको ब्यानरमा सलमा खानले निर्माण गरेको र अपूर्व लाखियाले निर्देशन गरेको ‘मातृभूमि’ फिल्ममा सलमानले भारतीय सेनाका कर्नेलको भूमिका निर्वाह गरेका छन् ।
निर्माताका अनुसार यो फिल्मले साहस, त्याग र दृढताको कथा निडरतापूर्वक प्रस्तुत गर्ने प्रयास गरेको छ । साथै युद्धको तीव्रतासँगै प्रेम र परिवारका भावनात्मक पक्षलाई पनि सन्तुलित रूपमा देखाउने उद्देश्य राखिएको बताइएको छ ।
पछिल्लो समय चीन र भारतबीचको द्धिपक्षीय सम्बन्धमा सुधार आएको देखिएको छ ।
यो फिल्मको कथावस्तु सन् २०२० मा भारत र चीनबीच पूर्वी लद्दाखको गलवान उपत्यकामा भएको सैन्य झडप वरिपरि आधारित छ ।
त्यस समयमा दुवै देशका सैनिकबीच भएको भिडन्त निकै चर्चित बनेको थियो । उक्त घटनामा दुवै पक्षका सैनिक घाइते भएका थिए र भारतका २० सैनिकको मृत्यु भएको पुष्टि गरिएको थियो । यही घटनालाई आधार बनाएर फिल्ममा भारतीय सेनाको प्रतिरोध, साहस र बलिदानको कथा प्रस्तुत गरिएको बताइएको छ ।
प्रतिक्रिया 4