२ चैत, काठमाडौं । इरानबाट प्रहार गरिएका मिसाइल र ड्रोन आक्रमणका कारण फेब्रुअरी २८ यता युएईमा कम्तीमा ७ जनाको मृत्यु भएको छ । युएई रक्षा मन्त्रालयले सोमबार दिएको जानकारीअनुसार २ जना सैनिक र ५ जना सर्वसाधारण मारिएका छन् ।
युएईमा रहेका विभिन्न देशका १४५ जना घाइते भएका छन् । मन्त्रालयका अनुसार सो अवधिमा युएई सुरक्षा बलले इरानबाट प्रक्षेपण गरिएका ३०४ वटा ब्यालिस्टिक मिसाइल, १५ वटा क्रुज मिसाइल र एक हजार ६२७ वटा ड्रोन ‘इन्टरसेप्ट’ गरेर नष्ट गरिएका छन् ।
सोमबार मात्रै पनि ६ वटा ब्यालिस्टिक मिसाइल र २१ वटा ड्रोन आक्रमण भएको थियो । जसले अबुधाबी, दुबई, फुजैराह र उम्म अल क्वैन क्षेत्रमा क्षति पुर्याएको बताइएको छ । अबुधाबीको अल बह्याह क्षेत्रमा मिसाइल लागेर एक नागरिक सवारी साधन नष्ट हुँदा एक प्यालेस्टिनी नागरिकको मृत्यु भएको छ ।
दुबई अन्तर्राष्ट्रिय विमानस्थल नजिकै ड्रोन आक्रमण हुँदा इन्धन ट्याङ्कमा आगलागी भएको र केही समय उडान सेवा रोकिएको थियो । फुजैराह तेल उद्योग क्षेत्रमा पनि आगलागी भएको भए पनि त्यहाँ कुनै मानवीय क्षति भएको छैन । युएई रक्षा मन्त्रालयले सम्भावित थप आक्रमणलाई ध्यानमा राख्दै उच्च सतर्कता अपनाइएको जनाएको छ । –रासस
प्रतिक्रिया 4