+
+

भिमादका किसानले सुन्तला बेचेरै कमाए ३ करोड

रासस रासस
२०८१ वैशाख ७ गते १५:०६

७ वैशाख, दमौली (तनहुँ) । तनहुँको भिमाद नगरपालिकाका कृषकले यस वर्ष सुन्तला बिक्री गरेर करिब ३ करोड आम्दानी गरेका छन् । नगरपालिकाका ४ वडाका किसानले यस वर्ष सुन्तला बिक्री गरी २ करोड ९० लाख रुपैयाँ आम्दानी गरेका हुन् ।

भिमाद–१, ५, ८ र ९ का किसानले २ सय २२ टन सुन्तला बिक्री गरेका नगरपालिकाका कृषि सेवा शाखा प्रमुख कृष्ता महतोले जानकारी दिए । त्यसमध्ये वडा नं ८ अस्पादीबाट मात्रै एक करोड ५० लाख रुपैयाँको सुन्तला बिक्री भएको उनले बताए । ‘अस्पादीका कृषकले एक सय ६६ टन सुन्तला बिक्री गर्नुभएको तथ्यांक छ । अन्य वडाको तुलनामा यो वडामा बढी सुन्तला उत्पादन हुने गर्दछ’, उनले भने ।

कृषि सेवा शाखा प्रमुख महतोका अनुसार ४ वडालाई नगरपालिकाले पकेट क्षेत्रको रुपमा घोषणा गरेको छ । पकेट क्षेत्रका सुन्तला कृषकलाई नगरपालिकाले विभिन्न सामग्री सहयोग गर्दै आएको उनको भनाइ छ । पकेट क्षेत्रका वडाहरुमा एक सय ५० रोपनी क्षेत्रफलमा सुन्तला खेती गरिएको छ ।

नगरपालिकाले चालु आर्थिक वर्षमा २०८०/८१ मा वडा नं ५ लाई पनि सुन्तला पकेट क्षेत्रको रुपमा विकास गरेको छ । यो वडाको मिछुर्लुङ क्षेत्र सुन्तला पकेट कार्यक्रममा ३३ जना कृषक आवद्ध छन् ।

उक्त समूहलाई यसै वर्ष सुन्तला खेती प्रवर्द्धनका लागि रु छ लाख सहयोग गरिएको कृषि अधिकृत हरिप्रसाद गैह्रेले जानकारी दिए ।

तनहुँमा यो वर्ष रु ३० करोड बराबरको सुन्तला बिक्री भएको कृषि ज्ञान केन्द्रले जनाएको छ । कार्यालयका अनुसार गत वर्ष रु २९ करोड बराबरको सुन्तला उत्पादन भएको थियो । प्रत्येक वर्ष जिल्लामा सुन्तला उत्पादन बढेको छ । सुन्तला खेतीबाट मनग्य आम्दानी हुन थालेपछि कृषक यसतर्फ आकर्षित हुँदै गएका छन् ।

जिल्लाका ८ हजार ५ सय ७० हेक्टर क्षेत्रफलमा सुन्तला खेती विस्तारको सम्भावना रहेको छ । कार्यालयले सुन्तला खेती कृषकलाई बगैँचा व्यवस्थापनमा सहयोग गर्दै आएको छ ।

कार्यालयका सूचना अधिकारी किरण परियारका अनुसार देवघाट–२ र ३, आँबुखैरेनी–५, म्याग्दे ४, व्यास–७, १३ र १४, भिमाद– ८ र ९, बन्दीपुर–३, ऋषिङ–३ र घिरिङमा सुन्तला खेती विस्तारको सम्भावना छ । तनहुँमा उत्पादित अधिकांश सुन्तला काठमाडौँका व्यापारीले लैजाने गरेका उनले बताए ।

सुन्तला खरिदका लागि व्यापारी बगैँचासम्म पुग्ने गरेका छन् । काठमाडौँका साथै पोखरा, नारायणगढ लगायतका ठाउँमा यहाँको सुन्तला बिक्री हुने गरेको छ । यसका साथै जिल्लाकै दमौली, दुलेगौडा, खैरेनीटार, भिमाद लगायतका ठाउँमा यहाँको सुन्तला बिक्री हुने गरेको किसान बताउँछन् ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?