१५ वैशाख, काठमाडौं । साविक उपविजेता नेपाल एपीएफ क्लबले सातौं शेरबहादुर खड्का स्मृति राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि जितेको छ ।
शनिबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको फाइनलमा एपीएफले अर्को विभागीय टोली नेपाल प्रहरीलाई २५–२२, २६–२४ र २५–१९ को सोझो सेटमा पराजित गर्यो ।
विजेता एपीएफले चार लाख ९९ हजार तथा उपविजेता प्रहरीले दुई लाख ५० हजार नगद पुरस्कार पाए । एपीएफकी पूजा थारु फाइनलको ‘प्लेयर अफ दि म्याच’ घोषित भइन् ।
हालसम्म भएको शेरबहादुर खड्का स्मृति भलिबलको सातौं संस्करणमध्ये एपीएफ छैटौंपटक च्याम्पियन बन्यो । छैटौं संस्करणमा मात्र एपीएफ उपविजेता बनेको थियो । त्यतिबेला एपीएफ न्यू डायमण्डसँग पराजित भएको थियो ।
शेरबहादुर खड्का स्मृति प्रतिष्ठानद्वारा आयोजित प्रतियोगितामा यसवर्ष भने डिफेन्डिङ च्याम्पियन न्यू डायमण्ड तेस्रो स्थानमा रह्यो । नेपाल आर्मीलाई २४–२६, २५–२०, २५–१५ र २५–२० ले पाखा लगाएर उसले तेस्रो स्थान सुरक्षित गरेको थियो । न्यू डायमण्डले १ लाख २५ हजार र आर्मीले ६२ हजार ५०० रुपैयाँ नगद पुरस्कार प्राप्त गरे ।
एपीएफकी निरुता ठगुन्ना सर्वोत्कृष्ट खेलाडी घोषित हुँदै ५० हजार नगदबाट पुरस्कृत भइन् । प्रहरीकी लक्ष्मी चन्द उत्कृष्ट स्पाइकर, एपीएफकी कविता भट्ट उत्कृष्ट सर्भर, न्यु डायमन्डकी सुमित्रा रेग्मी उत्कृष्ट ब्लकर, एपीएफकी जसना महतो उत्कृष्ट सेटर, प्रहरीकी शान्तिकला तामाङ उत्कृष्ट लिबेरो तथा एपीएफका महेश चौधरी उत्कृष्ट प्रशिक्षक चुनिए । आ–आफ्नो विधामा उत्कृष्ट हुनेले जनही २५ हजार नगद पुरस्कार जिते ।
हरेक खेलको ‘प्लेयर अफ दि म्याच’ लाई १५ हजारका दरले नगद पुरस्कार प्रदान गरिएको थियो ।
 
                    










 २०८१ वैशाख  १५ गते १९:३४
                        २०८१ वैशाख  १५ गते १९:३४                     
                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                     
                     
                     
                     
                 
                 
                 
                 
                 
         
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                            
प्रतिक्रिया 4