+

नेकोसले क्यान अध्यक्षको राजीनामा माग्दै खेलकुद मन्त्रीलाई बुझायो ज्ञापन पत्र

२०८१ जेठ  २७ गते २०:११ २०८१ जेठ २७ गते २०:११
नेकोसले क्यान अध्यक्षको राजीनामा माग्दै खेलकुद मन्त्रीलाई बुझायो ज्ञापन पत्र

२७ जेठ, काठमाडौं । नेपाल खेलकुद महासंघ (नेकोस)ले नेपाल क्रिकेट संघ (क्यान) मा बेथिति भइरहेको भन्दै क्यान अध्यक्ष चतुरबहादुर चन्दको राजीनामा माग गरेको छ ।

नेपाली क्रिकेटमा भइरहेको पछिल्लो घटनाक्रमको विषयमा नेकोसले आइतबार युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठलाई ज्ञापन पत्र बुझाएको हो ।

आइतबारै पत्रकार सम्मेलन पनि गर्दै नेकोसले क्यान अध्यक्ष चन्दको राजीनामा माग गरेको छ ।

नेकोसका महासचिव विप्लव घोषले क्यान अध्यक्ष चन्द नेपाली टिमको कोटामै अमेरिका गएको भन्दै उनी तत्काल स्वदेश फर्केर छानबिनमा सहयोग गर्नुपर्ने बताए ।

‘क्यान अध्यक्ष चन्दलाई तुरुन्त पदबाट हटाउनुपर्छ । छानबिन गर्नुपर्छ । नैतिकताका आधारमा राजीनामा दिनुपर्छ भन्ने हाम्रो बटमलाइन हो,’ घोषले पत्रकार सम्मेलनमा भने ।

चन्दले राजीनामा नदिए तत्काल नेपाल फर्काएर कारबाही अगाडि बढाउन युवा तथा खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद् (राखेप)मार्फत मागसमेत गरेको छ ।

नेकोसले क्यानका पदाधिकारीका कारण नेपाली क्रिकेट फेरि निलम्बनतर्फ अग्रसर भइरहेको दाबी गर्दै उच्चस्तरीय छानबिन समिति गठन गर्न र दोषीमाथि कारबाही गर्नसमेत माग गरेको छ ।

यस्तै क्यान अध्यक्ष नै विश्वकप खेल्ने २५ जनाको टोलीमा १५ खेलाडीबाहेक १० सपोर्टिङ स्टाफभित्र रहेर जानुले अन्तर्राष्ट्रियस्तरमै नकारात्मक सन्देश गएको नेकोस महासचिव घोषले बताए ।

घोषले अहिले क्रिकेटमा भइरहेको अनियमितता लगायत १० बुँदे ज्ञापन पत्र युवा तथा खेलकुद मन्त्री श्रेष्ठलाई बुझाएको जानकारी दिए । ‘विभिन्न अनियमितता कुरा उठाएर खेलकुदमन्त्री विराजभक्त श्रेष्ठलाई ज्ञापन पत्र बुझाएका छौँ,’ घोषले भने, ‘मन्त्रीज्यू सकारात्मक हुनुहुन्छ ।’

क्यान नेकोस

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय