 
																			३२ जेठ, बुटवल । निजी तथा सरकारी विद्यालय र कलेजहरुले विद्यार्थीको पोशाकमा टेण्डरको नाममा ‘सेटिङ’ गरेर ठूला व्यापारीलाई काम दिंदा साना सिलाइ व्यसायीको पेशा संकटमा परेको गुनासो गरेका छन् ।
स्कुल कलेजले शिक्षा ऐन विपरीत कपडा र पोशाकको व्यापार गर्दा वर्षौंदेखि सिलाइ व्यवसाय गर्दै आएका रुपन्देहीका ५ हजार व्यवसायी र १५ हजार बढी सिलाइ श्रमिकको रोजगारी संकटमा परेको बताएका छन् ।
रुपन्देहीमा क्रियाशील सिलाइ व्यवसायीका ७ वटा संस्थाले शुक्रबार संयुक्त पत्रकार सम्मेलन गरी नाम चलेका ठूला निजी र सरकारी स्कुलका समेत सञ्चालक, प्रिन्सिपलहरूले निजी कम्पनी खोलेर कपडा, सिलाइ र स्टेशनरी समेतको व्यापार गरेकाले मौलिक रुपमा वर्षौंदेखि सिलाइ व्यवसाय मात्रै गर्दै आएका साना व्यवसायीहरु पलायन हुनुपर्ने अवस्था आएको गुनासो गरेका हुन् ।
सिलाइ व्यवसायी सरोज गौतमले विद्यालय–कलेजहरुले सबै व्यवसायीले जानकारी पाउने गरी खुल्ला टेण्डर वा कोटेसन माग नगरी मिलेमतोमा स्कुलका सञ्चालक र प्रिन्सिपलहरुको लगानी रहेका कम्पनीलाई मात्र काम दिँदा हजारौं व्यवसायी पलायन हुनुपर्ने अवस्थामा पुगेको बताए ।
उनले भने, ‘धेरै विद्यार्थी भएका ठूला स्कूलका सञ्चालक र प्रिन्सिपल मिलेर शिक्षा ऐनको मर्म विपरीत निजी कम्पनीबाट विद्यार्थीको पोशाकदेखि सबै सामान बेच्न टेण्डरको नाममा सेटिङ मिलाएर आफ्नै कम्पनीबाट व्यापार गर्ने गरिएको छ,प्रिन्सिपलहरुको काम विद्यार्थीलाई राम्रो पढाउने हो कि व्यापार गरेर वर्षौंदेखि मौलिक पेशा अङ्गालेका साना व्यवसायी र मजदुरको रोजीरोटी खोस्ने हो ?’
गौतमका अनुसार बुटवल क्षेत्रका ३० हजार बढी विद्यार्थी पढ्ने ठूला सरकारी र निजी विद्यालयका सञ्चालक र प्रिन्सिपलहरु मिलेर करोडौं लगानीमा खोलिएको डेल्टा मार्टका कारण साना ब्यवासायीको काम खोसिएको छ ।
सिलाइ व्यवसायी संघ रुपन्देहीका अध्यक्ष धनबहादुर परियारले स्कुल कलेजले विद्यार्थीको पोशाक सिलाउन टेण्डर गर्नु शिक्षा ऐन विपरीतको गैरकानुनी काम भएकाले सम्बन्धित सरकारी निकायले अनुगमन र अनुसन्धान गरी कारवाहीको दायरामा ल्याउनुपर्ने बताए ।
‘शिक्षा ऐनले विद्यालयले व्यापार गर्न पाउने कतै उल्लेख गरेको छैन,आफ्नो पुर्वाधार वा सम्पत्ति खरिदका लागि मात्रै टेण्डर गर्न पाइन्छ तर विद्यार्थीले लगाउने पोशाकमा टेण्डर गर्न पाइदैन’ उनले भने–‘गुरूहरुले पढाउनभन्दा व्यापारमका जोड दिएर साना व्यवसायीलाई विस्थापित गराउन खोज्नुभएको छ, यो गम्भीर कुरा हो, सरकारको ध्यान जानुपर्छ ।’
अर्का व्यवसायी प्रताप परियारले स्कुल कलेजको सिण्डिकेटका कारण सिलाइ व्यवसायीले आफ्नै छोरा छोरीको समेत पोशाक सिलाउन नपाई उनीहरुको लगानी भएको कम्पनीमा सिलाउन वाध्य भएको गुनासो गरे ।
उनले भने, ‘स्कुल कलेजहरुले ड्रेस कपडाको स्याम्पल आमरुपमा साना सिलाइ व्यवसायीलाई दिंदैनन्, कमिसन आउने र आफ्नो लगानी भएका कम्पनीलाई मात्र दिन्छन् । यसले गर्दा कैयौं सिलाइ व्यवसायीले आफ्नै छोराछोरीको ड्रेस सिलाउन उनीहरुकै कम्पनीमा दिन बाध्य भएका छन् ।’
सैनामैनाका व्यवसायी सन्तोष परियारले टेण्डरका नाममा भइरहेको सिण्डिकेट व्यापार, ड्रेस कपडाको स्याम्पल माग्न जाँदा आम व्यवसायीलाई सहजरुपमा नदिएको गुनासो गरे । उनले भने, ‘शिक्षण संस्थाबाट आफू निकट कम्पनीको प्रचार हुने भिजिटिङ कार्ड बाँड्ने र ड्रेसको नापजाँच भइरहेको छ ।’ यो काम तत्काल बन्द नगरे जिल्लाभरका व्यवसायी र श्रमिक चरणवद्ध आन्दोलनमा उत्रिन बाध्य हुने उनले चेतावनी दिए ।
८ हजार विद्यार्थी रहेको बुटवलको कालिका मानव ज्ञान माविले भने ड्रेस कपडाको बारेमा सबै व्यवसायीका प्रतिनिधिलाई बोलाएर जानकारी दिई स्वच्छ प्रतिस्पर्धा गराएको व्यवसायी कमल छिनालले बताए ।
व्यवसायीहरुले शिक्षण संस्थाहरुबाट भइरहेको व्यापार रोक्न माग गर्दै जिल्लास्थित शिक्षा कार्यालय र संघीय शिक्षा मन्त्रीलाई समेत ज्ञापनपत्र बुझाउने तयारीमा रहेको फणिन्द्रकुमार घेलेले बताए ।
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                .png) 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4