 
																			बीसौं शताब्दीका महान् कवि हुन्, पाब्लो नेरुदा। १२ जुलाई १९०४ मा पराल, चिलेमा जन्मिएका उनले सन् १९७१ मा साहित्यमा नोबेल पुरस्कार पाएका थिए। नेरुदाका पिता होजे डेल कारमेन रेलवेका कर्मचारी थिए र आमा रोजा नेफ्ताली स्कूलको शिक्षिका थिइन्। उनकी आमा उनी दुई महिनाको हुँदा बितेकी थिइन्। १० वर्षकै उमेरमा कविता लेख्न थाले पनि उनका पितालाई आफ्नो छोरोले कविता वा साहित्यमा रुचि राखेको मन परेको थिएन।
तर भविष्यकी नोबेल पुरस्कार विजेता ग्राविला मिस्त्राल जस्ता प्रतिभाबाट उनले लेखनमा प्रोत्साहन पाएका थिए। मिस्त्राल स्थानीय स्कूलकी शिक्षिका थिइन्। उनले शुरुवातमा नेफ्ताली रेयेसको नामबाट आफ्ना रचना प्रकाशित गरेका हुन्। बीसको दशकको मध्यतिरबाट मात्र उनले पाब्लो नेरुदाको नाममा लेख्न थालेका हुन्।
सन् १९२१ मा १६ वर्षको उमेरमा उनी फ्रान्सेली भाषा अध्ययन गरेर शिक्षक हुने मनसायले सान्टियागो पुगे। तर त्यहाँ उनले पढाइसडाइ एकातिर पन्छाएर कविता लेखनमा आफूलाई निर्धक्क लगाए। त्यहाँ उनलाई कविता लेखनमा बाधा व्यवधान पुर्याउने कोही थिएनन्। अनि त्यतिबेलाका नामी लेखक एडवार्डो बारियोसको सहयोगले त्यतिबेलाका प्रख्यात प्रकाशक डान कार्लोस जर्ज नासिमेन्तोसँग भेट गर्न सके।
सन् १९२३ मा उनको पहिलो कविताको पुस्तक ‘बुक अफ ट्वीलाइटस्‘ र प्रेम कविता सङ्ग्रह ‘ट्वेण्टी लभ पोयम्स एण्ड अ डेस्परेट सङ‘ प्रकाशित भयो। तर कविको उमेर र कवितामा सामेल यौनिक पक्षले यो पुस्तक अलिक विवादित पनि भयो। यद्यपि यी दुवै पुस्तकले पाठक अध्येताहरूको ध्यान खिच्न समर्थ भयो। ‘ट्वेण्टी लभ पोयम्स एण्ड अ डेस्परेट सङ‘ उनको विश्वभरिका पाठकले अत्यधिक रुचाइएको पुस्तक हो जसको अनगिन्ती संस्करण प्रकाशित भएर दशौं लाखभन्दा बढी बिक्री भए। आज पनि स्प्यानिस भाषाको धेरै बिक्ने कविताको पुस्तकको रूपमा लिइन्छ। उनी २० वर्षको उमेरमै विश्वविख्यात हुनपुगे।
नेरुदा कम्युनिष्ट विचारधारामा आबद्ध भएका थिए र कम्युनिष्ट पार्टीमा सामेल भए। तर उनले आफ्नो करिअरलाई कूटनैतिक क्षेत्रमा काम गरेर अघि बढाए। नेरुदाले कूटनैतिक पदहरूमा बर्माको रङ्गुन, ब्रिटिस इण्डियाको नयाँदिल्ली, जाभाको बाटाभिया, सिङ्गापुर, श्रीलङ्काको कोलम्बो लगायतका स्थानमा काम गरेका थिए चिलेको प्रतिनिधित्व गर्दै।
नेरुदा इण्डोनेशियाको जाभामा कन्सुलर अफिसमा खटिएका थिए। उनी एक्ला थिए र ऐकान्तिकताले नियास्रिएका थिए। त्यही बेला उनको भेट आकर्षक महिला मारिया आनतोनियता हागेनारसँग भयो। तिनी अलिअलि डच, अलिअलि इण्डोनेशियाली थिइन्। यो अलि जटिल कुरा थियो। तर दुवैको मन मिल्यो र सन् १९३० डिसेम्बर ६ मा उनीहरूले विवाह गरे।
जाभाको कन्सुलर अफिस बन्द भएपछि नेरुदा चिले फर्किए। उनी र मारियाबाट एक छोरी जन्मिएकी थिइन्। तर ती दुवैलाई नेरुदाले सन् १९३६ मा त्यागिदिए र मारिया छोरीको साथमा नेदरल्याण्ड फिर्ता भइन्। उनीहरूको १९४२ मा पारपाचुके भयो। छोरी जन्मँदै अस्वस्थ थिइन् र ९ वर्षको उमेर सन् १९४३ मा उनको देहान्त भयो तर नेरुदाले छोरीको मृत्युलाई कुनै वास्ता गरेनन्।
यसैबीच नेरुदा ब्यूनर्स आयर्स र बार्सिलोनामा कूटनैतिक पद सम्हाल्न पुगे। पछि उनी म्याड्रिड गए ग्रावियला मिस्त्रालको ठाउँमा। यतिबेला उनी म्याड्रिडका साहित्यिक जगतमा केन्द्रीय व्यक्तित्व बन्न पुगे। त्यतिबेला त्यहाँ राफायल अलबर्टी, फेरेरिको गार्सिया लोर्का, चिजर भालेजो जस्ता विख्यात कवि लेखकहरूको चकचकी थियो।
यही समयमा नेरुदा आफूभन्दा २० वर्ष जेठी कलाकार डेलिया डेल च्यारिलसँग मोहपासमा पुगे। पछि यिनैसँग नेरुदाले बिहे गरे।
नेरुदा समर्थित पेद्रो आगुइरे सेर्दा सन् १९३८ मा चिलेको राष्ट्रपति चुनिएपछि पेरिसमा रहेका स्प्यानिस आप्रवासीका लागि कन्सुलर नियुक्त भए। पछि उनी सन् १९४० देखि १९४३ सम्म मेक्सिकोका लागि महावाणिज्य दूत नियुक्त भएका थिए।
सन् १९४३ मा चिले फर्किएपछि उनले पेरुको यात्रा गरे। त्यहाँ उनले मच्चु पिच्चूको व्यापक यात्रा गरे। यस यात्राको उपज, उनले १२ भागको कविता पुस्तक लेखे ‘द हाइट अफ मच्चु पिच्चु‘, जुन १९४५ मा पूरा भएर सन् १९४८ मा प्रकाशित भयो। त्यसको निरन्तरतामा उनले ‘क्याण्टो जनरल‘ (सन् १९५०) समेत लेखे। यी कविताहरूलाई मासाचुसेट्स विश्वविद्यालय एल्महर्स्टका कवि तथा प्राध्यापक मार्टिन एस्पादाले “यो भन्दा महान् राजनीतिक कविता अरु कुनै छैन” भनेका थिए। यी कवितामा शताब्दीयौं अघि दिवङ्गतहरूलाई ब्युँताएर बोल्न लगाइएको छ र दासत्वको घोर विरोध गरिएको छ।
नेरुदालाई राजनीति वा कम्युनिष्ट पार्टीसँगको सम्बन्धले निकै अवसरहरू दियो र जीवनलाई जोखिममा समेत पार्यो। ४ मार्च १९४५ मा उनी सिनेटर निर्वाचित भए। त्यसपछि उनले औपचारिक रूपमा कम्युनिष्ट पार्टीको सदस्यता लिए।
त्यतिवेला सन् १९४६ मा ग्रावियल गोन्जालेज भिडेलाले उनको पक्षमा निर्वाचनमा सहयोगका लागि आग्रह गरे। नेरुदाले त्यसलाई स्वीकारे। तर पछि गोन्जालेज कम्युनिष्ट पार्टीको विपरीत लाइनमा गएपछि नेरुदाले यौटा चर्को भाषण गरे ‘म आरोप लाउँछु‘ भनेर। उनले त्यो भाषण ६ जनवरी १९४८ मा सिनेटमा गरेका थिए। यो भाषण ‘यो आकुसो‘ (आइ एक्यूज अर्थात् म आरोप लाउँछु) का रूपमा विख्यात छ।
यो भाषण चर्चित र विवादास्पद भयो। उनलाई गिरफ्तारीको धम्की आयो र उनी भूमिगत हुन बाध्य भए। आफ्ना सहयोगी, समर्थकहरू र शुभचिन्तकहरूको सहयोगमा उनी भूमिगत बसे। उनको भूमिगत बसाइ १९४९ को मार्चमा अन्त्य भयो। उनी आन्देश पर्वत हुँदै घोडामा अर्जेन्टिना पुगेका थिए।
१५ जुलाई १९४५ मा ब्राजिलको साओपोलो रङ्गशालामा उनले क्रान्तिकारी कम्युनिष्ट नेता लुई कार्लोस प्रेस्टेसको सम्मानमा एक लाख दर्शक श्रोतासमक्ष कविता पढेका थिए।
नेरुदाको माटिल्डे उरुतियासँग सन् १९४६ मा चिलेको सान्टियोगा, चिलेमा भेट भएको थियो। त्यसपछि सन् १९४९ मा उनीहरूको भेट फेरि मेक्सिको सिटी, मेक्सिकोमा भयो। मेक्सिकोमा माटिल्डे नर्सको रूपमा काम गर्थिन्।
नेरुदा चित्रकार होजे क्लेमेण्टे ओरोज्कोको अन्त्येष्टिमा भाग लिएपछि अस्वस्थ भएका थिए। यही समयमा माटिल्डेसँग उनको प्रेम अघि बढ्यो र गोप्य रूपमा यो प्रेम झाङ्गियो। नेरुदा लामो समय भूमिगत हुँदा माटिल्डे साथै थिइन्।
नेरुदाले ‘काण्टो जनरल‘ कविता कृतिमा र ‘द क्याप्टेन्स भर्स‘ मा माटिल्डेलाई रोसारियो र मेदुसाको रूपमा चित्रण गरेका छन्।
नेरुदाले माटिल्डेलाई सन् १९५१ मा इण्टरनेशनल कम्युनिष्ट फेस्टिभल बर्लिनमा भाग लिन निम्ता गरे र प्रेमिल समय बर्लिनमा व्यतीत गरे। यसपछि पनि माटिल्डेको साथमै रहनका लागि नेरुदाले पत्नी च्यारिललाई चिले सरकारसँग कुरा मिलाएर उनको निर्वासित जीवन अन्त्यका लागि वारेण्ट अन्त्यको प्रयास गर्न चिलेमै बसेर तारतम्य मिलाउन आग्रह गरे। अनि आफूले चाहिं माटिल्डेको साथमा इटलीको काप्रीमा माटिल्डेको साथमा धेरै महिना व्यतीत गरे। उनीहरूले त्यहाँ चन्द्रमाको छायाँमा गुप्त विवाह गरे।
डेल च्यारिलले नेरुदासँग १८ वर्ष बिताइन्। उनी नेरुदाकी राजनैतिक सहयात्री थिइन्। नेरुदा र माटिल्डेले उनीहरू प्रेमी प्रेमिकाकै रूपमा रहेर च्यारिललाई सार्वजनिक जीवनमा नेरुदाकै पत्नी देखाउन सहमत भएका थिए। लुकीचोरी नेरुदा र माटिल्डेको प्रेम निरन्तर झाँङ्गिइरह्यो। तर सन् १९५७ मा च्यारिलले यो सम्बन्धको सुईंको पाइन्। तब नेरुदासँग च्यारिल र माटिल्डेमध्ये एकलाई रोज्नुपर्ने कठिन समय आयो। नेरुदाले माटिल्डेलाई रोजे।
नेरुदाले माटिल्डेका लागि काव्य जीवनका महत्वपूर्ण अनेकन् रचना गरे। माटिल्डे उनको प्रेरणा स्रोत, प्रेमिका र पत्नी सबैथोक भइन्। नेरुदाले लेखेका थिए, माटिल्डेको बारेमा भन्ने सारा कुरा एक सय प्रेमका सानेटमा व्यक्त गरेको छु।
एकपल्ट माटिल्डेकी भतिजी आलिसिया उरुतिया नेरुदाको ईल्सानेग्राको घरमा बस्न आएकी थिइन्। यही बेला नेरुदाले उनलाई मन पराए र प्रेम गर्न थाले। उनी केवल तीस वर्षे तरुनी थिइन्। यो प्रेमले माटिल्डेसँगको वैवाहिक सम्बन्ध झण्डै धरापमा परेको थियो। तर यो दुर्घटना हुन पाएन। नेरुदाले प्रेम ‘द फ्लेमिङ शोर्ड’ रचनामा बयान गरेका छन्।
सन् १९६६ मा नेरुदालाई अन्तर्राष्ट्रिय पेनको निमन्त्रणा प्राप्त भयो, न्यूयोर्कमा सम्पन्न हुने सम्मेलनका लागि। उनी कम्युनिष्ट भएका हुनाले अमेरिकामा प्रवेश पाउन सहज थिएन। तर सम्मेलन आयोजकका तर्फबाट नाटककार आर्थर मिलरले राष्ट्रपति जोन्सन प्रशासनलाई भिसा प्रदान गर्न आग्रह गरे। त्यस सम्मेलनपछि अमेरिकामा उनको कविता वाचन कार्यक्रमहरू भए र कार्यक्रमका हल खचाखच भएका थिए।
सन् १९७० मा नेरुदा चिलीका राष्ट्रपतिको उम्मेदवारको रूपमा छानिएका थिए। तर उनले साल्भाडोर आलाण्डेलाई समर्थन गरेर निर्वाचनको मैदान त्यागे। त्यसपछि राष्ट्रपतिमा निर्वाचित आलाण्डेले नेरुदालाई फ्रान्सका लागि राजदूत नियुक्त गरे। राजदूतको कार्यभार सम्हालेपछि उनले चिलीको युरोपेली तथा अमेरिकन ब्याङ्कहरूको बाह्य ऋण मिलाउन सम्झौता गर्न सफल भएका थिए। तर साढे दुई वर्षपछि उनको स्वास्थ्य बिग्रँदै गयो र उनी स्वास्थ्यकै कारण चिली फर्किए।
सन् १९७१ मा नेरुदाले विश्वको सम्मानीय साहित्यतर्फको नोबेल पुरस्कार पाए। नोबेल पुरस्कार ग्रहण गरेर फर्केपछि चिलीका राष्ट्रपति साल्भाडोर आलाण्डेको निम्तोमा ईस्टाडियो न्यासनलमा ७० हजार दर्शक श्रोताका सामु कविता पढेका थिए।
सन् १९७३ मा उनलाई प्रोस्टेट क्यान्सर भएको पत्ता लाग्यो। अर्कोतिर जनरल अगस्तो पिनोसेले सैनिक विद्रोह गरेर सत्ता हातमा लिए।
यसै बीच २३ सेप्टेम्बर १९७३ का दिन सान्टियागोको सान्ता मारिया क्लिनिकमा नेरुदाको हृदयघातको कारण मृत्यु भएको बताइयो। तर यो मृत्यु स्वाभाविक नभएको भन्ने विश्वास गरिन्छ। उनलाई विषालु इन्जेक्सन वा विषालु वस्तु खुवाउन लगाएर पिनोसेले मार्न लगाएको बताइन्छ। उनको मृत्युलाई लिएर अझैसम्म पनि अध्ययन अनुसन्धान भइनै रहेको छ।
नोबेल पुरस्कार विजेता विश्वविख्यात कोलम्बियाली उपन्यासकार गाब्रियल गार्सिया मार्खेजले उनलाई “कुनै पनि भाषाको बीसौं शताब्दीका महान् कवि” भनेका थिए।
आजकी विश्वविख्यात स्पेनिस भाषाकी उपन्यासकार ईसावेल आलाण्डे महिलावादी पत्रिकामा पत्रकारको रूपमा काम गर्थिन्। एकदिन उनलाई पाब्लो नेरुदाले आफ्नो ईल्सा नेग्रामा भएको घरमा बोलाए। उनले सोचिन्, पक्कै पनि अन्तर्वार्ता दिनलाई बोलाएका होलान्। तर जब उनी अन्तर्वार्ता लिनका लागि तयारी गर्न थालिन्, उनले नेरुदाको लामो भाषण सुनिन्। नेरुदाले उनलाई ‘भयानक पत्रकार‘ को उपमा दिंदै साहित्य लेख्न सुझाव दिए। त्यसले ईसावेलको जीवन नै परिवर्तन भयो। उनी साहित्यमा समर्पित भइन् र उनका बीसौं उपन्यास प्रकाशित भएका छन् र चालीसौं पुरस्कार र सम्मान प्राप्त गरेकी छिन्।
नेरुदाको मृत्यु भएको ११ वर्षपछि ७० वर्षको उमेरमा क्यान्सरको कारणले उरुतियाको देहान्त भयो। उनको देहान्त सान्टियोगोको त्यही घरमा भयो जहाँ उनी नेरुदासँग बस्थिन्।
मर्नुअघि मृत्युशय्यामा रहेकी उनले प्रिसिला रामिरेजलाई आफू पाब्लोको साथमा जान पाउँदा खुशी भएको बताएकी थिइन्।
नेरुदाको मृत्युपछि माटिल्डे उरुतियाले नेरुदासँगको आफ्नो जीवनको बारेमा संस्मरणात्मक पुस्तक लेखिन्, ‘माई लाइफ विथ पाब्लो नेरुदा‘ जुन माटिल्डेको मृत्युपश्चात् प्रकाशित भयो।
फल्स चर्च भर्जिनिया, अमेरिका
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                .png) 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4