११ असोज, काठमाडौं। लगातारको वर्षाका कारण मकवानपुरस्थित कुलेखानी जलविद्युत आयोजनाको जलाशय (इन्द्रसरोबर ताल ) भरिने चरणमा पुगेको छ ।
कुलेखानी जलविद्युत् आयोजना (पहिलो) का प्रमुख तारादत्त भट्टका अनुसार अबको ७–८ घण्टामै कुलेखानी जलाशय भरिने सम्भावना देखिएको छ ।
कुलेखानी जलविद्युत आयोजना समुद्री सतहबाट १ हजार ५३० मिटरको तहमा भरिन्छ । अहिले १ हजार ५२६ मिटरको तहमा पानी आइसकेको भट्टले बताए ।
‘प्रति तीनघण्टमा एक मिटरसम्म पानीको सतह बढिरहेको छ, जलाधार क्षेत्रमा भारी वर्षा भएकाले बाढी आएर कुलेखानी भरिने चरणमा पुगेको हो,’ उनले भने,‘जलाशय भरिएपछि माथिबाटै ओभरफ्लो भएर पानी जान्छ, तर आकस्मिक अवस्था आए बाँधको गेट पनि खोल्नुपर्ने हुनसक्छ ।’
कुलेखानीको क्षमताभन्दा बढी पानी भरिएर जोखिम भए बाँधको गेट पनि खोल्न पर्ने हुनसक्ने भएकाले तल्ला तटीय क्षेत्रमा सतर्कता अपनाउन राष्ट्रिय विपद् जोखिम न्युनीकरण तथा व्यवस्थापन प्राधिकरणले आग्रह गरेको छ । प्राधिकरणका सहसचिव बसन्त अधिकारीका अनुसार विगतमा पनि कुलेखानीको बाँध खोल्नु परेको र सतर्कता नअपाउँदा जनधनको क्षति भएकाले अहिले पनि तल्ला तटीय क्षेत्रमा सतर्कता जरुरी रहेको बताउँछन् ।
कुलेखानीको पानी कुलेखानी र सिस्मेरी खोला हुँदै बाग्मती खोला भएर बग्छ । त्यसैले मकवानपुरका भीमफेदी, इन्द्रसरोबर, बाग्मती गाउँपालिका, सिन्धुलीको हरिहरपुरगढी क्षेत्र रौतहटको नुनथर, चन्द्रपुर, सर्लाहीको तटीय क्षेत्र आसपासका नागरिकलाई सचेत रहन आग्रह गरिएको छ ।
केही घण्टापछि कुलेखानी भरिएर खोलामा बढी आउनसक्ने भएकाले तल्लो तटीय क्षेत्रमा सतर्कता जरुरी रहेको सहसचिव अधिकारीले बताए । उनका अनुसार सतर्कताको लागि जिल्ला प्रशासन कार्यालय मकवानपुरले आवश्यक तयारीसहित तल्लो तटीय क्षेत्रमा माइकिङ सुरु गरेको छ ।
कुलेखानी आयोजनालाई सुख्खायाममा लागि ‘पावर ब्याक अप’का रुपमा राखिने गरेको छ । हिउँदमा रित्ताइने यो जलासय वर्षामा भरेर राख्ने गरिन्छ ।
  

                    
                
                
                
                
                
        
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                            
                                            
                                            
                                            
                                            
                                            
                
                
                
                
                
                
                
                
प्रतिक्रिया 4