४ कात्तिक, काठमाडौं । आइतबार एकाबिहानै ललितपुरको महालक्ष्मी नगरपालिकाको इमाडोल क्षेत्रमा साइरन बनाउँदै ८–१० वटा गाडी हुइँकिदै थियो ।
गाडीमा थिए बागमतीका मुख्यमन्त्री बहादुर सिंह लामा र कांग्रेसका नेता कार्यकर्ता थिए । उनीहरु १२ असोजको बाढी र डुवानले क्षतिग्रस्त क्षेत्रको अवलोकनका लागि आएका थिए ।
बाढीको २३ दिनपछि मुख्यमन्त्री दलबलसहित प्रभावित क्षेत्रमा आएका थिए । लाको टोलीमा करिब २५ जना थिए । स्थानीयसँग समेत छलफल नगरेको भन्दै ललितपुर महानगरपालिका र महालक्ष्मी नगरपालिकाका बासिन्दा आक्रोशित देखिन्थे ।
‘बाढी पस्दा प्रदेश सरकार कहाँ थियो, थाहा छैन तर आज दशैं सकेर आइपुगेछ । अब आउनुको के अर्थ ?’, महालक्ष्मी नगरपालिका बोजेपोखरीस्थित खानेपानी अनुगमनमा पुगेको टोलीलाई स्थानीय नरेश सिंहले प्रश्न गरे ।
‘अहिले मन्त्रीहरुको लस्कर आइरहेको छ । पानीको मेसिन बिग्रेको एक महिना पुग्यो, एक छिन हेर्यो, अनि कुद्यो यसको लागि त किन आउनुपर्यो’, सिंहले अनलाइनखबरसँग भने ।

उनीजस्तै च्यासलका सरोज तण्डुकार पनि आक्रोशित देखिए । ‘यहाँ फोटो खिचाउन किन आउनुपर्यो अहिले, कि प्रदेशलाई भर्खरै थाहा भयो बाढी पस्यो भनेर ?’, मुख्यमन्त्री लामाले आइतबार बिहान बालकुमारीको सनराइज होम्स हाउजिङबाट सुरु अवलोकन सुरु गर्दै च्यासल रङ्गशाला, इमाडोल क्षेत्र, नख्खु र लाकुरीभञ्ज्याङसम्म अवलोकन गरेका थिए ।
‘उहाँको पार्टीको नेताहरु र प्रदेश सांसद रामकृष्ण चित्रकारले जसरी पनि आउनुपर्छ भनेर भिजिट गर्न आएको सुनियो, न यहाँका जनताको दुखबारे सोध्नु भयो, न छलफल गर्नुभयो हुलका हुल गाडी आएर धुलो उडाउने बाहेक अरु केही भएन’, टीकाथलीका स्थानीय राजेश्वर महर्जनले भने ।
कांग्रेसको ज्ञापन पत्र
मुख्यमन्त्री लामालाई नेपाली कांग्रेसको ललितपुर प्रतिनिधिसभा क्षेत्र नं. २ समितिले ज्ञापनपत्र बुझाउने कार्यक्रम समेत राखेको थियो । राहत, पुनःस्थापना, पुननिर्माणका बिषयलाई सम्बोधन गर्न माग गर्दै बुझाएको ज्ञापनपत्र ग्रहण गर्दै लामाले कार्यविधि बनाएर राहत वितरण गर्ने बताएका थिए ।

मुख्यमन्त्री लामाले सबै जिल्लाबाट भौतिक र मानवीय क्षतिको विवरण प्राप्त भएपछि तथ्यांकअनुसार आवश्यक सहयोग उपलब्ध गराउने बताए । ज्ञापनपत्र बुझाउने कार्यक्रममा प्रदेश सांसद रामकृष्ण चित्रकार, नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका सचेतक गोविन्दप्रसाद लम्साल सहित कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।
ललितपुर क्षेत्र नं.२ का सभापति महेश खड्काले महालक्ष्मीका १० वटै वडा र ललितपुर महानगरको ७, ८, ९ र १७ अत्यन्तै प्रभावित भएकाले विपदग्रस्त पालिका घोषणा गर्न आग्रह गरे ।
                    
                                    
                
                
                
                
                
        
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                            
                
                
                
                
                
                
                
                
                
                
                
                
                
                
                
                
                
                
प्रतिक्रिया 4