 
																			२१ कात्तिक, काठमाडौं । १६ मंसिरमा हुने स्थानीय तहको उपनिर्वाचनका लागि प्रमुख दलहरुले उम्मेदवार टुंग्याउन थालिसके ।
उपनिर्वाचनका लागि २ मंसिरमा उम्मेदवारी दर्ता गर्ने कार्यतालिका छ । तर राष्ट्रिय स्वतन्त्र पार्टीले भने अहिलेसम्म उम्मेदवार छनोट प्रक्रिया सुरु गरेको छैन । २ कात्तिकमा सभापति रवि लामिछाने पक्राउ परेपछि पार्टी नै आन्दोलनमा होमिएका कारण उपनिर्वाचनको तयारीमा असर परेको नेताहरुले बताएका छन् ।
सभापति लामिछाने पक्राउ पर्नुअघि १३ असोजमा रास्वपाले उपनिर्वाचन हुने स्थानमा पार्टीको सांगठनिक अवस्था, उम्मेदवार छनोट विधि, गैरदलीय उम्मेदवारलाई सघाउन सकिने स्थान लगायतमा कार्ययोजना पेश गर्न
सहमहामन्त्री विपिन आचार्यको संयोजकत्वमा कार्यदल बनाएको थियो । तर आचार्यले पारिवारिक कारण देखाउँदै जिम्मेवारी नलिएपछि सांसद गणेश पराजुलीलाई यो जिम्मा दिइएको थियो ।
१० कात्तिकमा उपसभापति डीपी अर्यालको अध्यक्षतामा बसेको केन्द्रीय समिति बैठकले उपनिर्वाचन संयोजन समितिलाई ३ दिनभित्र कार्ययोजना पेश गर्न निर्देशन दिएको थियो । तर उक्त समितिले कार्ययोजना पेश गर्न सकेको छैन ।
कार्यबाहक महामन्त्री कविन्द्र बुर्लाकोटी सभापति पक्राउले उपनिर्वाचन तयारी प्रभावित भएको स्वीकार गर्छन् । ‘सभापति पक्राउ परेपछि पार्टीले अलि बढी ध्यान त्यतातिर दिनुपर्यो । सडकमा समय दिनुपर्यो, अब हामी लगभग लयमा आइसकेका छौं । पार्टीलाई नियमित प्रक्रियामा फर्काइसकेका छौं’, उनले भने ।
रास्वपाको विधान अनुसार कुल मतदाताको ०.१ प्रतिशत पार्टी सदस्य रहेको स्थानीय तहमा प्रारम्भिक मतदानबाट उम्मेदवार छनोट गर्ने व्यवस्था छ ।
त्यति पार्टी सदस्य नरहेको अवस्थामा केन्द्रीय समितिले उम्मेदवार चयन गर्ने व्यवस्था छ ।
वडा तहमा उठ्न चाहनेले ‘वडा उम्मेदवार क्लब’मा र पालिकामा प्रमुख, उपप्रमुख वा अध्यक्ष र उपाध्यक्षको उम्मेदवार हुन इच्छुक व्यक्ति ‘पालिका उम्मेदवार क्लब’मा आवद्ध भएको हुनुपर्छ ।
उम्मेदवारका लागि योग्य हुन लिडरसीप एकेडेमीमा अनिवार्य प्रशिक्षण लिनुपर्ने हुन्छ । विधानको उक्त व्यवस्था लागु गर्ने परिस्थिति हालका लागि नभएको रास्वपा नेताहरु बताउँछन् ।
१ र २ असोजमा भएको राष्ट्रिय सम्मेलनमा सभापति रवि लामिछानेले राजनीतिक प्रतिवेदनमा पार्टीले योग्य उम्मेदवार तयार गर्न नसके गैरदलीय योग्य उम्मेदवारलाई सघाउन सक्ने उल्लेख गरेका थिए ।
उनले उपनिर्वाचन हुने समयसम्म लिडरसिप एकेडेमीबाट उम्मेदवार तयार हुने सम्भावना कम रहेको पनि उल्लेख गरेका थिए । ।
आफ्नै दलको उम्मेदवार उठाउने, गैरदलीय स्वतन्त्र उम्मेदवारलाई समर्थन गर्ने वा गैरदलीय स्वतन्त्र उम्मेदवारलाई घण्टी चुनाव चिह्न दिएर उठाउने गरी रास्वपामा छलफल भइरहेको नेताहरुले जानकारी गराएका छन् ।
विधानले तोके अनुसार पार्टी सदस्य संख्या रहेको स्थान र एक भन्दा बढी उम्मेदवार भए प्रारम्भिक निर्वाचनबाट उम्मेदवार तय गरिने कार्यदलका संयोजक गणेश पराजुलीले जानकारी गराए ।
बुधबार साँझसम्म सातै प्रदेशमा निर्वाचन परिचालन समिति गठन हुने पराजुलीले बताए । पराजुलीले भने, ‘बिहीबार उम्मेदवार हुन चाहनेका लागि दरखास्त आह्वान गरिन्छ । सर्वसम्मत उम्मेदवार चयन हुन नसके प्रारम्भिक चुनावबाट तय गर्छौं ।’
सभापति पक्राउ, चाडपर्व लगायतले उपनिर्वाचनको तयारी प्रभावित बनेपनि पछिल्लो समय नियमित कार्यमा पार्टी फर्केको पराजुलीले बताए ।
दुई जिल्ला समन्वय प्रमुखसहित निर्वाचन आयोगले ४४ रिक्त पदमा उपनिर्वाचन गर्न लागेको छ । जिल्ला समन्वय प्रमुख बाहेकका ४२ पदमा उम्मेदवारी दिने वा स्वतन्त्र उम्मेदवारलाई सघाउने गरी छलफल भइरहेको कार्यवाहक महामन्त्री बुर्लाकोटीले जानकारी गराए ।
‘जिल्ला समन्वय समिति प्रमुखका लागि हाम्रो उम्मेदवारी हुँदैन । हाम्रो संरचना नभएका स्थानमा गैरदलीय राम्रा उम्मेदवारलाई सघाउने हुनसक्छ । त्यस्तो पनि हुन नसके त्यस स्थानको निर्वाचनमा सहभागी हुँदैनौं’, उनले भने ।
तर पार्टीले कुन कुन पदमा उम्मेदवारी दिने र कुन कुनमा गैरदलीय उम्मेदवारलाई सघाउने भन्ने निर्णयमा रास्वपा पुगिसकेको छैन ।
रास्वपा नेताहरुका अनुसार उपनिर्वाचन हुने एक मेयर र दुई गाउँपालिका अध्यक्षमा पार्टीकै नेताले उम्मेदवारी दिनेछन् । ‘हाम्रो क्षमताले जित्ने एउटा पाटो भयो । एजेण्डा स्थापित गर्ने अर्को पाटो भयो । संगठनलाई खार्ने र अनुभवहरु हासिल गर्ने माध्यम उपनिर्वाचनलाई बनाएका छौं’, बुर्लाकोटीले भने ।
ओखलढुंगा र कैलालीका जिल्ला समन्वय समिति प्रमुख, काठमाडौंको कीर्तिपुर नगरपालिकाका प्रमुख, जाजरकोटको नलगाड नगरपालिकाका उपप्रमुख, मोरङको ग्रामथान गाउँपालिका र दैलेखको महाबु गाउँपालिका अध्यक्ष, दोलखाको गौरीशङ्कर गाउँपालिका, हुम्लाको सर्केगाड गाउँपालिका र बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकाका उपाध्यक्ष पदका लागि उपनिर्वाचन हुनेछ ।
कीर्तिपुरमा ध्यान
रास्वपाका नेताहरुले यो उपनिर्वाचनमा कीर्तिपुर नगरपालिकामा ध्यान दिने बताएका छन् । यो नगरपालिकाको वडा नं १ र ४ को वडाध्यक्षमा पनि निर्वाचन हुँदैछ ।
कीर्तिपुर नगरपालिका पर्ने काठमाडौं क्षेत्र नं १० मा ४ मंसिर २०७९ मा भएको प्रतिनिधिसभा निर्वाचनमा रास्वपाका उम्मेदवार प्रदीप विष्ट आठ हजार ३३९ मत ल्याएर तेस्रो स्थानमा रहेका थिए ।
कीर्तिपुर नगरपालिकामा रास्वपाको २८१ सदस्यीय समिति छ । उपनिर्वाचनका बारेमा छलफल गर्न कीर्तिपुर नगर समितिको बैठक रास्वपाले बिहीबार बिहान बोलाएको छ ।
कीर्तिपुर क्षेत्रका बासिन्दासमेत रहेका काठमाडौं जिल्ला सभापति विष्टले सभापति पक्राउका कारणले उपनिर्वाचनको तयारीलाई केही बाधा परेको बताए ।
‘विभिन्न कुराहरुले गर्दा अलि ढिलो हुन पुगेको हो । उम्मेदवारी दर्ता गर्ने बेला नपुग्दै सबै टुंग्याउँछौं’, विष्टले भने । मेयर र वडा नम्बर ४ को अध्यक्ष रास्वपाले जित्न सक्ने उनले दाबी गरे ।
 
                









 
                     
                                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                .png) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4