 
																			७ मंसिर, काठमाडौं। पूर्वीय संस्कार, बौद्धिकता र अध्यात्मको संगम मानिने वेदान्त, अनि तर्क, प्रमाण र तथ्यमा आधारित विज्ञानको दुईदिने अन्तर्राष्ट्रिय सम्मेलन काठमाडौंमा शनिबार सुरु हुँदैछ।
संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डेले काँडाघारीस्थित अक्षरा स्कुलमा शनिबार उद्घाटन गर्ने सम्मेलन आइतबारसम्म जारी रहनेछ । सम्मेलनमा नेपाल, भारत, अमेरिका लगायत देशबाट आउने २० भन्दा बढी विज्ञहरुले आफ्ना विचारहरु राख्ने बताइएको छ ।
‘फस्ट इन्टरनेशनल कन्फरेन्स अन् अ डायलग बिटविन वेदान्त एन्ड साइन्स अन् द ओरिजिन अफ लाइफ एन्ड एभोल्युसन २०८१’ नाम दिइएको अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिन भारत, अमेरिका लगायत देशका ती विज्ञहरु काठमाडौं आइसकेका छन् ।
आध्यात्मिक संस्कृति तथा विज्ञानका लागि श्री चैतन्य सारस्वत सभाका अध्यक्ष स्वामी राममणि नेपालले भौतिक जगतको सुख क्षणिक रहने तर आध्यात्मिक सुख कहिल्यै नमेटिने भएकाले नेपाललाई अध्यात्मको अन्तर्राष्ट्रिय केन्द्र बनाउने र विश्वलाई यो महत्व बुझाउने प्रतिबद्धता जनाएका छन् । सम्मेलनमा यी विषयहरुले प्रमुखताका साथ प्रवेश पाउने उनको भनाई छ ।
अक्षरा स्कुलकी प्रिन्सिपल डाइरेक्टर अन्जु भट्टराईका अनुसार सम्मेलनमा विभिन्न विषयमा कार्यपत्रहरु र विचार विमर्श समेत हुनेछ ।
सम्मेलनलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको तर्फबाट आफूहरुले विशेष सहयोग र साथ प्राप्त गर्ने सनातन अध्ययन तथा अनुसन्धान प्रतिष्ठानका अध्यक्ष प्राध्यापक डा मोहन खरेलले जानकारी गराए । सम्मेलनमा सम्बद्ध विज्ञहरूसहित करिब तीन सय जनाको सहभागिता रहने आयोजकको भनाई छ ।
सम्मेलनमा डा भक्ति विज्ञान मुनि महाराज, संहिताशास्त्री अर्जुन बास्तोला, वरिष्ठ न्युरोलोजिस्ट डा जेपी अग्रवाल, प्राध्यापक डा मोहनप्रसाद खरेल, प्राध्यापक डा रजनी मल्ल, प्राध्यापक डा रामेश्वर अधिकारी, सहप्राध्यापक डा गोपीचन्द्र काफ्ले, सहप्राध्यापक डा निर्मलमणि अधिकारी, सहप्राध्यापक डा चित्रबहादुर बानियाँ, उपप्राध्यापक डा दीपेन्द्र पराजुली र सहप्राध्यापक डा गोविन्दशरण उपाध्याय, प्राज्ञ भरत गिरी, डा भुवनेश्वरी राव र श्रीपद कृष्ण केशव प्रभु, डा सुमंगलादेवी दासीले कार्यपत्र पेस गर्ने श्रीचैतन्य सारस्वत सभाका अध्यक्ष स्वामी राममणि नेपालले जानकारी दिए ।
प्राध्यापक एमवी जगन्नाधाम, डा गर्ग चटर्जी, डा कुमार भान्का, सहप्राध्यापक डा गोपीचन्दर काफ्ले आदिले आफ्नो अनुसन्धानको निष्कर्षलाई सम्मेलनमा प्रस्तुत गर्ने आयोजकले बताएको छ ।
सम्मेलनपछि प्रमुख वक्ताहरूले काठमाडौं विश्वविद्यालय र पोखरा विश्वविद्यालयका बारेमा पनि आफ्नो अन्तर्दृष्टि साझा गर्नेछन् । साथै, भारतको पश्चिम बंगालस्थित श्री चैतन्य सारस्वत मठका आचार्य श्रीलभक्ति निस्काम शान्त महाराज, सेवा वर्तमान आचार्यले काठमाडौंको दक्षिणकालीको बसानिमहलमा रहेको बामनदेव मन्दिरको शिलान्यास गर्ने कार्यक्रम छ ।
आयोजक संस्थाद्वारा हिन्दु धर्म र संस्कारको वैज्ञानिक आधार विषयमा यसअघि सन् २०१५ र सन् २०१७ मा पनि साइन्स एन्ड साइन्टिस्ट अन्तर्राष्ट्रिय सम्मेलन गरिएको थियो ।
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4