 
																			७ मंसिर, काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेल शुक्रबार दरबारमार्गमा आयोजित जागरणसभाको मञ्चबाट भन्दै थिए, ‘हाम्रो पार्टीविरुद्ध चौतर्फी घेराबन्दी छ । पहिले महाकाली सन्धि देखाएर पार्टीलाई कमजोर बनाउने प्रयास गरे। अहिले नेतृत्वबारे गलत प्रचार गरिंदैछ।’
दरबारमार्गमा आयोजित जागरण सभालाई महासचिव पोखरेलले सम्बोधन गरिरहँदा मञ्च परिसरमा अनलाइनखबरकर्मीसँग गफिँदै थिए काभ्रेको नमोबुद्ध नगरपालिकाबाट आएका ७० वर्षीय नानीराम अधिकारी । हामीले सोध्यौं, ‘तपाईंको महासचिवले पार्टी घेराबन्दीमा छ भन्नुभयो, यो भनेको के हो ?’
नानीरामले जवाफ दिए, ‘सामाजिक सञ्जालमा जथाभावी नलेखिदिए हुन्थ्यो, नभएको कुरा लेखेर दुर्गे (दुर्गा प्रसाईं) पक्राउ परे । कसैको राम्रो कुरा मात्रै लेख्नुपर्छ भन्दिनँ म, जे हो त्यही वास्तविक कुरा मात्रै लेखिदिए हुन्थ्यो ।’
२०४७ सालमा एमालेको संगठित सदस्यता लिएका नानीरामले कुटनीतिक जवाफ दिए । पेशाले किसान उनी राजनीतिलाई सेवाकै रूपमा बुझ्छन् । ‘राजनीति सेवा हो भन्ने बाहेक अरु बुझिएन । धेरै बुझ्नेले भ्रष्टाचार बुझे, अरू के–के बुझे, म त्यता जान चाहन्न’ उनले विस्तारमा भने, ‘खास कुरो– हामीले धेरै ठूला राजनीतिक परिवर्तन ग¥यौं, तर स्थिर सरकार दिन सकेनौं ।’
राजनीतिक अस्थिरता उत्कर्षमा पुगिरहेको छ । स्थिर सरकार कसरी दिने ? केहीबेर सोचेर नानीरामले संशय व्यक्त गरे, ‘अहिलेकै अवस्थामा ०८४ मा पनि एउटै दलले बहुमत पाउला जस्तो लाग्दैन ।’ यद्यपि कांग्रेस–एमाले मिलेर सरकारबाट जनताको मन जित्ने काम गर्न सके स्थिर सरकार दिन सकिने उनले बताए ।

के हुन ती ‘मन जित्ने काम’ ? नानीराम स्पष्ट देखिए । ‘सहकारी पीडितको पैसा फिर्ता गर्नुपर्छ । जनताको आयआर्जन बढ्ने काम गर्नुपर्छ’ उनले भने, ‘सरकारमा गएर जनताको काम नगर्ने दल तल झन तल झरिहाल्छ ।’
एमालेका पुराना कार्यकर्ता नानीरामले देश नबन्नुको कारणका सूची नै प्रस्तुत गरे, ‘पहिलो– नेताहरू भ्रष्ट भए । दोस्रो– कर्मचारीहरू भ्रष्ट भए । तेस्रो– नेता र कर्मचारी मिलेर गरिरहेको भ्रष्टाचार तोड्ने नेता भेटिएन ।’
सडकमा एक सामान्य कार्यकर्ताले गहिरो आत्मसमीक्षासहितको निष्कर्ष सुनाइरहँदा मञ्चबाट पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले कांग्रेस–एमाले गठबन्धन सरकार २०८४ सम्मै टिक्ने दाबी गरिरहेका थिए ।
त्यही भाषण सुनिरहेका नानीरामलाई हामीले सोध्यौं, ‘सरकार तपाईंको पार्टीको छ । यति धेरै नेताहरू छन् । अर्को खोज्न कहाँ जाने ?’
हाम्रो प्रश्नमा उनले अध्यक्षको आशय मिसाएर जवाफ दिए, ‘एउटै पार्टीले पाँच वर्ष सरकार चलाउन पाएको छैन । अब यसमा ध्यान दिने हो भने देश बनाउने नेता निस्कन्छ ।’
बलियो मेहनत, कमजोर उपस्थिति
सत्तारूढ एमालेले शुक्रबारको जागरण सभामा एक लाख मान्छे उतार्ने जनाएको थियो र तदनुरूप मेहनत गरेको पनि थियो । तर, कार्यक्रम स्थल खुलामञ्चबाट दरबारमार्ग सारेको कार्यक्रममा सडक ढाक्न एमालेले छरिएर बस्ने निर्णय गरेको देखिन्थ्यो ।
नेताहरू आ–आफ्ना कमिटीबाट कति नेताहरू आए भनेर सोधीखोजी गरिरहेका देखिन्थे । कोही आफ्नो कमिटीबाट को–को आए भनेर जान्न हाजिर गराउन व्यस्त थिए, कोही हिंड्नेलाई गाह्रो नहोस् भनेर सडकमा ग्याप राख्न आग्रह गरिरहेका थिए ।
नारायणहिटी दरबारदेखि त्रिचन्द्र कलेज छेउसम्म सडक छिरल्लिएका मानिसहरूले भरिएको थियो । सडकमै बसेर बदाम खाँदै नेताको भाषण सुन्नेहरूको जमात ठूलो थियो । भेट भएको बेला चिनजान भएकाहरूसँग फोटो खिच्ने, सभालाई पृष्ठभूमिमा राखेर सेल्फी खिच्नेहरू पनि उत्तिकै थिए । समग्र मास नियाल्दा युवा जमात उल्लेख्य देखिन्थे ।
तिनै युवामध्ये एक सिन्धुली झाँगाझोलीका २७ वर्षीय उमेश थापा भेटिए । उनी विदेश जाने तयारीमा रहेछन् ।
‘दुई पटकसम्म विद्यार्थी भिसामा युरोप जान प्रयास गरें, भएन । अब वर्किङ भिसामा जाने सोचमा छु,’ थापाले आफ्नो योजना सुरुमै सुनाए ।

त्यतिबेला मञ्चबाट प्रधानमन्त्री समेत रहेका एमालेका अध्यक्ष ओली भन्दैथिए, ‘… देशलाई गरिबीबाट मुक्त गर्नुछ । गरिबीबाट मुक्त गर्नका लागि विकासमा तिब्रता दिनुछ । हाम्रो ध्यान त्यहाँ छ ।’
प्रधानमन्त्रीले देश विकासलाई तिव्रता दिने कुरा गरिरहुनभएको छ, तपाईं विदेश जाने भन्नुहुन्छ, कुरा अलि मिलेन कि ? अनलाइनखबरको जिज्ञासामा थापाले मनको वह पोखे ।
‘आफू बाँचेर मात्रै हुँदैन, परिवारको दायित्व पनि छ । रहरले को किन विदेश नै जान्छु भनेर मरिहत्ते गर्छ र !’ थापाको यो बह प्रधानमन्त्री ओलीले सुन्ने कुरा भएन । किनकि जागरणसभा कार्यकर्ता र जनतालाई सुन्न होइन, सुनाउन आयोजना गरिएको थियो ।
थापालाई प्रधानमन्त्री ओलीले गर्ने सकारात्मक कुराहरू मनपर्छ । ‘हिम्मत हार्न हुन्न, नेपालमै पनि केही हुन्छ भन्ने प्रधानमन्त्रीको सकारात्मक सोच छ, त्यसले सबैलाई ऊर्जा दिन्छ’ थापाले प्रधानमन्त्री ओलीको प्रशंसा गरे ।
प्रधानमन्त्री ओलीलाई सुनाउन थापाले एउटा सन्देश छाडे, ‘पढाइका लागि विदेश जान कोही खोज्दछ भने रोक्नु हुँदैन । राम्रो जागिरका लागि पनि कोही विदेश जान लागेको छ भने रोक्नुहुँदैन । तर, बाँच्नकै लागि विदेश जाने अवस्थाको अन्त्य सबैले मिलेर गरिदिए हुन्थ्यो ।’
थापा थप्छन्, ‘यहीं जागिर भयो भने को विदेश जान्छ र ? आफ्नो परिवार छोडेर जाने मन कसलाई हुन्छ र !’
देश छोडिरहेका युवाहरू बारे उनले भने, ‘यहाँ गर्ने मेहनत र विदेशमा गर्ने मेहनतको मौद्रिक मूल्य फरक छ नि त, नेपालमा आफैंलाई नपुग्ने तलबवाला जागिर पाउन पनि मुस्किल छ ।’
समाजमा निराशा छ भनेर नेताहरूले भाषण गर्दा थापा उत्साही हुन्छन् । ‘किनभने समस्या थाहा पाएपछि समाधान निकाल्न सकिन्छ नि त,’ नेताहरूप्रति उनको विश्वास पनि छ ।
‘निराशाको कारण के होला ?’ हाम्रो प्रश्नमा उनी मसक्क हाँसे । ‘सबैलाई थाहा छ, यहाँ शिक्षा महंगो छ, रोग लाग्यो भनेर उपचार कसैले गरिदिने होइन । जागिरको कुरा भनिहालें, यो भने कहाँ निराशा देखिन्छ त ?’ उनले प्रश्नबाट बिट मारे ।

तर गत असोजमा बाढी पहिरोका कारण दुःखमा परेका नागरिकले सरकारबाट अपेक्षित सहयोग नपाएको भन्दै उनले आफ्नै सकारको गुनासो छ ।
‘बाढी पहिरोले कति धेरै मानिसहरू आपतमा परे, हाम्रो सिन्धुलीमै कति धान खेत बग्यो, बजार नै बगायो, मान्छेको बस्ने ठाउँ भएन । काभ्रेमा अझ कति धेरै क्षति भयो’ उनले सोधे, ‘ दुःख पर्दा नागरिकले एक्लै महसुस गर्नुपर्छ । यस्तो कुराले मन दुख्छ । त्यतिबेला खै त सरकार ?’
थापाले जागरणसभाको बीचमा अनलाइनखरसँग कुरा गर्दागर्दै सरकार खोजे ।
‘सरकार यहीँ छ, प्रधानमन्त्री यहीँ हुनुहुन्छ’ हाम्रो जिज्ञासामा उनले भने, ‘सबै राजनीतिक दलले मिलेर गर्नुपर्छ जस्तो लाग्छ । एउटा दलले मात्रै गरेर पुग्दैन होला ।’
तर, एमालेको जागरण सभालाई लिएर कतिपयले गरेको आलोचना भने उनलाई मन परेको छैन । ‘आफैं सरकारमा, आफैं सडकमा भन्ने प्रश्न जायज छ । उहाँहरूले भने जस्तै सरकारले शक्ति प्रदर्शन गर्ने होइन, काम गर्ने हो । तर के बुझ्नुपर्छ भने– सत्तारुढ दलले सरकारले गरेको कामको प्रचार सडकबाट पनि गर्न पाउँछ, सदनबाट पनि गर्न पाउँछ,’ उनले भने ।
सांकेतिक प्रतिकारमा एमाले
जागरण सभामा सहभागी एमाले/नेता कार्यकर्ताहरू शुक्रबारको प्रदर्शनलाई शक्ति प्रदर्शन हो भन्न हिचकिचाउँदैनन् । बरु एमाले कमजोर भयो भनेर प्रचार गर्नेहरूलाई दह्रिलो जवाफ दिन सफल भएको बताउँछिन् अखिल नेपाल महिला संघ (अनेम)को क्षत्रीय सदस्य विमला पराजुली ।
उनी भन्छिन्, ‘एमाले कमजोर भयो, एमालेको संगठन कमजोर हुन थाल्यो भन्ने जो कुरा गर्नेहरू थिए । तिनीहरूले देखे होलान्, एमाले कति बलियो छ भनेर ।’
पराजुली भक्तपुरको बालकोट निवासी हुन् । एमालेको राजनीतिमा सक्रिय उनी वर्तमान सरकार एमाले एक्लैको नभएको र जनताले चाहे अनुसार कतिपय काम गर्न नसकिएको स्वीकार गर्नुपर्ने बताउँछिन् ।
‘दुई तिहाइ बहुमतको सरकार हो । तर, नेपाली कांग्रेसको पनि त सरकार हो । दुई फरक आइडोलीका दलहरू हुन्’ उनी भन्छिन्, ‘आ–आफ्नै प्राथमिकता छन् । यस्तोमा कमिकजोरी छैनन् भन्न मिल्दैन । तर, एमालेमाथि जसरी एकतर्फी प्रहार भइरहेको छ यसको जवाफ आज दिइएको छ ।’

जागरण सभाले एमालेका नेता÷कार्यकर्ताको मनोबल उच्च बनाएको पनि उनलाई लाग्छ । ‘पानी नभएको ठाउँमा पानी पुर्याए प्यास मेटिन्छ । त्यस्तै भएको छ आजको सभामा । यसले एमालेभित्रको एकत्व थप बलियो बनाउँदै आगामी चुनावमा परिणाम समेत देखाउँछ,’ पराजुलीको विश्वास छ ।
यही मंसिर १६ गते स्थानीय तहका विभिन्न ४४ पदमा उपनिर्वाचन हुँदैछ । उनी भन्छिन्, ‘स्थानीय तहको उपचुनावमा उम्मेदवारले पनि चुनावी जित र हारलाई असर गर्छ । तर, आजको जस्तो जागरण सभा निरन्तर गर्न सक्दा एमाले कार्यकर्ता र एमाले समर्थित जनतालाई जागृत गराइराख्न र त्यसको प्रतिफल ०८४ को चुनावमा चाख्न सकिन्छ ।’
पार्टी बलियो बनाउने र मुलुक बनाउने कुरामा नेता/कार्यकर्ता र जनताको उत्तिकै भूमिका हुने उनको बुझाइ छ । ‘नेताहरू जनताको अवस्था थाहा पाउन भान्सामा पुग्नुपर्छ, कार्यकर्ता र जनताले पनि राज्यलाई थाहा दिनुपर्छ कि-नागरिकको अवस्था कस्तो छ भनेर । यसरी हेर्दा सबै जिम्मेवार छन् । एकले अर्कोलाई देखाएर कहीँ पुगिँदैन्’ पराजुलीले भनिन् ।
नेपालमै सम्भावना खोज्न र सानो उपलब्धीमा खुसी हुने वातावरण बनाउन सबै लाग्नुपर्ने उनले बताइन् । ‘सरकारमा हुनेले जनताको मन जित्नेगरी काम गरे राजनीतिक रूपमा कुनै घोषित मिसन राख्नु पर्दैन’ उनले भनिन् ।
पराजुली अगाडि थप्छिन्, ‘मिसन २०८४ प्रत्येक दलको हो । हाम्रो कुरा गर्दा हामीले जनताको मत जित्ने गरी काम गर्न सक्नुपर्छ । यसो हुँदा राजनीतिक रूपमा मिसन भनिरहनै परेन, जनताले भोट दिन्छन् भइहाल्यो ।’
 
                









 
                     
                                     
                                 
 
 
 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4