
१० मंसिर, बुटवल । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङले रोल्पाको रुन्टीगढी गाँउपालिका होलेरीमा सेवा विस्तार गर्ने भएको छ ।
प्रतिष्ठानले एमबीबीएसको पढाइ सुरु गर्ने भएपछि रोल्पाको होलेरीमा सेवा विस्तार गर्न लागेको हो ।
एमबीबीएस पढाइका लागि प्रतिष्ठानले ५० सिट प्राप्त गरेपछि होलेरी प्राथमिक स्वास्थ्य केन्द्रलाई कम्युनिटी आउट रिच सेन्टरको रूपमा रहने गरी विशेषज्ञ चिकित्सक राखेर बिरामीको जाँच र उपचार सेवा दिने तयारीमा रहेको प्रतिष्ठानका रजिष्ट्रार प्राध्यापक डा. श्याम लम्सालले बताए ।
गत असारदेखि होलेरी अस्पतालमा एमबीबीएस चिकित्सक नहुँदा बिरामीले सामान्य स्वास्थ्य सेवा प्राप्त गर्न दाङको घोराही आउनुपर्ने बाध्यता छ ।
‘निकट भविष्यमा होलेरीमा नै प्रतिष्ठानबाट डाक्टर पठाएर विशेषज्ञ सेवा सुरु गर्ने तयारी छ,’ लम्सालले भने ।
हाल प्रतिष्ठानमा एमडीजीपीमा २ जना चिकित्सकले स्नातकोत्तर पढिरहेका छन् ।
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान र रुन्टीगढी गाँउपालिकाबीच जनशक्ति व्यवस्थापनबारे सम्झौता भएको छ । सम्झौतामा प्रतिष्ठानका रजिष्ट्रार प्रा. लम्साल र गाउँपालिका अध्यक्ष जनक पुनले हस्ताक्षर गरे ।
सम्झौता अनुसार १ पुसदेखि होलेरीमा सेवा सुरु गर्ने उल्लेख छ ।
प्राथमिक स्वास्थ्य केन्द्रमा विशेषज्ञ चिकित्सकले जाँच र उपचार गर्ने सम्झौताले होलेरी र आसपासका बासिन्दाले सहज उपचार पाउने गाउँपालिका अध्यक्ष पुनले बताए ।
प्रतिक्रिया 4