१० मंसिर, काठमाडौं । नेपाल चिकित्सक संघले स्नातकोत्तर (एमडी–एमएस) तहमा अध्ययनरत आवासीय चिकित्सकहरूलाई आठौं तहका मेडिकल अफिसर सरहको निर्वाह भत्ता दिने चिकित्सा शिक्षा आयोगको निर्णयको स्वागत गरेको छ ।
आयोगले आवासीय चिकित्सकहरूलाई मासिक ४८ हजार ७ सय ३७ रुपैयाँ निर्वाह भत्ता दिने निर्णय गरेको थियो । यो रकम सरकारी सेवाको आठौं तहका मेडिकल अफिसरले पाउने रकम बराबर रहेको संघले जनाएको छ ।
संघका अनुसार पीजी अध्ययनरत चिकित्सकहरू सामान्य विद्यार्थी जस्तो नभई अस्पतालमा दिनरात काम गर्ने जनशक्ति हुन् । उनीहरूले कक्षाकोठामा मात्र नभई व्यावहारिक अभ्यासद्वारा सीप हासिल गर्ने गर्छन् ।
‘पीजी अध्ययनरत आवासीय चिकित्सकहरू कक्षामा बसेर पढ्ने सामान्य विद्यार्थी जस्तो नभई अस्पतालमा दिनरात काम गरेर अभ्यासद्वारा सीप हासिल गर्ने जनशक्ति भएकाले सो काम गरेबापत निर्वाह भत्ता मेडिकल अफिसर सरह नै हुनुपर्ने कुरामा संघको अडान छ,’ संघले सोमबार निकालेको प्रेस विज्ञप्तिमा भनिएको छ ।
हाल आवासीय चिकित्सकहरूलाई बस्नका लागि आवास सुविधा समेत नभएको अवस्थामा यस्तो निर्वाह भत्ता अत्यन्त आवश्यक रहेको संघको भनाइ छ । स्वास्थ्य जस्तो संवेदनशील क्षेत्रमा चरम तनावका बाबजुद अहोरात्र खटिने चिकित्सकलाई उचित भत्ता नदिनु ठूलो अन्याय हुने संघको ठहर छ ।
संघले यस निर्णयको तत्काल कार्यान्वयनका लागि चिकित्सा शिक्षा आयोगसँग हार्दिक अनुरोध गरेको छ । यो निर्णय लामो समयदेखि संघले गर्दै आएको मागको सम्बोधन भएको जनाइएको छ ।
 
                    










 २०८१ मंसिर  १० गते १७:३२
                        २०८१ मंसिर  १० गते १७:३२                     
                     
                     
                     
                     
                     
                 
                 
                 
                 
                 
         
                             
                             
                             
                             
                                         
                             
                                         
                             
                         
                         
                         
                         
                         
                         
     
     
     
     
     
                             
                                         
                             
                             
                             
                             
                                         
                             
                                        
प्रतिक्रिया 4