 
																			१५ माघ, काठमाडौं । नेकपा एकीकृत समाजवादीले पार्टीका मुख्य जनसंगठनहरू युवा संघ नेपाल र अनेरास्ववियूको केन्द्रीय अध्यक्षलाई हटाएको छ ।
अध्यक्ष माधवकुमार नेपालले अन्तरपार्टी निर्देशिका–४ जारी गरी युवा संघ नेपाल र अनेरास्ववियूका अध्यक्षलाई पदमुक्त गरेका हुन् ।
‘अनेरास्ववियू र युवा संघमा रहनुभएका पार्टी केन्द्रीय कमिटीका सबै सदस्य कमरेडहरूलाई अनेरास्ववियू र युवा संघको जिम्मेवारीबाट बिदा गरी भूगोलको जिम्मेवारी तोकिएको छ,’ अपानिमा भनिएको छ, ‘उहाँहरू सबैलाई तोकिएको जिम्मेवारी सम्हाल्न निर्देशित गरिन्छ । अनेरास्ववियू र युवा संघका इन्चार्ज तथा सह–इन्चार्जहरूलाई तुरुन्तै उक्त दुबै संगठनका सम्मेलनलगायत कामको योजना बनाई अगाडि बढाउन निर्देशन गरिन्छ ।’
यो अपानिसँगै युवा संघका अध्यक्ष कृष्णकुमार विश्वकर्मा र अनेरास्ववियूका अध्यक्ष आरती लामा पदमुक्त भएका छन् । पार्टी उपाध्यक्ष डा. गंगालाल तुलाधार, दुवै संगठनका अध्यक्षहरू पार्टी केन्द्रीय सदस्य भइसकेकाले नयाँ जिम्मेवारी दिनुपरेको बताउँछन् ।
‘केन्द्रीय सदस्य भइसकेका व्यक्तिलाई युवा र अनेरास्ववियूको अध्यक्ष राखिरहने कुरा भएन, त्यसैले भूगोलको जिम्मेवारी दिएर पठाइएको छ’, उनी भन्छन्, ‘उहाँहरु अब युवा र अनेरास्ववियूबाट अलग हुनुभयो, अरुले नै त्यहाँ हेर्छन् ।’
तर, अपानिबाटै पदमुक्त गर्ने निर्णयप्रति विश्वकर्मा र लामा दुवैले असन्तुष्टि जनाएका छन् । ‘नियोजित ढंगले हामी दुईजनालाई जिम्मेवारीबाट हटाइयो, अन्यायविरुद्ध लड्दै आएको हुनाले यसविरुद्ध पनि बोल्छौं’, अध्यक्षबाट पदमुक्त गरिएका विश्वकर्माले भने ।
अरु जनसंगठनको नेतृत्वलाई भेला, सम्मेलन अथवा अधिवेशन गरेर नेतृत्व हस्तान्तरण गरे पनि युवा र अनेरास्ववियूबारे अन्यायपूर्ण निर्णय गरिएको उनी बताउँछन् । ‘अरु जनसंगठनका नेतृत्वलाई अवसर दिने अनि युवा र अखिलको अध्यक्ष मात्र अपानिबाट हटाउने भन्ने कुराले न्याय भएन’, विश्वकर्मा भन्छन् ।
उनले भनेजस्तै अरु जनसंगठनलाई भने सम्मेलन गर्ने निर्देशन दिइएको छ । ‘इन्चार्ज र अध्यक्ष एउटै व्यक्ति भएका जनसंगठनका अध्यक्षहरूलाई यथाशीघ्र बैठक गरी अध्यक्षको जिम्मेवारी अर्को कमरेडलाई दिन र आफूले जिम्मा लिएको संगठनको अधिवेशन वा सम्मेलनको तयारीमा लाग्न निर्देेशित गरिन्छ’, अपानिमा भनिएको छ ।

उपाध्यक्ष तुलाधार भने नेतृत्व हस्तान्तरणको प्रक्रिया सम्मेलन वा अधिवेशन नै भए पनि पदोन्नति भइसकेका व्यक्तिहरूबारे फरक निर्णय लिइएको बताउछन् । सँगै, अहिलेको युवा र विद्यार्थीको नेतृत्व सम्मेलनबाट नआएकाले पनि सम्मेलनबाटै छोड्नुपर्छ भन्ने नरहेको उनको तर्क छ ।
‘अहिले कमिटी सम्मेलन वा अधिवेशनबाट आएको होइन, त्यसैले कुनै वैधानिक बाध्यता छैन’ तुलाधार भन्छन्, ‘यदि केन्द्रीय सदस्य नभएको भए सम्मेलन गरेर बिदा हुने वा पुननिर्वाचित हुने अवसर पाउनु हुन्थ्यो ।’
तर, अनेरास्ववियूको नेतृत्वबाट हटाइएका लामा भने सम्मेलनको अवसर नै नदिइएको बताउँछन् । ‘अनेरास्ववियूको नेतृत्वमा बसिरहने भए पार्टीको केन्द्रीय सदस्य भइँदैनथ्यो, त्यसैले विदा हुने नै हो । तर जस्तो शैलीबाट हटाइयो, यो अन्याय भयो’, लामा भन्छन् ।
युवा संघ र अनेरास्ववियूबाट अरु नेताहरू पनि हटाइएका छन् । अपानिको निर्देशनसँगै युवा संघबाट विश्वकर्मा, नितेश पौडेल, सुशील भट्टराई, फुर्वा तामाङ, अञ्जु काङमाङ, जंग थापा, अनिता लामा र पेमा लामा पनि अलग भएका छन् । उनीहरू सबै पार्टी केन्द्रीय कमिटीमा छन् ।
अनेरास्ववियूबाट लामासँगै हिरेन्द्र शाही, केसरी रेग्मी, माधव पन्त र यशु लामा अलग भएका छन् । तर, विश्वकर्मा र लामाले संगठनको नेतृत्व गरिरहेकाले अपानिबाट हटाउने शैलीमा असन्तुष्टि जनाएका छन् ।
युवा संघको नेतृत्वबाट हटाइएका विश्वकर्मालाई ग्याग्दीको इन्चार्ज र लामालाई सर्लाहीको सहइन्चार्जको जिम्मेवारी दिइएको छ । यी दुवैजना अध्यक्ष माधव नेपाल इतर समूहबाट संगठनको नेतृत्वमा पुगेका थिए ।
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .jpeg) 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4