३ फागुन, काठमाडौं । नेपाल क्यान्सर अस्पताल हरिसिद्धीले विश्व बाल क्यान्सर दिवस मनाएको छ । हरेक वर्ष फेब्रुअरी १५ मा मनाइने यो दिवस नेपाल क्यान्सर अस्पतालको आयोजनामा मनाइएको हो । हामी सबै मिलेर बाल्यकाल क्यान्सर विरुद्धको सचेतना फैलाऔँ, उपचारलाई प्रभावकारी बनाऔँ र हरेक बालबालिकालाई उज्ज्वल भविष्य प्रदान गरौँ भन्ने नाराका साथ यो दिवस मनाइयो।
कार्यक्रममा बाल क्यान्सर रोग विशेषज्ञ डा.अञ्जली पण्डितले बाल क्यान्सर दिवसको महत्त्व बारे प्रष्ट्याइन । क्यान्सरबाट प्रभावित बालबालिकाहरूको उपचार, स्याहार तथा आत्मबल वृद्धिमा यस्ता कार्यक्रमहरू उपयोगी हुने उनले बताइन् ।
‘क्यान्सर जितेका बालबालिकाले उपचारका क्रममा भोगेका अनुभव अरुलाई सुनाउदा समाजमा सकरात्मक प्रभाव पर्छ’ डा.पण्डितले भनिन्, ‘क्यान्सरसँग जुध्न सकिन्छ र स्वस्थ जीवन प्राप्त गर्न सकिन्छ ।’
बालबालिकालाई उत्साह जगाउन सांगीतिक कार्यक्रम गरिएको डा. पण्डितले बताइन्।
सरकारले सरकारी अस्पतालमा १४ वर्षमुनिका बालबालिकको क्यान्सरको निःशुल्क उपचार गर्ने निर्णय गरेपनि सबै क्यान्सरको उपचार नपाएको उनले बताइन् ।
रगतको क्यान्सर मध्ये एक्यूट लिम्फोब्लास्टिक ल्युकेमिया (एएलएल)को उपचार पाएको तर जटिल र उपचार महंगो हुने एक्युट माइलोइड ल्युकेमिया (एएमएल)को उपचार निःशुल्क नहुनु दुःखद भएको उनको गुनासो छ।
कार्यक्रममा नेपाल क्यान्सर अस्पतालकी निर्देशक स्वरुपा श्रेष्ठले बालकालिकामा क्यान्सर देखिएपछि अविभावक र बालबालिकामा हुने तनाव कम गर्न क्यान्सर विजेताको अनुभवले सकरात्मक सन्देश जाने बताइन् । साथै दैनिक जीवनमा हुने उतारचढावलाई कम गर्न पनि यसले मद्दत गर्ने उनको भनाइ छ ।
कार्यक्रममा अर्सिया सुवेदी, इसु गौतम, दृष्टि बोहरा, अवनी रेग्मी, पासांग शेर्पा, कैशा श्रेष्ठ, अमोल थापा, विवेक डाँगी, अश्ना साउद र दर्शील पाण्डे लगायत क्यान्सर विजेता बालबालिकाले सहभागिता जनाएका थिए ।
क्यान्सर जितेका बालबालिकाहरु उन्मुक्त भएर नाचेर, गाएर रमाएका थिए।
 
                    










 २०८१ फागुन  ४ गते १८:५१
                        २०८१ फागुन  ४ गते १८:५१                     
                     
                 
                 
                 
                 
                 
         
                             
                             
                             
                             
                             
                                         
                             
                         
                         
                         
                         
                         
                         
     
     
     
     
     
                             
                             
                             
                             
                            
प्रतिक्रिया 4