+

रक्सी छाडेको एक महिनामा के-के परिवर्तन हुन्छ शरीरमा ?

२०८१ फागुन  १२ गते १५:५१ २०८१ फागुन १२ गते १५:५१
रक्सी छाडेको एक महिनामा के-के परिवर्तन हुन्छ शरीरमा ?

डा.विधाननिधि पौडेल भन्छन्, ‘यदि रक्सीका कारण कलेजोको आधा भागसम्म क्षति पुगेको भए पनि समयमै रक्सी छाड्दा केही महिनामै कलेजो फेरि सुधार हुँदै स्वस्थ अवस्थामा फर्किन सक्छ।’

डा. पौडेल पेट तथा कलेजोरोग विशेषज्ञ हुन् । उनले कलेजकोका त्यस्ता अनगिन्ती रोगीको उपचार गरेका छन्, जो रक्सीको कारण खराब भएको थियो । उनी थप्छन्, ‘रक्सी पिउन छाड्नसाथ त्यसको प्रत्यक्ष प्रभाव कलेजोमा देखिन थाल्छ।’

डा. पौडेलका अनुसार रक्सीले कलेजोका कोषहरू मार्दै लान्छ । रक्सी छाड्नेबित्तिकै ती कोषहरूले मर्मत हुने समय पाउँछन् । स्वस्थ कोषहरू छिटो वृद्धि गरेर कलेजोलाई पुनः सक्षम बनाउँछ ।

रक्सी पिउनेहरू, जसले रक्सी पिउन छाडेका छन् उनीहरूको कलेजोमा कस्तो प्रभाव देखिन्छ भनी विस्तृत अध्ययन भएको थियो । बेलायतमा भएको सो अध्ययनले के देखायो भने-रक्सी छाडेको २ देखि ३ साताभित्रै कलेजोको कोषहरू पुनर्जीवित हुनथाल्छ ।

एक महिनसम्म मदिरा नपिउने हो भने कलेजोको बोसो १५ देखि २० प्रतिशतले घटेर कलेजोको कार्यसम्पादनमा सुधार ल्याउँछ ।

त्यसो त कलेजो मात्र होइन, शरीरका अन्य भागहरूमा पनि रक्सीको उत्तिकै असर देखिन्छ । फ्याटी लिभर, उच्च रक्तचाप, अनिद्रा, छटपटी जस्ता थुप्रै असर रक्सीकै कारण हुने चिकित्सकहरू बताउँछन् । यसले पाचन प्रणालीदेखि स्नायुतन्त्र सम्मलाई असर गरिरहेको हुन्छ ।

रक्सीले अन्य अंगमा कस्तो असर पार्छ ? रक्सी छाडेमा स्वास्थ्यमा के-कस्ता परिवर्तन आउन सक्छ ? हामीले अन्य विशेषज्ञसँग पनि कुरा गरेका थियौँ ।

विराट मेडिकल कलेजका मुटुरोग विशेषज्ञ डा. माधव विष्टका अनुसार रक्सीमा हुने एथानोल नामक रसायनको मात्रा शरीरमा बढी भएमा रक्तनलीलाई खुम्चाएर रक्तचाप उच्च हुनुका साथै र कोलेस्ट्रोलको स्तर बढाउँछ । एथानोल विस्तारै असिटाल्डिहाइडमा परिवर्तन भई मुटुका मांसपेशीलाई कमजोर पारेर मुटुको कार्यक्षमता घटाइदिन्छ ।

दिनहुँजसो रक्सी पिउँदै जाने हो भने मुटुमा दबाब परी हृदयघातको जोखिम बढाउने हुँदा बेलैमा मदिरा खाने बानी छोड्न उनी सुझाउँछन् ।

कलेजोको जस्तै मुटुलाई पनि रक्सी छोडेर बचाउन सकिन्छ ? भन्ने प्रश्नमा उनी भन्छन्, ‘मदिरा छाड्ने हो भने पहिलो सातामा बढेको रक्तचाप सामान्य भएर धड्कन नियमित हुन्छ। एक महिनाभित्र रक्तनलीहरू स्वस्थ र बलियो बन्दै जान्छन् । मुटु रोगको जोखिम घट्छ । कार्यक्षमतामा सुधार आउँछ।’

तर, यी कुरा सम्भव हुन नियमित व्यायाम, पर्याप्त निद्रा र स्वस्थकर खानपान पनि आवश्यक रहेको उनी बताउँछन् ।

स्नायु प्रणालीमा सुधार

स्नायु रोग विशेषज्ञ डा. राजीव झा मदिराको लत छाड्न ढिला भइसक्यो भन्ने कहिल्यै नहुने बताउँछन् ।

वीर अस्पतालका स्नायु रोग विभागीय प्रमुख समेत रहेका प्रा.डा. झा भन्छन्, ‘रक्सीले कलेजो, शरीर खाइसक्यो। अब छाडेर केही हुँदैन भन्नु गलत हो। रक्सी जुनसुकै अवस्थामा छाड्दा पनि केही न केही सकारात्मक प्रभाव देखाउँछ ।’

उनका अनुसार मदिराले दिमागको संरचना कमजोर बनाउँछ, स्मरणशक्ति घटाउँछ, र ध्यान केन्द्रित गर्ने क्षमतामा कमी ल्याउँछ । रक्सी त्यागेपछि दिमागका कोषहरू पुनर्जीवित हुन थाल्छन् ।

‘मदिराले दिमागको हरेक काममा ह्रास ल्याउछ । मदिरा छाडेमा कोषहरू मर्मत हुन पाउँछन् । कम उमेरको व्यक्ति छ भने मस्तिष्कले कोष बनाएर पुनः पहिलेकै जस्तो काम गर्न थाल्छन्, ‘उनी भन्छन् ।

क्यान्सरको जोखिम घटाउँछ 

मदिरामा हुने रसायनहरूले डीएनए र प्रोटिनलाई क्षति गरी शरीरको कुनै पनि अंगमा क्यान्सरको कोषहरू विकास गर्न सहज वातावरण बनाउने क्यान्सर विशेषज्ञ डा. समीम अख्तर बताउँछन् ।

डा. अख्तरका अनुसार मदिरा कलेजोमा गएर त्यहाँका भागहरू सुन्नाउने, कोषहरू नष्ट गरी विकारहरू उत्पन्न गराउँछ । जसले पछि गएर सिरोसिस गराई कोषलाई क्यान्सरमा परिणत गराउँछ।

यति मात्र हैन, मदिरा र चुरोट सँगै खाएमा क्यान्सरको जोखिम बढाउँछ ।

मदिराले हर्मोनको स्तरमा बाधा गरी कार्सिनोजेनस जस्ता सुर्तीजन्य तथा धुम्रपानयुक्त पदार्थलाई पनि शरीरमा अवशेषित गर्न सहज पार्ने उनको भनाइ छ । यो आफैँमा छाती, मुख र घाँटी क्यान्सरका कारक रहेको डा.अख्तरले सुनाए ।

डा.अख्तरका अनुसार यस्तोमा रक्सी छोड्दा शरीरका कोषहरू स्वस्थ हुन थाल्छन्, जसले कलेजो, छाती, मुख र घाँटी क्यान्सरको जोखिम कम गर्छ ।

छालाको चमक, राम्रो निद्रा र तौल नियन्त्रण

डा.विधाननिधिका अनुसार मदिराले शरीरमा डिहाइड्रेसन गराउँछ, जसले छालालाई सुकेको र निर्जीव देखिन सक्छ। मदिरा छाडेपछि छाला प्राकृतिक रूपमा चम्किलो देखिन थाल्छ।

उनी थप्छन्, ‘रक्सी खानेहरूको अनुहार हेर्नुभयो भने झोलिएको देखिन्छ । रक्सी छाड्ने हो भने सुख्खा हुन पाउदैन।’

तौल घटाउन चाहनेहरूका लागि पनि मदिरा छोड्नु राम्रो विकल्प हो। रक्सीमा धेरै क्यालोरी हुने भएकाले कलेजोमा जमेर तौल बढाउँछ । चटक्कै खान छोडेमा विस्तारै तौल नियन्त्रण हुँदै जाने डा. पौडेल बताउँछन् ।

मदिरा सेवनका कारण धेरै प्रकारका शारीरिक तथा मानसिक समस्याले घेर्छन्। जुन त्यागेपछि कम बिरामी पर्ने, शरीरमा ऊर्जा र सकारात्मकताको फरक स्तर अनुभव हुने विज्ञहरू बताउँछन् ।

‘रक्सीको लत : चेतना हुँदाहुँदै पनि फस्दै युवा’

प्रा.डा. झाका अनुसार रक्सीले अहिले सबैभन्दा बढी युवालाई बिगारेको छ । यसको कारण भनेको सहज उपलब्धता र अहिले रक्सी पिउन हरेक उत्सब बाहना बनेको उनी बताउँछन् । जन्मदिन होस्, विवाह समारोह, कसैको प्रमोशन, वा कुनै उत्सव-यी अवसरहरूमा रमाउन मदिरा पिउने चलन व्यापक छ।

एक गिलास, दुई गिलास हुँदै बोतल खाली हुन्छ, र यसरी नै सुरु हुन्छ मदिराको लत।रक्सी खाएपछि झगडा सक्छ। भोलिपल्ट ह्यागओभर हुन्छ-टाउको दुख्ने, दिनभरि बोझिलो महसुस हुने समस्या आउँछ। लगातार मदिरा सेवन गर्दा कलेजोमा क्षति पुग्छ, जसले क्यान्सरसम्म निम्त्याउन सक्छ।

उमेर नपुग्दै व्यक्तिलाई मृत्युको मुखमा पुर्‍याउने जान्दाजान्दै पनि युवा पुस्ता मदिरा छोड्न नसक्ने बताइरहेका हुन्छन्। मदिरा खानेहरू भन्छन्, ‘रक्सी खान नसिकेकै राम्रो। थोरै गर्दा गर्दै लत बस्न सक्छ। हानिनोक्सानी थाहा हुँदाहुँदै पनि छोड्न गाह्रो हुन्छ।

सामाजिक जीवनमा असर

मदिराले शारीरलाई मात्र होइन, सामाजिक र पारिवारिक सम्बन्धलाई पनि विगार्ने मनोविद गोपाल ढकाल बताउँछन् ।‘मदिरा सेवनपछि झगडा पर्न सक्छ, सम्बन्ध बिग्रन सक्छ, पैसाको अनावश्यक खर्च हुनसक्छ’ ढकाल भन्छन्, ‘यसले दैनिकी बिगार्छ। यो माहोलले मानसिक समस्या बढाउँछ। परिवारलाई तहसनहस पारेका कयौँ उदारहण समाजमा छन् ।’

मदिरा सेवनले आर्थिक अस्थिरता ल्याउँछ। कतिपय अवस्थामा मदिराका कारण घरेलु हिंसा, विवाह विघटन र पारिवारिक विखण्डनका घटनाहरू समेत बढिरहेका छन् । यस्तोमा थोरै-थोरै गर्दै छाड्न सकियो भने बिग्रिएको सम्बन्ध सुध्रिने मात्र होइन खस्किँदै गएको जीवनको गुणस्तर पनि सन्तुलनमा ल्याउने हुँदा रक्सी नपिउन ढकाल सुझाउँछन् ।

मदिरा रक्सी
लेखक
मनिषा थापा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय