
२० फागुन, काठमाडौं। राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले नेपाललाई सहयोग गरेको भन्दै जापानप्रति खुसी प्रकट गरेका छन् ।
मंगलबार नेपालका लागि जापानी राजदूत मायदा तोरुसँग भएको शिष्टाचार भेटमा अध्यक्ष दाहालले खुसी प्रकट गरेका हुन् ।
दाहालको सचिवालयका अनुसार नवनियुक्त राजदूत मायदा भेटका लागि सिंहदरबारस्थित अध्यक्षको कार्यकक्षमा पुगेका थिए । भेटमा दुई देशबीचको सम्बन्ध, आपसी हित र सहकार्य लगायतका विषयमा कुराकानी भएको थियो ।
भेटमा अध्यक्ष दाहालले नवनियुक्त राजदूत मायदालाई आफ्नो कार्यकक्षमा स्वागत गरे । नेपाल बसाइ सुखद, सिर्जनशील र सफल रहने विश्वास व्यक्त गरे । नेपाल–जापान सम्बन्ध निकै पुरानो र घनिष्ट रहेको चर्चा गरे । अध्यक्ष दाहालले आगामी दिनमा दुई देशबीचको सम्बन्ध थप मजबुत र प्रगाढ हुने विश्वास व्यक्त गरे । यस्तो कार्यमा राजदूत मायदाको भूमिका महत्त्वपूर्ण रहने विश्वास राखे ।
जापान सरकारको तर्फबाट नेपालले बहुपक्षीय सहायता एवं प्राविधिक सहयोग प्राप्त गरिरहेको स्मरण गरे । अध्यक्ष दाहालले पूर्वाधार विकास, कृषि, स्वास्थ्य, औद्योगिक क्षेत्र, जलविद्युत, संस्कृति तथा वातावरण संरक्षण जस्ता क्षेत्रमा जापानको सहयोगबाट नेपाल लाभान्वित भएको बताए ।
काठमाडौं–नागढुङ्गा सुरुङ मार्ग निर्माणसँगै नेपाल सुरुङ प्रविधितर्फ अघि बढेको उल्लेख गरे । अध्यक्ष दाहालले सुरुङ मार्ग लगायत अन्य सडक पूर्वाधार निर्माणमा जापानको सीप, प्रविधि र सहयोग प्राप्त भई गुणस्तरिय काम भइरहेकोमा खुसी व्यक्त गरेका हुन् ।
नेपालको संघीय संसदमा नेपाल–जापान संसदीय मैत्री समूह गठन गरिएको पनि स्मरण गरे । दाहालले संसदीय मैत्री समूहले दुई देशबीचको संसदीय सम्बन्ध, अनुभव आदान प्रदान र भ्रमण आदान प्रदान गर्न सहज हुने बताए ।
उच्च शिक्षा र जापानी भाषा अध्ययनका लागि हजारौं नेपाली विद्यार्थी जापानमा रहेको उल्लेख गरे । अध्यक्ष दाहालले अध्ययन, रोजगारी र व्यापार–व्यवसायको सिलसिलामा झण्डै २ लाख नेपालीहरु जापानमा रहेको बताए ।
भूकम्प, कोभिड महामारी लगायत अप्ठ्यारो परिस्थितिमा जापानले गरेको सहयोग स्मरणीय रहेको बताए । अध्यक्ष दाहालले नेपालको आर्थिक समृद्धि र विकासका लागि जापानी लगानीकर्ताहरुलाई आउन प्रोत्साहित गरिदिन राजदूत मायदालाई अनुरोध गरे ।
जापानी पर्यटकहरुलाई नेपाल आउन प्रेरित गरिदिन आग्रह गरे । अध्यक्ष दाहालले धार्मिक, सांस्कृतिक उद्देश्यसहित बुद्ध जन्मभूमि लुम्बिनीमा आउने जापानी पर्यटकहरुले दुई देशका जनताबीचको सम्बन्धलाई विस्तार गरिरहेको बताए ।
हाल काठमाडौं–जापान हवाइ उडान भएको उल्लेख गरे । अध्यक्ष दाहालले पोखरा र लुम्बिनीमा पनि जापानी एयरलाइन्सले सिधा उडान शुरु गर्न सके पर्यटकहरुको आवागमनमा वृद्धि विश्वास व्यक्त गरे ।
भेटमा राजदूतले मायदाले जापान–नेपाल द्विपक्षीय सम्बन्धलाई थप प्रगाढ बनाउन निरन्तर लाग्ने बताए । राजदूत तोरुले नेपाल र जापानबीच आगामी वर्ष सन् २०२६ मा कूटनीतिक सम्बन्धका ७० वर्ष पूरा हुने उल्लेख गर्दै आगामी दिनमा पनि दुई देशबीचमा सम्बन्ध झन प्रगाढ हुँदै जाने बताए ।
प्रतिक्रिया 4