२० फागुन, धनगढी । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेस र एमालेलाई फकाएर सत्तामा जाने पक्षमा नभएको दाबी गरेका छन् । मंगलबार कैलालीको टीकापुरमा थारु राष्ट्रिय मुक्ति मोर्चाको चौथो राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले आगामी निर्वाचनअघि सत्तामा नजाने दाबी गरेका हुन् ।
‘कांग्रेस र एमालेसँग सहकार्य गर्दा माओवादीलाई कहिले एमाले त कहिले कांग्रेसको रोग सर्यो । दुवै पार्टीसँगको सहकार्यमा हामीलाई लागेको रोगको उपचार गर्न तपाईंहरू समक्ष आएका छौं’, प्रचण्डले भने, ‘अब हामी विगतमा जस्तो कांग्रेस वा एमालेलाई फकाएर सरकारमा जाने पक्षमा छैनौं । जनताको विश्वास जितेर माओवादीलाई देशको एक नम्बर पार्टी बनाएर सुशासनको पक्षमा लाग्नेछौँ ।’
उनले २०८४ सम्म अहिलेको सरकार आवश्यक नभएको समेत बताएका छन् । कांग्रेस र एमालेले संविधान उल्टाउन खोजेको आरोप लगाउँदै उनले उत्पीडित वर्गको थप अधिकारका लागि माओवादी आन्दोलनमा एकाकार हुन आवश्यक रहेको उल्लेख गरेका छन् । आफूले जोखिम उठाएर नागरिक उन्मुक्ति पार्टी (नाउपा)का संरक्षक रेशम चौधरीलाई रिहा गरेको प्रचण्डले बताए ।
‘टीकापुर घटनामा मुख्य दोषी ठहर भएर जन्मकैदको सजाय काटिरहेका उहाँ (रेशम) लाई मैले पटकपटक कारागारमा भेटेको थिए । मैले नै मन्त्रिपरिषद्बाट निर्णय गराएर राष्ट्रपतिलाई भनेर उहाँलाई छुटाएको थिए,’ प्रचण्डले भने, अहिले रेशम कता छन् त्यो थाहा छैन तर ‘रेशमबाट धेरै हुन्छ भनेर सोच्नुभएका साथीहरूलाई उहाँलाई पनि ल्याएर माओवादीमा आउनुभयो भने भलो हुन्छ ।’
टीकापुर घटना थारु पहिचानका लागि भएको आन्दोलन भएको बताउँदै उनले त्यसको सम्मान गर्ने बताए । थारु समुदायले जनयुद्धमा समेत ठूलो त्याग र बलिदान गरेको उनको भनाइ थियो ।
                    
                
                
                
                
                
        
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                            
                                            
                                            
                                            
                                            
                
                
                
                
                
                
                
                
प्रतिक्रिया 4