 
																			१३ वैशाख, धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह नेतृत्वमा प्रदेश सभा सदस्यको टोली भारत भ्रमणमा जाने भएको छ । मुख्यमन्त्री शाहको नेतृत्वमा १० सदस्यीय टोली भारत भ्रमणमा जाने प्रदेश सरकारले जनाएको छ ।
शनिबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पत्रकार सम्मेलन आयोजना गर्दै मुख्यमन्त्री शाहले भारत सरकारको निमन्त्रणामा वैशाख १६ गते देखि २२ गते भारत भ्रमण जान लागेको जानकारी दिए ।
शाहले नेपालमै पहिलो पटक भारत सरकारको औपचारिक निमन्त्रणामा प्रदेश सरकारको टोली भ्रमणमा जान लागेको बताए । भारत भ्रमणका क्रममा प्रदेश सरकारले आयोजना गर्ने लगानी सम्मेलन, उर्जा, पर्यटन, कृषि क्षेत्रको विकास लगायतका विषयमा छलफल हुनेछ ।
काठमाडौँबाछ हवाई मार्ग भएर दिल्ली जाने टोलीले भारतको दिल्ली, देहरादुन, अयोध्या र लखनउ लगायतका ठाउँको भ्रमण गर्नेछ । दोस्रो दिन दिल्लीमा संघीय मन्त्रीसँगको भेटघाट, विवेकानन्द अन्तराष्ट्रिय फाउण्डेसन संघसँग अन्तरक्रिया रहेको छ ।
यस्तै भारतमा रहदा भारतीय कृषि अनुसन्धान संस्थाको अवलोकन भ्रमण, अयोध्याको धार्मिक पर्यटकीय क्षेत्रको भ्रमण, देहरादुनका कृषि क्षेत्र सहित पर्यटकीय क्षेत्रको भ्रमण, उत्तरखण्डका मुख्यमन्त्री र कृषि मन्त्रीसँग समेत भेट गर्ने कार्यसूची रहेको प्रदेश सरकारले जनाएको छ ।
मुख्यमन्त्री नेतृत्वको भ्रमण टोलीमा प्रदेशका भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्री वीरबहादुर थापा, नागरिक उन्मुक्ति पार्टीका संसदीय दलका नेता घनश्याम चौधरी, नेकपा (एकीकृत समाजवादी) पार्टीका प्रमुख सचेतक नरेशकुमार शाही, नेकपा (माओवादी केन्द्र) का प्रदेश सभा सदस्य झपटबहादुर साउँद, नीति तथा योजना आयोगका सदस्य शेरबहादुर भण्डारी, प्रदेशका मुख्य सचिव डा. कमलप्रसाद पोखरेल, भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिव सुरतकुमार बम, मुख्यमन्त्रीका राजनीतिक सल्लाहकार डा. जितु उपाध्याय र स्वकीय सचिव रामबहादुर विष्ट भ्रमण सहभागी हुनेछन् ।
भ्रमण सकेर टोली लखनउबाट स्थलमार्ग हुँदै कैलाली फर्किनेछ ।
 
                









 
             
                             
                        
                     
                             
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4