+
+
Shares

अक्षय तृतीया : शुभ र पुण्यदायी तिथि

पण्डित नारायणप्रसाद दुलाल पण्डित नारायणप्रसाद दुलाल
२०८२ वैशाख १७ गते १३:१५

हरेक वर्ष आजकै दिन अर्थात् वैशाख शुक्ल तृतीयाको दिन जौको सातु र सर्वत खाएर अनि बाँडेर अक्षय तृतीया मनाउने गरिन्छ । पौराणिक ग्रन्थहरू स्कन्द पुराण, भविष्य पुराण, विष्णु पुराण आदिमा अक्षय तृतीयाको महिमा र शास्त्रीय प्रमाण रहेको पाइन्छ । वैदिक पञ्चाङ्ग तथा धर्मशास्त्रहरूमा पनि यसको महत्त्व स्पष्ट गरिएको छ ।

शास्त्रअनुसार वैशाख महिनालाई विष्णु भगवानको महिना मानिन्छ र यो महिना लक्ष्मी नारायणको उपासना र भक्तिका लागि शुभ हुन्छ, त्यसमा पनि अक्षय तृतीयका दिन विशेष छ । आजकै दिन शिव पार्वतीको विवाह पनि भएको थियो । ज्योतिषशास्त्र अनुसार आज सूर्य तथा चन्द्रमा आफ्ना उच्च राशिमा रहन्छन् त्यसैले पञ्चाङ्ग नहेरीकन पनि आजकै दिन सम्पूर्ण शुभकार्य गर्ने गरिन्छ ।

अक्षय तृतीयाको आरम्भ सृष्टिको प्रारम्भ कालमै भएको मानिन्छ । हिन्दु धर्मशास्त्रअनुसार यस दिन कतिपय महत्त्वपूर्ण पौराणिक घटनाहरू घटित भएका थिए, जसले यसलाई अक्षय (अर्थात् नाश नहुने) पुण्य दिने तिथि बनायो ।

आज जसले दान गर्दछ, सानो होस् वा ठूलो, त्यो सबै अक्षय (कहिल्यै नास नहुने) हुन्छ; त्यसैले यो तिथि ‘अक्षय’ भनेर चिनिन्छ ।

यत्किञ्चिद्दीयते दानं स्वल्पं वा यदि वा बहु ।
तत्सर्वमक्षयं यस्मात्तेनेयामक्षया स्मृता ।।

भविष्य पुराणमा उल्लेख छ कि वैशाख शुक्ल तृतीयाको दिन कुनै पनि शुभ कार्य, दान, स्नान, जप वा तप गरिएमा त्यसको फल कहिल्यै नष्ट हुँदैन (अक्षय रहन्छ), त्यसैले यो ‘अक्षय तृतीया’ भनेर चिनिन्छ ।

“वैशाख शुक्ल तृतीयायां दानं स्नानं जपस्तथा ।
अक्षयं स्यादिति प्रोक्तं तेनैषा अक्षयास्मृता ॥

वैशाख शुक्ल तृतीयाको दिन जुनसुकै देव कार्य होस् वा पितृ कार्य गरिन्छ भने त्यो अक्षय (नाशरहित) हुन्छ । विशेष गरेर पितृ तर्पण (पूर्वजहरूको श्राद्ध वा जलदान)को लागि पनि यो दिन अमूल्य हुन्छ ।

वैशाखशुक्लतृतीयायां यत्किञ्चित् क्रियतॆ शुभम् ।
तत्सर्वमक्षयं ज्ञेयं विशेषात् पितृतर्पणम् ॥

स्कन्द पुराण अनुसार वैशाख शुक्ल तृतीयाको दिन गङ्गा आदि स्नान जसले गर्दछ त्यसको पुण्यले जन्मजन्मान्तरका पापहरू क्षय हुनेछ ।

तृतीयायां वैशाखस्य शुक्लपक्षे विशेषतः ।
गङ्गास्नानं तु कर्तव्यं यथा शक्त्या नरैः सदा ॥

पद्म पुराणमा बताइएको छ कि जब वैशाख महिनाको शुक्ल पक्षको तृतीया तिथि पर्छ, त्यो दिन भगवान् विष्णुलाई पूजा गर्दा अक्षय पुण्य मिल्दछ ।

यदा तु तृतीया वैशाखे शुक्लपक्षे भवेद्दिने ।
तदा सम्पूज्य देवेशं अक्षयत्वं प्रयच्छति ॥

महाभारतको उद्योग पर्वमा श्रीकृष्णले युधिष्ठिरलाई यस दिनको महत्त्व यसरी वर्णन गर्नुभएको छ-वैशाख शुक्ल तृतीयामा जुनसुकै पनि दान, तप, जप आदि गरिएमा त्यसको फल अक्षय (नाशरहित) हुन्छ।

अक्षय्यं फलं आप्नोति तृतीयायां विशेषतः ।
यद् दत्तं यत् तपस्तप्तं यज्जप्तं च भवेत्प्रिये ॥

समग्रमा भन्नुपर्दा यी प्रमाणहरूले यो देखाउँछ, सनातन वैदिक धर्ममा अक्षय तृतीया एउटा अत्यन्त शुभ र पुण्यदायी तिथि हो भनेर भन्न सकिन्छ । आज विवाह, गृहप्रवेश, पदभार ग्रहण, सुन खरीद, नयाँ सामान खरीद, सवारी साधन खरीद, भूमि पूजा तथा नयाँ व्यापारका लागि यस दिन अति उत्तम हुने विश्वास गरिन्छ, त्यसैले आज गरेको स्नान, दान, तप, पूजा र शुभ कार्य सहित पितृ कर्मलाई विशेष महत्तवका साथ हेर्ने गरिन्छ । अस्तु ।।

लेखक
पण्डित नारायणप्रसाद दुलाल

दुलाल ज्योतिषाचार्य र वास्तुविद्  हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?