
१८ वैशाख, काठमाडौं । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष डा. बाबुराम भट्टराईले प्रमुख तीन दलका शीर्ष नेताप्रति लक्षित गर्दै श्री ३ हरूभन्दा श्री ५ नै ठिक हो कि भने जस्तो भ्रम मान्छेमा पर्न गएको बताएका छन् ।
बिहीबार जनसंगठन नेपाल समाजवादी ट्रेड युनियन महासंघले काठमाडौंको असनमा आयोजना गरेको कार्यक्रममा उनले यस्तो बताएका हुन् ।
‘राजनीतिक दलका नेताहरूलाई खास गरी अहिले श्री ३ हरू भन्ने गरिन्छ । उनीहरूले पालैपालो तीन वर्षदेखि सत्तामा बसेर मोजमस्ती गरिराखेका छन् । उनीहरू नवराजा जस्तो बनेका छन् । त्यसले जनतामा अलि वितृष्णा आएर कतै फेरि यी श्री ३ हरूभन्दा श्री ५ नै ठिक हो कि भने जस्तो मान्छेलाई पर्न गएको छ । तर होइन। श्री ३ त ठिक होइनन्, श्री ५ त झन् ठिक हुँदै होइनन्,’ उनले भने ।
केही मान्छेहरूलाई झुटा सपना देखाउने, चुनाव जित्ने अनि सत्तामा गएर जनताले तिरेको करमाथि लुट मचाउनेलाई राजनीति भन्ने गरिएको उनको भनाइ छ ।
‘श्री ५ का बाउबाजेले राज गरेर यो देशलाई कंगाल पारेका होइनन् ? अनि तिनले आफ्नै कारणले गर्दा वंशनाश भएर सिद्धिने, अनि तिनलाई ल्याउने कुरा हुँदैन । समस्या भनेको हाम्रा अहिलेका श्री ३ हरूमा हो,’ उनले भने ।
अहिलेका राजनीतिक दलका नेताहरूले पार्टीलाई खाली राज्य सत्ताको दोहन गर्ने माध्यम बनाएको उनको आरोप छ ।
सत्तामा रहँदा भ्रष्टाचार गर्ने, कमिसन लिने, विभिन्न प्रोजेक्ट र बिचौलियाबाट अर्बौं सम्पत्ति लिने, अनि चुनावको बेलामा खर्च गरेर सत्तामा जाने प्रवृत्ति खासगरी १०/१५ वर्ष यता चलेको भट्टराईले बताए । दलका नेताहरूको यही प्रवृत्तिका कारणा जनतामा वितृष्णा पैदा भएको उनको तर्क छ ।
हिजोका राजा महाराजा ठिक नभएको भन्दै उनले अहिले चुनिएर आएका ठूला भन्ने पार्टीका टाउके नेताहरूले पनि पुरानै ढंगले जनतामाथि विश्वासघात गरेको उनले बताए ।
राजनीतिलाई नै बदनाम गरेर राज्य सत्ताको दोहन गर्ने प्रवृत्तिलाई नै राज्य राजनीति भन्ने कुराको अन्त्य हुनुपर्ने उनले बताए ।
प्रतिक्रिया 4