
१८ वैशाख, काठमाडौं । एक महिलाले पेस्तोल पड्काउँदै नाचेको भिडिओ बुधबार सामाजिक सञ्जालमा भाइरल भयो । १२ सेकेन्डको उक्त भिडिओमा तीन महिला र तीन पुरुष घरको आँगनमा नाचेको देखिन्छ ।
भिडिओमा एक महिलाले आकाशतर्फ ताक्दै एक राउन्ड ‘हवाई फायर’ गरेजस्तो देखिन्छ । पेस्तोलबाट धुवाँसमेत आउँछ । त्यसपछि उक्त पेस्तोल महिलाले युवकलाई दिन्छिन् ।
पेस्ताल पड्काउँदै नाचेको भिडिओ भाइरल भएपछि प्रहरीले अनुसन्धान अघि बढायो । अनुसन्धानका क्रममा पेस्तोल पड्काउँदै नाच्ने महिला जनता समाजवादी पार्टी (जसपा) नेपालकी केन्द्रीय नेता डा. बबी सिंह यादव रहेको खुल्यो ।
नेतृ यादव सप्तरीको बोदे बरसाइन नगरपालिका–५ की बासिन्दा भएको थाहा भएपछि विशेषगरी जिल्ला प्रहरी कार्यालय सप्तरीले घटनाबारे अनुसन्धान अघि बढायो । पेस्तोलबाट धुवाँसमेत आएको देखेपछि प्रहरीले गम्भीर रूपमा लिएको थियो ।
यता, प्रहरीले अनुसन्धान अघि बढाएपछि नेतृ यादवले सामाजिक सञ्जाल फेसबुकमा प्रष्टीकरण दिँदै लेखिन्, ‘घटना भारत सीतामढीस्थित मामाको छोरीको बिहेको हो । पेस्तोल रेन्जर टोय नामको खेलौना हो ।’
तर, उनको यो प्रष्टीकरणले प्रहरी अनुसन्धान रोकिएन । सप्तरी प्रहरीका एसपी ढकेन्द्र खतिवडाले उनलाई कार्यालयमा बोलाउँदै अनुसन्धान अघि बढाए । अनुसन्धानको क्रममा नेतृ यादवले भनेजस्तो घटना भारतको नरहेको खुल्यो ।

घटना सर्लाहीको मलंगवा नगरपालिका–५ भाँड्चौरमा भएको जानकारी पाएपछि सर्लाही प्रहरीलाई घटनाबारे जानकारी गराएर सप्तरी प्रहरीले पेस्तोल नियन्त्रणमा लिएको छ ।
नेतृ यादवकै बयानका आधारमा मलंगवा नगरपालिका–२ अन्जनी कुमारको घर खानतलासी गर्दा पेस्तोल बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका डीएसपी सरोज राईले अनलाइनखबरलाई बताए ।
डीएसपी राईका अनुसार ११ वैशाखमा वसन्त कुमारकी छोरी कोमल सुप्रियाको हल्दी मेहन्दी कार्यक्रममा मलंगवा–५ स्थित घरमा नेतृ यादवले पेस्तोल पड्काएकी हुन् । उनको १२ वैशाखमा भारत सीतामढीका युवकसँग विवाह हुने तयारी थियो । सोही कार्यक्रममा यादवले पेस्तोल पड्काएको प्रहरीको भनाइ छ ।
बरामद पेस्तोल भने बारुद मात्रै पड्किने किसिमको रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । पेस्तोलको फेरेन्सिक परीक्षणका लागि प्रहरीकै केन्द्रीय विधि विज्ञान प्रयोगशालामा पठाउन लागिएको उनले बताए । पेस्तोल पड्काउँदै नाच्ने नेतृ यादव जसपा राष्ट्रिय सभा सदस्य मृगेन्द्रसिंह यादवकी छोरी हुन् ।
बरामद पेस्तोल सक्कली होस् वा नक्कली, हतियार प्रदर्शनको मोह भने नेतृ यादवमा देखिएको प्रहरीको बुझाइ छ । यस्तो प्रदर्शनले समाज अशान्त बन्ने र आममानिसमा त्रास उत्पन्न हुने भन्दै सप्तरी प्रहरीले उनलाई सम्झाएको छ ।
विवाह समारोहमा बन्दुक पड्काएर उत्सव मनाउनुलाई प्रतिष्ठासँग जोडेर हेर्ने गरिएकाले यो घटना पनि त्यस्तै प्रकृतिको हुनसक्ने नेपाल प्रहरीका पूर्वआईजी सर्वेन्द्र खनालको बुझाइ छ ।
‘यदि हतियार लाइसेन्सवाला हो भने पनि सार्वजनिक रूपमा यसरी अनुमतिबिना पड्काउन मिल्दैन । बारुद मात्रै पड्किने नक्कली रहेछ भने पनि समाजलाई त्रसित बनाउन सक्छ,’ खनाल भन्छन् ।
०००
यादव सार्वजनिक रूपमा हतियार प्रदर्शन मोह देखाउने एक्ली नेता भने होइनन् । यसअघि जनमत पार्टीका नेताहरूले पनि हतियार प्रदर्शन गरेका थिए ।
जनमत पार्टीका केन्द्रीय उपाध्यक्ष अब्दुल खान र रौतहट जिल्ला इञ्चार्ज शेष जमसेदले ३ फागुनमा रौतहटको गौरमा हतियार प्रदर्शन गरेका थिए । उनीहरू गौर नगरपालिकाको सबगढास्थित जमसेदको घर पुगेका थिए । भेटका क्रममा उनीहरूले दुई जना व्यक्तिलाई बन्दुक भिर्न लगाएर आफूहरू सोफामा बसेका थिए ।

उनीहरूले दायाँ–बायाँ दुईजनालाई हतियार बोकाएर सँगै हिँडाएका थिए । जिल्ला इञ्चार्ज जमसेदले हतियार प्रदर्शनको फोटो/भिडिओ समेत सामाजिक सञ्जाल फेसबुकबाट सार्वजनिक गरेका थिए । यसमा उनीहरूको हतियारको रवाफ र मोह प्रष्टै देखिन्थ्यो ।
खुलेआम हतियार प्रदर्शन गरेको भिडिओ भाइरल बनेपछि कारबाहीमा पर्नसक्ने डरले जमसेदले हटाएका थिए । यो घटनामा प्रहरीले उनीहरूलाई कुनै कारबाही गरेन । सामान्य सोधपुछ गरेर छाड्यो । रौतहट प्रहरीका डीएसपी दीपकुमार रायले त्यतिबेला प्रदर्शन गरिएको हतियार लाइसेन्सप्राप्त रहेको भन्दै उनीहरूलाई सामान्य सोधपुछ गरेर छाडेका थिए ।
तर, लाइसेन्सप्राप्त हतियार नै भए पनि त्यसरी सार्वजनिक रूपमा प्रदर्शन गर्दै समाजलाई आतंकित पार्न पाइँदैन । यसो गरेमा कानुनी कारबाही हुनुका साथै हतियार जफत गर्दै लाइसेन्स समेत खारेज हुनसक्ने व्यवस्था छ । तर उनीहरूको हकमा यो कुनै कारबाही प्रक्रिया अघि बढाइएन ।
०००
फागुन २०७८ मा जाजरकोटको कुशे गाउँपालिकाका अध्यक्ष हरिचन्द्र बस्नेत हतियारसहित गाउँ डुलेका थिए । कुशे–६ घरंगामा बन्दुक बोकेका उनका सहयोगीको तस्वीर सार्वजनिक भएको थियो । सामाजिक सञ्जालमा सार्वजनिक भएको तस्वीरमा एक युवक बन्दुक बोकेर मोटरसाइकल चढेका थिए ।
उक्त बन्दुक ती व्यक्तिको नभएर बस्नेतको थियो । यो विषय उनले स्वीकार्दै बन्दुक बोक्ने व्यक्ति आफ्नो साथी भएको बताएका थिए । बन्दुक बोकेर मोटरसाइकलमा गाउँ डुलेको तस्वीर सार्वजनिक भएपछि प्रहरीले अनुन्धान अघि बढाएको थियो । तर लाइसेन्सवाला बन्दुक रहेको भन्दै कुनै कारबाही अघि बढाइएन ।

नेपाल प्रहरीका पूर्वडीआईजी हेमन्त मल्ल लाइसेन्स लिएर हतियार राख्नेमध्ये केहीमा भने रवाफ देखाउनु मात्रै कारण रहेको बताउँछन् । ‘केहीले आवश्यक भएरै लाइसेन्स लिएर हतियार राखेको होला । तर केही यस्ता घटना छन्, समाजमा आफ्नो प्रतिष्ठा र रवाफ देखाउन लाइसेन्स लिएर हतियार राख्ने र दुरुपयोग हुने गरेको देखिन्छ,’ मल्लले अनलाइनखबरसँग भने ।
समाजका अगुवा तथा जनप्रतिनिधिले नै समाजलाई आतंकित पार्नेगरी बन्दुक प्रदर्शन गर्ने गरेको देखिन्छ । तर उनीहरू कोही पनि कारबाहीको दायरामा आएका छन् । जबकि, सर्वसाधारणलाई भने पेस्तोल स्वरूपको लाइटरदेखि तरबार-खुकुरी प्रदर्शन गर्दासमेत पक्राउ परेर मुद्दा चलाइएका उदाहरण छन् ।
०००
पेस्तोल स्वरूपको लाइटर प्रदर्शन गर्दा पक्राउ गरेका तीनजनामध्ये दुईजना अहिले पनि कपिलवस्तु प्रहरीको हिरासतमै छन् । ७ वैशाखमा कपिलवस्तुको शुद्धोधन गाउँपालिका–६ महादेवा निवासी २१ वर्षीय रघुविन्द यादव टिकटक अकाउन्टबाट ‘पेस्तोल’ हतियार प्रदर्शन गरेको आरोपमा पक्राउ परेका थिए ।
अनुसन्धानका क्रममा उक्त वस्तु पेस्तोल नभई पेस्तोल स्वरूपको लाइटर रहेको खुलेको थियो । तर यति हुँदा पनि उनीविरुद्ध प्रहरीले मुद्दा चलायो । समाजमा शान्ति सुव्यवस्थामा खलल पुर्याएको भन्दै जिल्ला प्रशासन कार्यालय कपिलवस्तुबाट म्याद लिएर अनुसन्धान अघि बढाइयो । अहिले भने उनी एक हजार धरौटीमा रिहा भइसकेका छन् ।
यो केसमा उक्त पेस्तोल स्वरूपको लाइटर ल्याएको, फोटो खिचेको र टिकटकमा सार्वजनिक गरेको भन्दै थप दुईजना पक्राउ परे । पक्राउ परेका शुद्धोधन गाउँपालिका–३ असैरनाका २१ वर्षीय दुर्गेश यादव र सोही गाउँपालिका–४ का २५ वर्षीय अनिलकुमार कहार अहिले पनि प्रहरी हिरासतमै छन् ।
११ वैशाखमा पक्राउ परेका उनीहरूविरुद्ध जिल्ला प्रशासन कार्यालयबाट ७ दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको छ । पेस्तोल आकारको लाइटर भए पनि त्यसले समाजमा अशान्ति फैलाएको भन्दै अनुसन्धान भइरहेको कपिलवस्तुका एसपी निरन्जनदत्त भट्ट बताउँछन् ।
तर, उच्च पदस्थ व्यक्ति जोडिएका घटनामा खुल्लमखुला हतियार प्रदर्शन भए पनि प्रशासनबाट उनीहरूले उन्मुक्ति पाइरहेका छन् । यसअघि गत २३ माघमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले तरबारले केक काट्दै समाजमा अशान्ति फैलाएको आरोपमा ७ जनालाई पक्राउ गरेको थियो ।

खुकुरी, तरबार लगायतका घरेलु हतियारले केट काटेर सामाजिक सञ्जालमा भिडिओ पोस्ट गर्दै समाजमा आतंक सिर्जना गरेको आरोपमा उनीहरू पक्राउ गरेर अनुसन्धान अघि बढाइएको थियो । पछि सबैजना छुटेका थिए । तर अहिले तरबार र पेस्तोल आकारको लाइटर नभएर बन्दुक र बारुद पड्किने पेस्तोल प्रदर्शन गर्नेलाई समेत उन्मुक्ति दिइएको छ ।
पूर्वआईजीपी खनाल कानुनविपरीत हतियार प्रदर्शन गर्ने जो कोही भए पनि कानुनी दायरामा आउनुपर्ने बताउँछन् । ‘लाइसेन्सवाला हतियार नै भए पनि सार्वजनिक रूपमा प्रदर्शन गर्न मिल्दैन । यसले समाजलाई आतंकित पार्छ । यस्ता गलत कार्यलाई रोक्न राज्यले एउटा सन्देश दिन जरुरी छ,’ खनालले अनलाइनखबरसँग भने ।
प्रतिक्रिया 4