२१ वैशाख, काठमाडौं । संघीय अस्पतालको सेवा तथा शुल्कमा एकरुपता ल्याउन भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एकीकृत विधेयक ल्याउने तयारी गरेको छ ।
मन्त्री पौडेलले अघि बढाएको एकीकृत अस्पताल सञ्चालन तथा व्यवस्थापन गर्ने सम्बन्धी विधेयक तर्जुमाका लागि गत बुधबार बसेको मन्त्रिपरिषद बैठकले सैद्धान्तिक सहमति दिएको छ ।
अस्पतालपिच्छे रहेका विकास समितिमा भएका सेवा शुल्ककको भिन्नता, खर्चमा देखिएको अपारदर्शिता तथा कर्मचारीको नियुक्ति तथा स्थायी प्रक्रियामा एकरुपता ल्याउने गरी ऐन बनाउन लागिएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।
हाल संघीय अस्पतालहरूमा भएका बेग्ला-बेग्लै समिति अस्तित्वमा हुँदा एकै खालका संघीय अस्पतालहरूमा फरक नियम हुने र फरक सेवा शुल्क लिने गरिएको छ ।
यसलाई कम गर्नका लागि अब ऐनमार्फत एकीकृत रुपमा सेवा तथा नीतिगत व्यवस्था हुने गरी व्यवस्था गर्ने तयारी अघि बढाइएको छ । अस्पतालहरूका आन्तरिक आम्दानीको खर्चको प्रवृत्तिसमेत एकै खालको नभएकाले यसलाई समेत नयाँ विधेयकमा समेट्ने तयारी मन्त्री पौडेलको छ । कतिपय अवस्थामा बढिरहेको प्रशासनिक खर्चसमेत कम गर्ने लक्ष्य मन्त्रालयले लिएको छ ।
मन्त्रिपरिषदबाट सैद्धान्तिक स्वीकृतिपछि अब नयाँ विधेयकको तर्जुमा प्रक्रिया अघि बढ्ने मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले जानकारी दिए ।
अब विज्ञहरूको परामर्श लिएर मस्यौदा तयार गरिने बुढाथोकीले बताए ।
प्रतिक्रिया 4