+
+
Shares

डेढ वर्षदेखि निकुञ्जमा सुरक्षित छन् गैँडा

खाल्डोमा हालेर दुई गैँडा मारिएपछि फेरियो सुरक्षा रणनीति

निकुञ्ज सुरक्षालाई थप प्रभावकारी बनाउन रियल टाइम स्मार्ट फोन, सिसी क्यामरालगायत ड्रोन क्यामरा तथा टावरमा जडित लामो दूरीका क्यामरा जडान गरिएको छ ।

सुवास पण्डित सुवास पण्डित
२०८२ वैशाख २२ गते ८:००

३० कात्तिक २०८० मा चितवन राष्ट्रिय निकुञ्जको पूर्वी सेक्टरअन्तर्गत चपरचुली क्षेत्रमा तस्करले खाडलमा हालेर दुईवटा गैँडा मारेको घटना सार्वजनिक भयो । ६ र १८ वर्षका पोथी गैँडा नेपाली सेनाको सुरक्षा चेकपोष्टबाट २.३ किलोमिटर पर खाडलमा हालेर मारिएका थिए ।

सबैतिर तिहारको दीपावली चलिरहको थियो । अनकन्टार जंगलमा बसेर तस्करले बनाएको योजनाबाट सुरक्षाकर्मीसमेत अनभिज्ञ रहे । घटनालगत्तै सरकारले छानबिन समिति बनायो । वन तथा वातावरण मन्त्रालयले १ मंसिरमा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका उपमहानिर्देशक वेदकुमार ढकालको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति बनाएको थियो ।

समितिले काम गरिरहेका बेला ९ र ११ मंसिरमा तस्कर समूहका ८ जना पक्राउ परे । उनीहरूलाई नेपाल प्रहरीको सीआईबी, नेपाली सेना र निकुञ्ज प्रशासनको टोलीले विभिन्न स्थानबाट पक्राउ गरेको थियो ।

उनीहरूले दिएको बयानबाट सुरक्षा अधिकारीहरू मात्र होइनन्, छानबिन समितिका सदस्य पनि चकित परे । किनभने, तस्कर समूहले निकै व्यवस्थित र योजनाबद्ध रुपमा घटना गराएको थियो ।

१२ मंसिरमा घटनासम्बन्धी छानबिन प्रतिवेदन सार्वजनिक गर्दै समितिले निकुञ्जको सुरक्षा प्रबन्धमाथि गम्भीर प्रश्न उठायो ।

प्रतिवेदनले उठाएका गम्भीर प्रश्न

प्रतिवेदन अनुसार २० दिनभन्दा बढी समय जंगलमै बसेर तस्कर समूहले गैँडा हिड्ने ७ वटा खाडल बनाएको थियो । ती सातमध्ये २ वटामा गैँडा परेका थिए । खाडलमा परेपछि पनि सानो गैँडा नमरेपछि गोली हानिएको थियो ।

प्रतिवेदनका अनुसार तस्करहरूले पानीको घोलनजिकै गैँडा आउने बाटो, आनीबानी र समयको समेत रेकी गरेर खाडल खनेका थिए । खाल्डो नजिकै अग्लो अस्थायी मचान बनाएर गैँडाको अवस्था बुझेका थिए ।

गैँडा तस्करीमा संलग्न रहेको आरोपमा पक्राउ परेकाहरु ।

छानबिन प्रतिवेदनमा चोरीसिकारी नियन्त्रण गर्न नयाँ सोच ल्याउनुपर्नेमा सुरक्षानिकायले परम्परागत शैली मात्र अपनाएको, संवेदनशील क्षेत्रमा तालिका बनाएर लङ रेन्ज पेट्रोल र स्वीपिङ कमी भएको, सुराकी व्यवस्थापन, सूचना संकलन र विगतमा अदालतबाट भएका फैसला अनुसार जेल सजाय भुक्तान गरी बाहिर निस्केका व्यक्तिको निगरानी नभएकोजस्ता विषय उल्लेख छन् ।

एकैपटक दुईवटा गैँडा मारिँदा निकुञ्जको सुरक्षाको जिम्मा नेपाली सेनाको खड्क दलले लिएको थियो । निकुञ्जको कोर क्षेत्रमा र सुरक्षा निकायकै नजिकमा घटना हुँदा चुक भएको भन्दै निकुञ्ज र सेनाले सुरक्षा रणनीति बदल्यो ।

बदलियो सुरक्षा रणनीति

२०८१ लागेसँगै निकुञ्जको सुरक्षाको जिम्मा गोरख गणलाई दिइयो । सरकारले निकुञ्जका प्रमुख संरक्षण अधिकृतसमेत फेर्‍यो । त्यसयता निकञ्ज क्षेत्रमा चौँडा चोरी रोकिएको छ ।

निकुञ्ज भन्छ, २० कात्र्तिक २०८० को घटनापछि निकुञ्जमा कुनै पनि गैँडा चोरीसिकारीको कारण मारिएका छैनन् ।’ निकुञ्ज प्रशासनले गैँडा चोरीसिकारी शून्य भएको डेढ वर्ष पुगेको जनाएको छ ।

निकुञ्जका प्रमुख संरक्षण अधिकृत डा. गणेश पन्तले मध्यवर्ती क्षेत्रमा गैँडा तस्करहरू परास्त भइसकेको भन्दै निकुञ्ज तथा नेपाली सेनाले टोलीले अथक मेहनत लगाएर काम गरिरहेको बताए ।

निकुञ्जका सूचना अधिकारी अविनास थापामगरका अनुसार चालु आर्थिक वर्षको चैतसम्म निकुञ्ज तथा मध्यवर्ती क्षेत्रमा २४ वटा गैँडा मरेका छन् । तर ती सबै प्राकृतिक कारणले ।

निकुञ्जका अनुसार प्राकृतिक कारण भन्नाले बाघ तथा गोहीको आक्रमणमा परेर, एक–आपसमा जुधेर, बिरामी भएर, दलदलमा फसेर, बुढो भएर, भाले गैँडाले आक्रमण गरेर मरेकोलाई बुझाउँछ ।

संवेदनशील क्षेत्रमा विशेष निगरानी

निकुञ्जका सूचना अधिकारी थापाले अहिले निकुञ्जको सुरक्षा रणनीतिमा परिवर्तन गर्नुका साथै संवेदनशील क्षेत्रमा विषेश निगरानी राखिएको बताए । उनले निकुञ्ज तथा मध्यवर्ती क्षेत्र आसपास बसोबास गर्ने जनतालाई सचेत गराउन विभिन्न जागरणका कार्यक्रम पनि सञ्चालन गरिएको बताए ।

मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष प्रकाश ढुंगानाले समुदायले संरक्षणमा साथ दिँदै आउँदा चोरीसिकारीका घटना न्यून हुँदै गएको बताए । उनले वन्यजन्तुको चोरीसिकारीका नियन्त्रणमा समुदायको भूमिका पनि निकै महत्वपूर्ण भएको बताए । निकुञ्जले विस. २०६८, २०७० र २६ चैत, २०७३ यता पनि गैँडाको चोरीसिकारी शून्य वर्ष मनाएको थियो ।

नेपाली सेनाका प्रवक्ता गौरवकुमार केसीले निकुञ्जको सुरक्षाका लागि जस्तोसुकै कठिन र अभावपूर्ण परिस्थिति भए पनि सेना निरन्तर लागिरहेको बताए । उनले दुर्लभ वन्यजन्तु देशको सम्पत्ति भएको भन्दै सरकारले तोकिदिएको जिम्मेवारी सेनाले हरहालतमा पूरा गर्ने बताए । उनले निकुञ्ज तथा आरक्षमा सेनाका लागि स्रोत साधानको कमी भए पनि अधिकतम आउटपुट दिने हिसावले नै काम गरिरहेको बताए ।

नेपाली सेनाले अहिले संरक्षणमा अप्रेसन संरक्षण ११ चलाइरहेको छ । सेनाका प्रवक्ता गौरवकुमार केसीले हिमाल, पहाड र तराईमा सुरक्षा चुनौतीहरूको आकंलन गरी फरक फरक ढंगले काम संरक्षणमा काम गरिरहेको बताए । थ्रेट एनालाइसिस गरेर सुरक्षा रणनीति बनाउने र सोही अनुसार सेना परिचालन गरिएको प्रवक्ता केसी बताउँछन् ।

नियमित गस्तीमा सेना

चितवन राष्ट्रिय निकुञ्जको सुरक्षार्थ खटिएको नेपाली सेनाको नयाँ गोरख गणका गणपति शिवराम बस्न्यातले गैँडासहितका कुनै पनि जीवजनावरलाई तस्करहरूले नमारोस् भनेर सेनाले नियमित गस्ती तथा सर्च अभियान चलाइरहेको बताए ।

विगतमा निकुञ्जको पूर्वी सेक्टरमा दुई गैँडा खाडलमा पारेर मारिएको घटनाबाट शिक्षा लिँदै सेनाले निकुञ्ज प्रशासनसँग मिलेर प्राप्त सूचनाहरूको विश्लेषण गरेर विषेश रणनीति तयार गरेको जानकारी दिए ।

पर्सा, चितवन, मकवानपुर, नवलपुरसम्म फैलिएको निकुञ्जको सुरक्षाका लागि नेपाली सेना संलग्न ५३ वटा पोष्ट छन् । एउटा पोष्टमा १० देखि १२ जनासम्म सैनिकहरूले सुरक्षा दिइरहेका छन् । निकुञ्जको बढी सम्वेदनशील र तस्करहरूले धावा बोल्न सक्ने ठाँउहरूको पहिचान गरेर ३ वटा एफओवी (फिल्ड अप्रेशन वेस) खटाइएको छ । त्यसमा सैनिकको संख्या पोष्टमा भन्दा बढी हुने गरेको गणपति बस्न्यातले बताए ।

जसमध्ये अमलटारी, मेघौली, सौराहा प्यारीधारलगायतका स्थानमा ६० वटा प्रशासनिक तथा अपरेसन पोस्ट स्थापना गरी दैनिक करिब नौ सय सैनिकलाई गस्तीमा खटाइएको छ ।

संयुक्त अपरेशन कक्ष

निकुञ्ज प्रशासन र सेनाबीच प्रभावकारी सूचना आदान–प्रदानका लागि संयुक्त अपरेशन कक्ष स्थापना गरी सूचना तथा खबरको आदानप्रदान गरिएको छ । निकुञ्जको सुरक्षाका लागि डुंगा, पैदल, साइकल, मोटरसाइकल, जीप र हात्तीमा गस्ती गरेको सेनाले जनाएको छ ।

विगतमा विभिन्न वन्यजन्तु मार्ने अभियोगमा पक्राउ परी अदालतबाट सजाय पाएर कारागारबाट छुटेका विभिन्न व्यक्तिहरूको रेकर्ड राखेर उनीहरूको निरन्तर निगरानी गरिरहेको निकुञ्ज सुरक्षार्थ खटिएको नयाँ गोरख गणका गणपति बस्न्यातले बताए ।

शून्य चोरीसिकारी वर्षलाई कायम राख्ने चुनौती भए पनि न्यूनीकरणलाई मुख्य प्राथमिकतामा राखिएको गणपति बस्न्यातले बताए ।

गणपति बस्न्यातले पछिल्लो एक वर्षमा जम्मा ८४ हजार ६०६ पेट्रोलमार्फत तीन लाख ५२ हजार ८० जना सैनिकले १० लाख ९६ हजार ९५२ किमी गस्ती गरेको जनाए ।

निकुञ्ज सुरक्षालाई थप प्रभावकारी बनाउन रियल टाइम स्मार्ट फोन, सिसी क्यामरालगायत ड्रोन क्यामरा तथा टावरमा जडित लामो दूरीका क्यामरा जडान गरिएको छ । निकुञ्ज भ्रमण गर्ने पर्यटकका सवारीको निगरानी गर्न भीटीआरएस जडान गरिएको सेनाले जनाएको छ । हाल दैनिक २१५ भन्दा बढी गस्ती हुने गरेको छ ।

कहिले कति मारे तस्करले गैँडा ?

निकुञ्जका सूचना अधिकारी थापाका अनुसार अघिल्लो आर्थिक वर्ष २०८०/०८१ मा २१ गैँडा मरेका थिए । तीमध्ये १८ वटा प्राकृतिक कारणले र २ वटा खाडलमा पारेर चोरीसिकारी र एक गैँडाको मृत्युको कारण खुल्न सकेको थिएन ।

आर्थिक वर्ष ०७९/८० मा चितवन राष्ट्रिय निकुञ्जमा २२ वटा गैँडा मरेका थिए । जसमध्ये २० वटा कालगतिले, एउटा विद्युतीय करेन्टबाट र एउटा चोरीसिकारीले मारेका थिए ।

निकुञ्जले यसअघि पनि गैँडाको चोरीसिकारी शून्य वर्ष मनाएको थियो । तर, बेलाबखतमा तस्करहरूले गैँडा मारेर यो अभियानलाई निरन्तरता दिन चुनौती थप्दै आएका छन् ।

माओवादी द्वन्द्वको समयमा नेपाली सेनाका पोष्टहरू घटाइँदा तस्करहरूले एकै वर्षमा ३८ वटासम्म गैँडा तस्करले मारेको तथ्यांक छ । २०७० सालपछि गैँडा चोरीसिकारी करिब–करिब नियन्त्रणमा आएको थियो ।

आर्थिक वर्ष २०७५/०७६ मा ४३ गैँडा प्राकृतिक कारणले मरेको तथ्यांक सार्वजनिक भएपछि गैँडा तस्करले मार्ने तर निकुञ्ज प्राकृतिक कारणले भनेर बसेको हो की भन्ने आशंका पैदा भयो ।

निकुञ्जका अनुसार आर्थिक वर्ष २०७२/०७३ देखि २०७६/०७७ सम्म करिब ५ वर्षको अवधिमा तस्करले एउटा मात्र गैँडा मात्रै मारेको देखिन्छ । तर, आर्थिक वर्ष २०७७/७८ देखि तस्करहरू सल्बलाउन थालेको र उनीहरूले हरेक वर्ष गैँडा मार्न थाले ।

आर्थिक वर्ष २०७७/७८ मा ४, आर्थिक वर्ष २०७८/०७९ मा २, आर्थिक वर्ष २०७९/८० मा २ र आर्थिक वर्ष २०८०/०८१ मा २ वटा गैँडा तस्करले मारिसकेका छन् । चपरचुलीमा मारिएका दुई गैँडासहित जोड्दा समग्रमा पछिल्लो ४ आर्थिक वर्षमा मात्रै ११ वटा गैँडा चोरीसिकारीले मारेका थिए ।

गैँडा दुर्लभ वन्यजन्तु भएकाले यसलाई मारेमा वा यसको अंगको कारोबार गरेमा १० लाख रुपैयाँसम्म जरिवाना र १५ वर्षसम्म कैद हुने कानुनी व्यवस्था छ ।

सन् २०२१ मा गरिएको गणनामा नेपालमा दुर्लभ एक सिङ्गे गैँडा ७५२ रहेको तथ्यांक सार्वजनिक भएको थियो । चितवन राष्ट्रिय निकुञ्जमा मात्रै ६९४, बर्दियामा ३८, शुक्लाफाँटामा १८ र पर्सामा तीन गैँडा रहेको तथ्यांक सन् २०२१ मा सार्वजनिक भएको थियो । त्यसयता गैँडा गणना भएको छैन ।

लेखक
सुवास पण्डित

पण्डित अनलाइनखबर डटकमका चितवन संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?