
२२ वैशाख, काठमाडौं । चितवनको भरतपुर अस्पतालमा मुटु रोगको उपचार सुविधा सुरु भएको छ । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले क्याथ ल्याबको उद्घाटन गर्दै मुटु उपचार सेवाको सोमबार सुरुवात गरेका हुन् ।
उक्त अवसरमा मन्त्री पौडेलले प्रदेशस्तरमै नागरिकले सेवा पाउन् भनेर विशिष्ट उपचार विस्तार गरिएको बताए । भरतपुर अस्पतालमा स्थापित क्याथ ल्याबले नागरिकलाई सहज उपचार दिने विश्वास मन्त्री पौडेलले गरेका छन् । ‘विशिष्ट उपचार क्रमैसँग प्रदेशमा विस्तार गर्ने योजना अघि बढेको छ,’ उनले भने ।
अस्पतालमा निर्मित जलन वार्डको समेत मन्त्री पौडेलले उद्घाटन गरे । अब भरतपुर अस्पतालमा जलनका बिरामीको समेत उपचार हुने भएको छ ।
मन्त्री पौडेलले विपन्नलाई जलन उपचार निःशुल्क बनाउँदै प्रदेशस्तरमा सेवा दिने घोषणा गरेका थिए । सोहीअनुसार आइतबार भेरी अस्पतालमा सेवा शुरु भएको छ भने सोमबार भरतपुरमा समेत वार्ड सुरुवात गरिएको हो ।
अब जलनका बिरामीको अस्पतालमा उपचार सहज हुने भएको छ । यसअघि गम्भीर जलनका बिरामीले काठमाडौं पुग्नुपर्ने बाध्यता थियो । अब भरतपुर तथा आसपासका पायक पर्ने ठाउँका बिरामीलाई त्यो समस्या हटेको छ ।
यससँगै संघ सरकारअन्र्तगतको भरतपुर अस्पतालमा सन्तानविहीनका लागि इनफर्टिलिटी क्लिनकसहितका आठ सेवा सुरु भएको छ । वैशाख महिनामा सेवा थाल्ने तालिकाअनुसार अस्पतालमा सेवा सुरुवात भएको अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा. कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
प्रतिक्रिया 4