
News Summary
Generated by OK AI. Editorially reviewed.- भुटनदेवी माध्यमिक विद्यालयले प्राविधिक र व्यावसायिक शिक्षा प्रवर्द्धन गरी विद्यार्थी संख्या र शैक्षिक स्तर सुधार गरेको छ, र यसले जिल्लामा उत्कृष्ट नतिजा ल्याएको छ।
- दुई विद्यालयको एकीकरण गरी \'मेघा विद्यालय\' बनाउने योजना अघि बढिरहेको छ, जसले प्रशासनिक खर्च कम गर्न र गुणस्तरीय शिक्षा प्रवाह गर्न मद्दत गर्ने अपेक्षा गरिएको छ।
सामुदायिक विद्यालयलाई पहिले पनि सजिलो थिएन, तर यो देश हाँक्ने धेरै मस्तिष्क तिनैले उत्तीर्ण गरेर पठाए । आधुनिक नेपालको जग सामुदायिक स्कूलमै खनिएको थियो भन्न सकिन्छ ।
तर यस बीचमा स्थिति यसरी बदलियो कि अभिभावकहरू आफ्ना बच्चालाई हत्तपत्त सरकारी विद्यालयमा पढाउन मन गर्दैनन् । यस्तो लाग्छ, सामुदायिक विद्यालयप्रति अभिभावकको विश्वास धर्मराएको छ । अझ सरकारी विद्यालयको कमजोर नतिजाप्रति प्रधानमन्त्रीले सार्वजनिक मञ्चबाट टिप्पणी गरिरहेको सुनिन्छ ।
यस वर्ष त सरकारले नै नीति तथा कार्यक्रममै सामुदायिक शिक्षा सुधार्न निजी विद्यालयसँग साझेदारी गर्ने घोषणा गर्यो । संविधान बनेको ९ वर्ष भइसक्यो तर शिक्षा ऐन नै अहिलेसम्म बनिसकेको छैन ।
यावत् प्रतिकूलताका बाबजुद देशमा केही यस्ता विद्यालय पनि छन् जसले हजारौं विद्यार्थी पढाइरहेका र उत्कृष्ट नतिजा पनि दिइरहेका छन् । यो त्यस्ता केही उदाहरणीय सरकारी विद्यालयको स्टोरी सेरिज हो, जहाँ हामी कम्तीमा सातै प्रदेशबाट केही नमूना सरकारी स्कूलको रिपोर्टिङ गर्नेछौं । – सम्पादक
हेटौंडा । भुटनदेवी माध्यमिक विद्यालय हेटौंडा उपमहानगरपालिकाको मुख्य बजार क्षेत्रमा अवस्थित छ । मकवानपुरको शैक्षिक इतिहाससँग जोडिएको यो प्राविधिक शिक्षालयलाई अधिकांशले हाईस्कूलको नामले चिन्छन् । २०१६ सालमा स्थापित यो मावि मकवानपुरको पुरानो सदरमुकाम भीमफेदीस्थित भाषा पाठशालाको रूपमा स्थापित विद्यालय (हाल महेन्द्र मावि) पछिको दोस्रो विद्यालय हो ।
सुरुवातदेखि नै उत्कृष्ट शैक्षिक संस्थाको रूपमा रहेको भुटानदेवी मावि २०६० को दशकमा भने संकटापन्न अवस्थामा पुग्यो । दुई जना मन्त्री र केही सांसद समेत जन्माएको यो मावि विद्यार्थी संख्या घट्दै गएर संकटमा परेको विद्यालयका प्रधानाध्यापक माधवप्रसाद दाहाल बताउँछन् ।

२०४७ सालदेखि भुटनदेवी माविमा अध्यापन गर्दै आएका दाहालले जब २०६७ देखि प्रधानाध्यापकको नेतृत्व सम्हाले, त्यसयता विद्यालयले पुरानै लय समातेको छ । ‘२०६२ सालपछि विद्यालयको अवस्था बिग्रियो । विद्यार्थी संख्या घट्दै गएर सञ्चालनमै कठिनाइ भयो’ दाहालले भने, ‘विद्यार्थी संख्या ५०० मा झर्यो । म नेतृत्वमा आएपछि प्राविधिक धारको शिक्षा सुरु गर्यौं ।’
विद्यालयमा अप्ठेरो परिस्थिति आउनुको प्रमुख कारण, खस्किएको शिक्षाको गुणस्तर र व्यवस्थापकीय कमजोरी रहेको प्रधानाध्यापक दाहाल बताउँछन् । ‘विद्यालयलाई प्राविधिक धारमा लगेर गुणस्तर वृद्धिमा जोड दिएपछि भुटनदेवीले पछाडि फर्किएर हेर्नु परेको छैन’, उनले भने । विद्यालयमा हरेक वर्ष विद्यार्थी थपिंदै २०८१ सम्म आइपुग्दा थामिनसक्नुभएको उनले बताए ।
२०७५ मा १ हजार २१ विद्यार्थी रहेको भुटनदेवी माविमा २०७७ मा १ हजार ३३८, २०७९ मा १ हजार ७२५ र २०८० सालमा २ हजार २६८ विद्यार्थी पुगे । शैक्षिक सत्र २०८१ मा आइपुग्दा यस विद्यालयमा कुल २ हजार ४५९ जना विद्यार्थी पुगे । ‘विद्यार्थी हरेक वर्ष बढिरहेका छन्, यही भौतिक संरचनाले आगामी वर्षदेखि पढाउनै समस्या हुन्छ’, हेटौंडा उपमहानगरपालिका–४ का वडाध्यक्ष समेत रहेका विद्यालय व्यवस्थापन समिति अध्यक्ष नवीन सिग्देल भन्छन् ।
साधारण, प्राविधिक धार, अंग्रेजी तथा नेपाली माध्यमका कक्षाहरूले यस विद्यालयलाई विद्यार्थीको रोजाइमा राखेको सिग्देल बताउँछन् । भौतिक पूर्वाधार अभावले प्रत्येक वर्ष भर्ना हुन चाहने करिब १४०० विद्यार्थीमध्ये धेरैलाई समेट्न नसकिएको सिग्देलले सुनाए ।
भुटनदेवीमा तराईका सर्लाहीदेखि बारा, पर्सा र रौतहटसम्मका विद्यार्थी अध्ययनरत छन् । बाहिरबाट आएका विद्यार्थीले कोठा भाडामा लिएर पढ्ने गरेको विद्यालयले जनाएको छ ।
जिल्लाकै अग्रणी सामुदायिक विद्यालयको पहिचान बनाएको भुटनदेवी मावि हेटौंडा उपमहानगरको मुख्य बजार क्षेत्र अर्थात् ४ नम्बर वडामा रहेको छ । विभिन्न कालखण्डमा भुटनदेवी माविले नेपालकै सामुदायिक शिक्षालाई महत्वपूर्ण योगदान गरेको थियो ।
भुटनदेवीले यतिबेला इन्जिनियर उत्पादन गरिरहेको छ । विद्यालयले २०७० सालबाट जिल्लामै पहिलो पटक कक्षा ९–१२ मा प्राविधिक धारतर्फ सिभिल इन्जिनियरिङ विषयको पढाइ शुरु गरेको हो । यसअघि ९ र १० कक्षामा इन्जिनियरिङ विषय पढेपछि यसलाई निरन्तरता दिन विद्यार्थीलाई बाहिर जानुपर्ने बाध्यता थियो ।
विद्यालयले २०७६ सालदेखि व्यावसायिक सीप विकास तालिम केन्द्र (सीटीईभीटी) अन्तर्गत तीन वर्षे डिप्लोमा इन सिभिल इन्जिनियरिङ विषयको पढाइ पनि शुरू गर्यो । अहिले सीटीईभीटी मार्फत प्रि–डिप्लोमा अन्तर्गत बिल्डिङ कन्स्ट्रक्सनको पनि अध्यापन भइरहेको छ ।
यसबाहेक यहाँ २०८० सालदेखि इनसियोर परियोजना अन्तर्गत २४ महिने औद्योगिक प्रशिक्षार्थी कार्यक्रम सञ्चालन भएको विद्यालयका प्रधानाध्यापक दाहालले जानकारी दिए । विद्यालयले २०८१ बाट २४ महिने बालविकास सहजकर्ता प्रशिक्षक तयारी कार्यक्रम पनि सञ्चालनमा ल्याएको छ ।
सिभिल इन्जिनियरिङ विषयको अध्यापनबाट १२ वर्षको अवधिमा ३६३ जना विद्यार्थी जनशक्ति (सव–इन्जिनियर) उत्पादन भएको प्रधानाध्यापक दाहाल बताउँछन् ।
विद्यालयले हरेक वर्ष ४८ जनाको सिट संख्यामा सिभिल इन्जिनियरिङ विषय पढाउँदै आइरहेको हो । जसमध्ये कतिपय विद्यार्थी सरकारी सेवामा प्रवेश गरे भने कतिपयले आफ्नै कन्सल्टेन्सी खोलेर वा निजी कम्पनीमा काम गरिरहेको उनले बताए । १० जना विद्यार्थीले प्रदेश र स्थानीय तहमा स्थायी नियुक्ति लिएको उनको भनाइ छ । विद्यालयले उत्पादन गरेका जनशक्ति हेटौंडा उपमहानगरमा सव–इन्जिनियरका रूपमा कार्यरत छन् ।
हेटौंडा उपमहानगरपालिकामा प्रतिमा आचार्य र सुजल मिश्र स्थायी जागिरे भएका छन् । बकैया गाउँपालिकामा रितिका अर्याल छिन् । आभाष पौडेलले विद्यालयकै सामुन्ने आफ्नै कन्सल्टेन्सी सञ्चालन गरेका छन् । थाहा नगरपालिका घर भएका कौशल नेगीले पढाइ सकेपछि हेटौंडा उपमहानगरमा करारमा जागिर खाइरहेको विद्यालयको प्राविधिक शिक्षालय शाखाले जानकारी दिएको छ । पहिलो ब्याचका दुई जना अबिन्द्र थापा र गुञ्जिता दाहालले विद्यालयमै सहप्रशिक्षकको रूपमा पढाउँदै आएका छन् ।
उपमहानगरकी प्राविधिक आचार्यले भुटनदेवीकै कारण सरकारी सेवामा प्राविधिकतर्फबाट प्रवेश पाएकोमा खुशी देखिइन् । ‘प्राविधिक विषय पढ्ने मेरो रुचि नै थियो । तर भुटनदेवीमा नै पढ्न पाएकाले मेरो रुचिले सफलता पायो । घरमै बसेर पढ्न पाएँ । लोकसेवामा पनि सजिलै नाम निस्कियो’, आचार्यले सुनाइन् ।

हेटौंडा उपमहानगरकी प्रमुख मीनाकुमारी लामाले भुटनदेवी स्कूल उपमहानगरकै शान रहेको बताइन् । ‘त्यहाँ उत्पादन भएका जनशक्तिबाट उपमहानगरलाई ठूलो सहयोग पनि भएको छ । दक्ष प्राविधिकहरू हामीले पाएका छौं’, लामा भन्छिन् । प्राविधिक विषय अध्ययन गरिरहेका विद्यार्थीलाई उपमहानगरले प्रत्यक्ष/अप्रत्यक्ष सहयोग पुर्याइरहेको उनले बताइन् । विद्यालयको समग्र विकास र विद्यार्थीको अभिवृद्धिमा उपमहानगरले हातेमालो गरिरहेको उनको भनाइ छ ।
भुटनदेवीले २०७१ सालदेखि अंग्रेजी माध्यमबाट कक्षा १ देखि १० सम्म पठनपाठन गर्दै आएको छ । कक्षा ४ देखि कक्षा १० सम्म कम्प्युटर विषयको पढाइ हुने गरेको छ ।
भुटनदेवी विद्यालय २०१६ सालमा प्राथमिक तहको विद्यालयको रूपमा स्थापना भएको थियो । प्रारम्भमा निम्नमाध्यमिक हुँदै माध्यमिक तहमा उक्लिएको यस विद्यालयले २०२२ सालदेखि एसएलसी परीक्षा सञ्चालन गरेको थियो । भुटनदेवीले जिल्लाको शैक्षिक उत्थानमा महत्वपूर्ण भूमिका खेल्दै आएको पूर्व स्वास्थ्यमन्त्री विरोध खतिवडा बताउँछन् । यसै विद्यालयका पूर्वविद्यार्थी समेत रहेका खतिवडाले भुटनदेवीमा पढ्न मकवानपुरका मात्र नभई बाहिरी जिल्लाका विद्यार्थी पनि आकर्षित हुने गरेको पुराना दिन सम्झिए ।
भुटनदेवीमा अध्ययन गरेका कमल थापा र खतिवडा मन्त्री बने । दीपकबहादुर सिंह हाल प्रतिनिधिसभा सदस्य छन् । पूर्वसांसद समेत रहेका गणेश थापा पनि भुटनदेवीका पूर्वविद्यार्थी थिए
‘सुरुवातमा भुटनदेवीको पढाइ अब्बल थियो । बीचमा विविध कारणले विद्यालयको स्तर खस्कियो । १५ वर्षदेखि पुनः विद्यालयको शैक्षिक गुणस्तर उकासिंदै आएको छ’ खतिवडाले भने, ‘अहिले प्राविधिक जनशक्ति उत्पादन भइरहेका छन् ।’ थप प्राविधिक धारका कार्यक्रमहरू कार्यान्वयन गर्दै जानुपर्ने खतिवडाको सुझाव छ ।
शैक्षिक नतिजाको हिसाबले पनि भुटनदेवी मावि अग्रपंक्तिमा पर्छ । २०७९ र २०८० सालमा कक्षा ८ को नगरस्तरीय परीक्षामा जीपीए ४ ल्याउँदै नगरमै उत्कृष्ट बन्न सफल भएको सहप्रधानाध्यापक वेदराज कोइरालाले बताए । २०८१ को कक्षा ८ को नगरस्तरीय परीक्षामा ४ जनाले जीपीए ४ ल्याएका थिए । ४ जीपीए ल्याउने सामुदायिक विद्यालयमा भुटनदेवी नगरको एक मात्र उत्कृष्ट सामुदायिक विद्यालय बन्यो ।
यो विद्यालय २०८० सालको एसईई परीक्षामा ७४.५४ प्रतिशत विद्यार्थी उत्तीर्ण गराउँदै जिल्लामै प्रथम बन्न सफल भएको थियो । कक्षा १२ मा समेत साधारण र प्राविधिक दुवै धारमा उत्कृष्ट नतिजा आएको कोइरालाले बताए ।
प्रशस्त सम्पत्ति, राम्रो आयस्रोत

विद्यालयको सम्पत्ति प्रशस्तै छ । विद्यालयको जग्गा कुल ८.५ बिघामा रहेको छ । विद्यालयका ९ वटा भवनमा ६१ वटा कोठा छन् । तीमध्ये ४० वटा कोठामा कक्षा सञ्चालन हुँदै आएको छ । प्रशस्त खेलमैदान सहितको यो विद्यालयले आफ्नै आन्तरिक स्रोत परिचालन गरी ७३ वटा सटर निर्माण गरी आम्दानीको स्रोत बनाएको छ । यसबाट प्राप्त आम्दानी विद्यालय निजी स्रोतका शिक्षकको तलब, भौतिक संरचना र शैक्षिक सामग्रीमा खर्च गरिंदै आएको लेखाप्रमुख बालकृष्ण दाहालले जानकारी दिए ।
विद्यालयको आन्तरिक स्रोतबाट वार्षिक आम्दानी ३ करोड २४ लाख ५ हजार रुपैयाँ रहेको विद्यालयले जनाएको छ । बहालबाट मात्रै वार्षिक ७७ लाख ६८ हजार रुपैयाँ संकलन हुने लेखा प्रमुख दाहालले बताए ।
विद्यालयमा नेपाल सरकारको दरबन्दीमा ३७ जना र विद्यालयको आन्तरिक स्रोतमा ३६ जना गरी कुल ७३ जना शिक्षक–कर्मचारी कार्यरत छन् । विद्यालय स्रोतबाट नियुक्त कर्मचारीमा योग्यता, दक्षता र पारदर्शितालाई उच्च प्राथमिकता दिइने गरेकाले शैक्षिक गुणस्तर सुधारमा प्रत्यक्ष प्रभाव पारेको सहायक प्रअ कोइराला बताउँछन् ।
शैक्षिक वर्षको सुरुवातमा शिक्षकहरूलाई पाठ्यक्रम, आइटम लेखन, मूल्याङ्कन, आईसीटी, शिक्षण विधि तथा शैक्षिक सामग्री निर्माण सम्बन्धी तालिम, कार्यशाला र सेमिनारमा सहभागी गराइँदै आएको उनले जनाए । विद्यालयमा शिक्षक र कर्मचारीको टीओआर बनाएर कार्यान्वयनमा ल्याइएको छ ।
हरेक तहमा प्रतिवेदन तयार पार्ने र समीक्षा मार्फत सुधारात्मक कदम चाल्ने व्यवस्था लागू गरिएको सहायक प्रधानाध्यापक कोइरालाले बताए । कक्षाका वर्ग शिक्षकले तहगत संयोजकलाई, संयोजकले सहायक प्रधानाध्यापक र सहायक प्रधानाध्यापकले प्रधानाध्यापकलाई हरेक महिनाको प्रतिवेदन पेश गर्नुपर्ने नियम छ । प्रतिवेदनमाथि थप आवश्यक कामकारबाही अगाडि बढाइने गरिएको कोइराला बताउँछन् । भुटनदेवी माविले पढाइ भन्दा पनि व्यवहारमा परिवर्तन ल्याउने शिक्षामा विश्वास राखेको उनले सुनाए ।
शिक्षक आन्दोलनको नेतृत्वकर्ता विद्यालय
भुटनदेवी मावि २०३६ सालको पहिलो शिक्षक आन्दोलनको आधार केन्द्र थियो । भुटनदेवीबाट शुरू भएको शिक्षक आन्दोलनकै कारण शिक्षकले पाइरहेको तलब, ग्रेड, सञ्चयकोष, निवृत्तिभरण लगायत सुविधा सम्भव भएको यहाँका पूर्वविद्यार्थी पूर्वमन्त्री खतिवडा बताउँछन् ।
शिक्षकले तीर्थस्थलको रूपमा लिने गरेको भुटनदेवीबाट आन्दोलन शुरू हुँदा समितिका अध्यक्ष बद्रीप्रसाद खतिवडा, उपाध्यक्ष खगेन्द्र संग्रौला लगायत रहेको खतिवडाले स्मरण गरे । बद्रीप्रसाद खतिवडा तत्कालीन प्रधानाध्यापक थिए ।
देशभरका शिक्षकको पहिलो भेला यहाँ भएपछि आन्दोलनले गति लिएको थियो । ‘भुटनदेवीको भेलापछि २२ जिल्लामा भेला भएर आन्दोलन अगाडि बढेको थियो’, पूर्वमन्त्री खतिवडाले सम्झिए ।
खगेन्द्र संग्रौलाले दुई हप्ता अगाडि एक लेख मार्फत २०३६ सालमा शिक्षक आन्दोलनमा होमिंदै गर्दाको स्मरण गरेका छन् । ‘आन्दोलनको शुभारम्भ भेला हेटौंडामा भयो । निकटवर्ती जिल्लाका शिक्षकहरूको सानो भेला थियो त्यो । भेलामा मकवानपुरका प्रतिनिधि अग्रणी सूत्रधार बद्रीप्रसाद खतिवडा थिए । भक्तपुर र ललितपुरका प्रतिनिधि थिए– श्यामकृष्ण खमू र सुशीलचन्द्र अमात्य । पाल्पाका प्रतिनिधि यशपाल शाक्य थिए । र, म थिएँ छिमेकी चितवनको प्रतिनिधि’, उनले लेखेका छन् ।
भुटनदेवीमा अध्ययन गरेका कमल थापा र खतिवडा मन्त्री बने । दीपकबहादुर सिंह हाल प्रतिनिधिसभा सदस्य छन् । पूर्वसांसद समेत रहेका गणेश थापा पनि भुटनदेवीका पूर्वविद्यार्थी थिए ।
मेघा विद्यालयको अवधारणामा अग्रणी भूमिका
हेटौंडाका दुई पुराना र ठूला सामुदायिक विद्यालयलाई एकीकृत (मर्ज) गरी सञ्चालन गर्ने गृहकार्य अघि बढिसकेको छ । मेघा विद्यालय बनाउने योजनाको नेतृत्व गरेको भुटनदेवीले सँगै जोडिएको आधुनिक राष्ट्रिय माविलाई साथमा लिएर प्रक्रिया अगाडि बढाएको हो । दुवै विद्यालयले गत पुस २०८१ म हेटौंडा उपमहानगरसमक्ष एकीकरणका लागि लिखित प्रस्ताव गरिसकेका छन् ।
यी दुवै विद्यालय हेटौंडाको ४ नम्बर वडामा सँगै जोडिएका छन् । बजारको मध्यभागमा रहेका दुवै विद्यालयलाई एउटा पर्खालले मात्रै छेकेको छ । यी दुई विद्यालयसँगै सामुदायिक शैक्षिक संस्था हेटौंडा क्याम्पस छ । वडाध्यक्ष सिग्देलले दुई विद्यालय एकीकृत गरी ‘मेघा विद्यालय’ बनाउने अवधारणा अगाडि बढाइएको बताए । उनी भुटनदेवी मावि व्यवस्थापन समितिका अध्यक्ष समेत हुन् ।
दुवै विद्यालय एकीकृत गर्दा ५ हजार विद्यार्थी हुनेछन् । आधुनिक राष्ट्रिय मावि पनि उत्कृष्ट नतिजा ल्याउने सामुदायिक विद्यालयमध्ये एक हो । दुई वा दुईभन्दा बढी विद्यालय एकीकृत गरी मेघा विद्यालय सञ्चालन गर्दा प्रशासनिक खर्च कम हुने, गुणस्तरीय शिक्षा दिन सकिने, सामुदायिक विद्यालयप्रतिको विश्वसनीयता बढ्ने, हेटौंडालाई शैक्षिक हबको रूपमा विकास गर्न सकिने वडाध्यक्ष सिग्देल बताउँछन् ।
प्रतिक्रिया 4