हाम्रो छालामा देखिने साना–गाढा खालका दाग वा उठेका धब्बाहरूलाई सामान्यतया कोठी भनिन्छ, जसलाई चिकित्सकीय भाषामा नेभस भनिन्छ ।
अधिकांश कोठीहरू जन्मजात वा बाल्यकालमा देखिन्छन् र यी सामान्यतया हानिरहित हुन्छन् । तर सबै कोठी सुरक्षित हुन्छन् भन्ने होइन । कतिपय अवस्थामा कोठीहरू गम्भीर छालाको क्यान्सरमा परिणत हुन सक्छन् ।
छालामा सानो कालो कोठी जस्तो देखिन्छ तर सामान्य खालको कोठी जस्तो पनि छैन ? वा एक साल अघि सम्म त्यो त्यहाँ थिएन अहिले अचानक आयो ? वा अघिल्लो १–२ सालमा हल्का बढ्दै गएको छ ? त्यो क्यान्सर पनि हुन सक्छ र भित्र भित्रै नदेखिने गरी छालाको धेरै भाग ओगटी सकेको पनि हुन सक्छ ।
कोठी कहिले चिन्ताजनक हुन्छ ?
सामान्य कोठीहरू प्राय: गोलो वा बाटुलो, छेउहरू स्पष्ट, एकरूप रङ्ग भएको, स्थिर आकार र बनावटका हुन्छन् । तर, निम्न विशेषता भएका कोठी असामान्य मानिन्छन् :
असिमिट्री (असमान) : कोठीको एक भाग अर्को भागभन्दा फरक देखिनु ।
बोडर (किनारा) : कोठीको किनारा अस्पष्ट, फाटिएको वा अनियमित हुनु ।
कलर (रङ्ग) : एउटै कोठीमा विभिन्न रङ्गहरू जस्तो खैरो, कालो, नीलो, रातो देखिनु ।
डाइमिटर (व्यास) : ६ मिमि भन्दा ठुलो व्यासको कोठी लगभग पेन्सिलको टुप्पोभन्दा ठुलो ।
इभल्विङ (परिवर्तनशील) : कोठीको आकार, रङ्ग, उचाइ, सतह परिवर्तन हुँदै जानु वा अचानक चिलाउनु, रगत आउनु वा दुख्नु । यी मध्ये कुनै एक वा धेरै लक्षण देखिएमा तत्काल छाला रोग विशेषज्ञसँग सम्पर्क गर्नु आवश्यक हुन्छ ।
कोठीबाट हुने मेलानोमा क्यान्सर के हो ?
मेलानोमा सबैभन्दा खतरनाक प्रकारको छाला क्यान्सर हो, जुन छिटो शरीरको अन्य अंगमा फैलिन सक्छ । प्रारम्भिक अवस्थामा नै चिनेर उपचार गरेमा पूरै निको पार्न सकिन्छ । नेपालमा अझै पनि मेलानोमाको बारेमा जनचेतना कम भएकाले धेरै बिरामी ढिला गरी अस्पताल पुग्ने गरेका छन् ।
उपचार के हुन्छ ?
यदि कुनै कोठी ‘मोल’ असामान्य देखिन्छ भने चिकित्सकले छाला परीक्षण गरेर आवश्यक भएमा ‘बायोप्सी’ (छालाको टुक्रा) लिएर प्रयोगशालामा परीक्षण गर्न सक्छन् । मेलानोमा पुष्टि भएमा शल्यक्रिया गरेर हटाइन्छ र अवस्था अनुसार थप उपचार जस्तै कि केमोथेरापी वा इम्युनोथेरापी पनि दिन सकिन्छ ।
जोखिमबाट बच्न के गर्नु उपयुक्त ?
शरीरको कोठीहरू नियमित रूपमा आफैँ निरीक्षण गर्नुपर्छ । कोठीको फोटो खिचेर समयअनुसार तुलना गर्नु उपयोगी हुन्छ ।
अत्यधिक घाममा बस्दा छालालाई ढाक्नुपर्छ वा सनस्क्रिनको प्रयोग गरेर सुरक्षा दिनुपर्छ ।
कोठीमा अचानक परिवर्तन देखिएमा तुरुन्त विशेषज्ञसँग सल्लाह लिनुपर्छ ।
सामान्यजस्तै देखिने कोठी कहिलेकाहीँ खतरनाक क्यान्सरको संकेत पनि हुन सक्छ । त्यसैले कुनै पनि असामान्य परिवर्तन देखिएमा सामान्य होला भनेर लापरबाही गर्नु हुँदैन । तुरुन्तै छाला रोग विशेषज्ञलाई भेट्नु पर्छ । समयमै सल्लाह लिइयो भने पछि निम्तिन सक्ने जोखिमबाट बच्न सकिन्छ ।
प्रतिक्रिया 4