+
+
Shares

स्पार्क कारको कन्सर्टमा झुम्यो रुम्जाटार

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख ३० गते १७:५६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • रुम्जाटारमा आयोजित स्पार्क एड्भेञ्चर कन्सर्टले हजारौं दर्शकलाई आकर्षित गर्यो र विभिन्न कलाकारहरूको प्रस्तुति मार्फत सांगीतिक र सांस्कृतिक एकता र समर्पणको सन्देश प्रवाह गर्यो।
  • कन्सर्टमा नेपाली कलाकारहरूले आफ्नो कला र संस्कृति प्रवर्द्धन गर्दै राष्ट्रिय पहिचानलाई बलियो बनाउने प्रयास गरे र दर्शकहरूको उत्साह र उमंगले माहोललाई रमाइलो बनायो।
  • कार्यक्रमले रुम्जाटारको पर्यटकीय र धार्मिक महत्वलाई प्रवर्द्धन गर्दै स्थानलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा चिनाउने अवसर प्रदान गर्यो।

रुम्जाटार (ओखलढुंगा) । दिन ढल्दै गर्दा गायक विमलराज क्षेत्रीले गीतमार्फत रुम्जाटारको फूटबल मैदानमा हजारौँ दर्शक जम्मा गरिसकेका थिए । दिनभरीको उखरमाउलो गर्मीले असिनपसिन दर्शकहरू क्षेत्रीको गीत ‘सुपारी चाम्रो म त के राम्रो छु र होइ मायाको हेराइ हो राम्रो….’ गीतमा झुम्न सुरु गरिसकेका थिए ।

अस्ताउँदो सूर्यसँगै रुम्जाटार शितल हुँदैजाँदा दर्शकहरू घरबाट निस्केर मैदानमा जम्मा हुने क्रम बढिसकेको थियो । क्षेत्रीले ‘जापान टोकियो…’ ‘बुट्टे रुमाल…’ र ‘रानी घाटै..’ जस्ता चर्चित गीत गाइसक्दा मैदान रुम्जाटारबासीले भरिसकेको थियो ।

स्पार्क कारले आयोजना गरेको स्पार्क एड्भेञ्चरको दोस्रो दिन ओखलढुंगाको रुम्जाटारमा आयोजित विशेष कन्सर्टमा सहभागी दर्शक हेर्दा लाग्थ्यो, सम्पूर्ण रुम्जारटार आज फूटबल मैदानमा जम्मा भएको छ ।

नेपाल प्रहरी, नेपाली सेना, जनप्रतिनिधि, समाजसेवीका साथै बालबालिका, युवा, बृद्ध सबै मैदानमा जम्मा भइसकेका थिए । विशाल फूटबल मैदानमा नअटाएका दर्शकहरू मैदानमाथिको प्याराफिट जस्तो देखिने डाँडामा जम्मा भएका थिए । यसले विभिन्न जाति, वर्ग, समुदाय रहेको रुम्जाटार एकत्रित हुँदै एकताको सन्देश दिएको थियो ।

रुम्जाटारमा हजारौँ दर्शक जम्मा गर्ने काम गरेका थिए, स्पार्क कारका अध्यक्ष रोशन घिमिरेले । रुम्जाटारको सेरोफेरोमा जन्मेहुर्केका घिमिरेले गत शनिबार साँझ महानायक राजेश हमालदेखि गायिका आनिछोइङ डोल्मा, क्याप्टेन विजय लामा, गायक विमलराज क्षेत्री, राजु लामा, गायिका सुनिता दुलाल र आस्था राउत, कवि विप्लव प्रतिकका साथै हास्यकलाकारहरू सन्दीप क्षेत्री र राजा राजेन्द्रलगायत समाजसेवी, सञ्चारकर्मीलगायत २०० जनाको टोलीलाई रुम्जाटारसँग साक्षात्कार गराएका थिए ।

कन्सर्ट अगाडि बढ्दै जाँदा सुनिता दुलालले ‘मायाको मुखैमा चिनी…’ गीतमार्फत सम्पूर्ण दर्शकमा नयाँ ऊर्जा भरिदिइन । उनको गीतसँगै झुमेका दर्शकको भीड एकाएक गीतको लयमा नाच्न थाल्यो । दुलाल पनि के कम स्टेजबाट ओर्लिएर दर्शकसँगै गीत गाइन । दर्शकलाई गाउन लगाइन् र आफू नाचिन, अरुलाई पनि नचाइन । उनको गीतमा झुमेका दर्शकहरूले ‘वान्स मोर…’ हुटिङ गर्दा ‘मायाको मुखैमा चिनी…’गीत दोहोर्‍याउनु पर्‍यो । उनको गीतमा युवाहरूसँगै बुढाबुढीले पनि कम्मर मर्काउन भ्याए ।

दुलालको प्रस्तुति सकिँदै गर्दा आकाशमा जुन उदाइसकेको थियो । मैदान अध्याँरो हुँदै गयो । स्टेजको झकिझकाउ लाइटिङले त्यहाँको स्वरुप नै एकाएक बदलिए जस्तो भयो । स्टेजमा उक्लिए स्पार्क कारका अध्यक्ष रोशन घिमिरे । आफूले यहाँ कन्सर्ट आयोजना गर्नुको उद्देश्य प्रचारप्रचार भएको बताए ।

‘यो तेस्रो संस्करणको स्पार्क एड्भेञ्चर हो, यसपटक हामी सोलुखुम्बुको गौरी टाप र ओखलढुंगाको रुम्जाटार प्रवर्द्धन गर्न आएका हौँ’, घिमिरेले भने, ‘हाम्रो अपेक्षाभन्दा बढी दर्शकको साथ पाउँदा हामी निकै खुसी छौँ ।’

उनले आफू जन्मेहुर्केको ठाउँलाई विश्वभर चिनाउनका लागि राष्ट्रिय कलाकार, विभिन्न क्षेत्रका प्रतिष्ठित व्यक्तित्वहरूलाई एउटै मञ्चमा ल्याएको उल्लेख गरे ।

कन्सर्ट अगाडि बढ्दै जाँदा राजा राजेन्द्र र सन्दीप क्षेत्रीले प्रस्तुतिले दर्शकलाई पेट मिचिमिचि हास्न बाध्य बनायो ।

कलाकार राजेश हमालले आफ्नो कला, संस्कृति, परम्परालाई अगाडि बढाउन आग्रह गर्दै एकतामा सबैभन्दा ठूलो शक्ति हुने सन्देश दिए ।

‘म विश्वका कैयौँ मुलुक पुगिसकेको छु, जहाँ जान्छु त्यहाँ नेपालीपन भेटेको छु, नेपाली खाना, कला र संस्कृति साक्षात्कार गर्न पाएको छ’ उनले भने, ‘जसरी रुम्जाटारमा विभिन्न जाति, वर्ग, समुदाय मिलेर बस्नुभएको छ त्यसैलाई निरन्तरता दिनुहोस् ।’ उनले गौरी टापको धार्मिक तथा पर्यटकीय महत्वका साथै गौरी टाप र रुम्जाटारको भूगोल र हावापानीको चर्चा पनि गरे ।

क्याप्टेन विजय लामाले आफूले रुम्जाटार विमानस्थलमा ट्विनअटर विमानमार्फत झण्डै ७०० पटक अवतरण र उडान गरेको विगत सम्झिए । ‘मलाई त यो मेरो गाउँ जस्तै लाग्छ, रुम्जाटारसँग मेरा कैयौँ अविस्मरणीय सम्झना ताजै छन्, त्यो बेलामा दैनिक उडान अवतरण हुन्थ्यो अहिले त्यो कम भएको छ, त्यसलाई फेरि निरन्तरता दिन सकियो भने रुम्जाटार फेरि गुज्लार हुन्छ’ उनले भने ।

त्यसपछि माहोल तताउन आइपुगिन, गायिका आस्था राउत । राउतले सदाझैँ उनका सात वटा चर्चित गीत गाउँदा माहोल एकाएक उत्कर्षमा पुग्यो । दर्शकदीर्घाबाट हुटिङ र नाच सुरु भयो । राउतको स्वरमा स्वर मिलाउँदै गाउनेहरूले फूटबल मैदानलाई सांगीतिक माहोलमार्फत गुञ्जायमान बनाए । राउतले ‘चौबन्दीमा पटुकी…, नाकैमा फूली…, सालको पात टपरी गाँसेर…, गीत गाउँदा अभिनेताहरू राजेश हमाल, विजय लामा, अनुप बराल, चलचित्र निर्देशक मीनबहादुर भाम, कवि विप्लव प्रतिकसमेत स्टेजमा जान हौसिए । उनीहरूले पनि राउतको गीतसँगै स्टेजमा कम्मर मर्काए ।

कन्सर्ट सकिँदै गर्दा गायक राजु लामा एण्ड मंगोलियन हर्टले पुराना र सदावाहार गीतमार्फत दर्शकलाई एकजुट बनाए । रात ढल्दै जाँदा पनि लामाको प्रस्तुतिले दर्शकलाई सिटमै बस्न बाध्य बनायो ।

तीन दिनसम्म चलेको स्पार्क एड्भेञ्चरका सहभागीहरू रुम्जाटारबाट आइतबार काठमाडौँ फर्किए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?