+
+
Shares

दिपेन्द्र अग्रवालको कारोबार : आफूले बेचेको सेयर आफैं किन्‍ने, महँगोमा जनता फसाउने

सेयर कारोबारी दिपेन्द्र अग्रवालले धितोपत्र बजारमा मूल्य उतारचढाव गराउने, कृत्रिम तथा झुठा कारोबार गर्ने गरेको नेपाल धितोपत्र बोर्डको अनुसन्धानले देखिएको छ । अन्तिम मिनेटमा झुटा कारोबार गरी कम्पनीहरुको सेयर मूल्य अस्वाभाविक रुपमा बढाउने गरेको पनि बोर्डको अध्ययनको निष्कर्ष छ ।

भुवन पौडेल भुवन पौडेल
२०८२ वैशाख ३१ गते २२:०३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सेयर बजारमा अग्रवालले कृत्रिम कारोबार र मूल्य उतारचढाव गर्न विभिन्न व्यक्तिहरूको नाम प्रयोग गरी ठगी गरेको नेपाल धितोपत्र बोर्डको अनुसन्धानले देखाएको छ।
  • अग्रवालले सेयर मूल्यमा हेरफेर गर्न र झुटा कारोबार गर्न मद्दत गर्ने तीनवटा धितोपत्र दलाल कम्पनीहरूलाई जरिवाना र कारबाहीको सिफारिस गरिएको छ।
  • धितोपत्र ऐन अनुसार झुटा कारोबार गर्नेलाई जरिवाना, कैद र दुवै सजाय हुन सक्ने व्यवस्था छ, र यस सम्बन्धमा थप अनुसन्धान र कारबाहीको प्रक्रिया जारी रहेको छ।

३० वैशाख, काठमाडौं। सेयर कारोबारी दिपेन्द्र अग्रवालले १३ पुस ०७८ मा फेसबुक स्ट्याटस लेखेर र क्लब हाउसमा बोलेर गोर्खाज फाइनान्स सेयर किन्न मानिसहरुलाई उक्साए । तर, पुस १८ गते उनी आफैँले चाहिँ सो कम्पनीको १४ हजार ६ सय ४२ कित्ता सेयर बिक्री गरे ।

त्यसैगरी उनले २०८० पुस ९ गते देखि माघ २९ गतेसम्ममा जोशी हाइड्रोपावर कम्पनीको सेयर प्रति कित्ता २३२ देखि ३ सयसम्ममा खरिद गरे । ६३ हजार ८ सय ८८ कित्ता सेयर खरिद गरिसकेपछि अग्रवालले २०८० फागुन २ गते फेसबुकमार्फत सो सेयर किन्नुपर्ने भन्दै हल्ला फैलाए । कम्पनीको सेयर मूल्य ४ सय १२ रुपैयाँसम्म पुर्‍याई आफू भने बिक्री गरेर बाहिरिए ।

‘आज मैले आफ्नो सम्पूर्ण फाइनान्स कम्पनीहरु, पिपुल्स पावर, रिभरफल्स पावर बेचेर जोशी हाइड्रोपावरको सेयर किन्ने निर्णय गरेको छु । के जोशी एक हजारसम्म पुग्छ ?’ भनेर फेसबुकमा लेखेका थिए ।

जोशी हाइड्रोपावर कम्पनीको ६५ प्रतिशत हकप्रद सेयर आउँदैछ । उक्त ६५ प्रतिशत हकप्रद सेयरपछि १ः२ को अनुपातमा फेरी हकप्रद सेयर जारी गर्ने । जोसी हाइड्रोपावर कम्पनीले ५३ मेगावाटको अर्को हाइड्रो पावर किन्दैछ, त्यसैले यो स्क्रिप्ट छिट्टै एक हजार प्रतिकित्ता पुग्नेछ । तसर्थ आफ्नो पुरै पोर्टफोलियो जोशीमा सिफ्ट गर्दा सानो समयमा धेरै फाइदा हुने देख्दछु भनेर पनि उनले फेसबुकमा स्टाटस लेखेका थिए ।

त्यसैगरी, अग्रवालले २०८१ जेठ ७ गते पोखरा फाइनान्स कम्पनीको सेयरमा सकारात्मक सर्किट लाग्ने भनेर पुर्वानुमान गर्दै फेसबुकमा लेखेका थिए ।

अग्रवालले १६ वैशाख २०८२ मा कर्पोरेट डेभलपमेन्ट बैंकको अन्तिम सेयर मूल्यको झुटा कारोबार गरी प्रति कित्ता २३७६.६३ रुपैयाँ कायम गरेको पनि नेपाल धितोपत्र बोर्डले जानकारी दिएको छ ।

नेप्से स्टक एक्सचेन्जको कारोबार समयमा अन्तिम १५ मिनेमा उनले ज्योती अग्रवालको नामबाट २० हजार कित्ता सेयर बिक्री गरेर उनी आफूैँले खरिद गरी अन्तिम मूल्य बढाएको देखिन्छ । झुठा कारोबार नभएको खण्डमा बैंकको अन्तिम सेयर मूल्य प्रति कित्ता २२५९.८० रुपैयाँ हुने थियो भन्ने सेबोनको भनाइ छ ।

सेयर बजारमा धेरै लगानीकर्ताले आदर्श मान्ने गरेका अग्रवालले यस्ता अनेकौं काण्ड गरी सर्वसाधारण जनतालाई फसाउने गरेको नेपाल धितोपत्र बोर्डले गरेको एक अध्ययनले देखाएको छ । त्यसरी जनतालाई फसाउन उनले एक दर्जनभन्दा बढी व्यक्तिहरूको नामबाट एक आपसमा सेयर किनबेच गर्ने, कृत्रिम रुपमा मूल्य बढाउने र त्यसरी बढेको मूल्यमा बचेर जनतालाई फसाउने गरेको पाइएको हो । नेपाल धितोपत्र बोर्डमा परेको उजुरीमा भएको अनुसन्धानले अग्रवालले आफन्त तथा साथीभाइ गरी १५ जनाको नामबाट सेयर खरिद–बिक्री गरेको पाइएको हो ।

यसरी कारोबार गर्दा अग्रवालले उनीहरूको नामबाट सेयर खरिद–बिक्री गरेको देखिए पनि वास्तविक स्वामित्व भने अग्रवालकै रहने गरेको धितोपत्र बोर्डको अध्ययनले देखाएको छ । अग्रवालले आफ्नो नामको अतिरिक्त सविता अग्रवाल, ज्योति अग्रवाल, जयप्रकाश अग्रवाल, मिता मुरारका अग्रवाल, रेशु अग्रवाल, कुसुम देवी अग्रवाल, नरेन्द्रकुमार अग्रवाल, आहान मुरारका अग्रवाल, रामसिंह साउद, मनकुमारी गुरुङ, विरेन्द्रबाहदुर साउद, सीमाकुमारी अग्रवालका नामबाट सेयर कारोबार गर्दै आएका छन । साथै उनले एस मल्टिप्रपोज कम्पनी र गोल्डम्यान इन्भेष्टमेन्टको नामबाट पनि सेयर खरिद बिक्री गर्ने गरेको बोर्डको अनुसन्धानमा देखिएको छ ।

उनले सामाजिक सञ्जालमार्फत कम्पनीको नाम उल्लेख गरी सर्वसाधारणलाई धितोपत्र खरिद बिक्री गर्न उक्साउने गरेका घटनाक्रमहरूलाई समेत धितोपत्र बोर्डले गहन अनुसन्धान गरेको छ । सो अनुसार पनि अग्रवालले धितोपत्र बजारमा मूल्य उतारचढाव गराउने, कृत्रिम तथा झुठा कारोबार गर्ने गरेको अनलाइनखबरले प्राप्त गरेको अनुसन्धानको निचोड छ ।

अग्रवालले धितोपत्र बजारलाई प्रयोग गरेर सेयर बजारका लगानीकर्ता ठगी गर्न छाडेनन् । उनले यही वैशाखको दोस्रो साता अन्तिम मिनेटमा चलखेल गरी कर्पोरेट डेभलपमेन्ट बैंकको सेयर मूल्य प्रतिकित्ता एक सय १६ रुपैयाँ बढाएर अन्तिम मूल्य कायम गराएको पनि बोर्डको अध्ययनले देखाएको छ ।

सामाजिक सञ्जालहरुमार्फत गोर्खाज फाइनान्सको सेयर खरिद गर्न उक्साएर आफूले भने बिक्री गरेको भनेर आफूले बिक्री गरेको अध्ययनले देखाएको हो । नेपाल स्टक एक्सचेन्जको तथ्याङक अनुसार उनले सन २०२१ डिसेम्बर २८ मा गोर्खाज फाइनान्सको सेयर खरिद गर्न आग्रह गरेका थिए । उक्त दिन फाइनान्सको प्रतिकित्ता सेयर मूल्य ७८९ रुपैयाँ कायम भएको थियो । उनले सेयर खरिद गर्न आग्रह गरेको करिब ५ दिन पछि उनले गोर्खाज फाइनान्स कै १४ हजार ६ सय ४२ कित्ता सेयर ८ सय रुपैयाँसम्ममा बिक्री गरेको बोर्डको अनुसन्धानमा भेटिएको छ ।

दिपेन्द्र अग्रवालको कारोबार विवरण ।

 

दिपेन्द्र अग्रवालको कारोबार विवरण ।

त्यसैगरी अग्रवालले जोशी हाइड्रो पावर कम्पनीको सेयरबाट उनले प्रतिकित्ता ६७ रुपैयाँ नाफा गर्दै ७३ हजार ३ सय ७ कित्ता बिक्री गरेको बोर्डले जनाएको छ । जोशी हाइड्रोले शतप्रतिशत हकप्रद सेयर दिदैँछ भनेर हल्ला फैलाएर उनले कुल ४९ लाख १९ हजार ८ सय ६५ रुपैयाँ नाफा गरेका कमाए । उनले पोखरा फाइनान्समा पनि अनावश्यक हल्ला फिजाइ सेयरको मूल्य बढाउने र बिक्री गर्ने गरेको अनुसन्धानको निष्कर्ष छ ।

त्यसपछि पनि अग्रवालले धितोपत्र बजारलाई प्रयोग गरेर सेयर बजारका लगानीकर्ता ठगी गर्न छाडेनन् । उनले यही वैशाखको दोस्रो साता अन्तिम मिनेटमा चलखेल गरी कर्पोरेट डेभलपमेन्ट बैंकको सेयर मूल्य प्रतिकित्ता एक सय १६ रुपैयाँ बढाएर अन्तिम मूल्य कायम गराएको पनि बोर्डको अध्ययनले देखाएको छ । अग्रवालले अन्तिम मिनेटमा झुटा कारोबार गरी कम्पनीहरुको सेयर मूल्य अस्वाभाविक रुपमा बढाउने गरेको पनि बोर्डको अध्ययनको निष्कर्ष छ ।

बोर्डको अनुसन्धान अनुसार अग्रवालले झुक्याउने विवरणहरू दिने तथा मूल्यमा उतारचढाव ल्याउने कसुर गरेको ठहर गरेको छ । त्यसैगरी १५ जनाको ट्रेड म्यानेजमेन्ट सीस्टम(टीएमएस) सञ्चालन गरेको कसुरलाई झुक्याउने कारोबार गरेको र कर्पोरेट डेभलपमेन्ट बैंकको सेयर कारोबारमा वास्तविक स्वामित्व परिवर्तन नै नभएको पुष्टि भएपछि झुटा कारोबार उपर कारबाही गर्न बोर्डको अनुसन्धान प्रतिवेदनले सुझाएको छ ।

बोर्डका अनुसार अग्रवालले धितोपत्र ऐनको दफा ९५ को मुल्यमा उतार चढावको कसुर गरेको भन्दै उक्त अनुसन्धान प्रतिवेदन प्रहरीलाई प्रधान कार्यलयमा पेश गर्न सुझाएको छ ।

अग्रवालले यस्तो झुटो कारोबार गरी नेपाल फाइनान्सको सेयर मूल्य बढाएर सर्वसाधारणलाई झुक्यानमा पारी ठगी गरेको पनि बोर्ड स्रोतले जनाएको छ ।

ग्राफिक्स : अरूण देवकोटा/अनलाइनखबर

तीन धितोपत्र ब्रोकरलाई सम्पत्ति शुद्धीकरणमा कारबाही गर्न सिफारिस

अग्रवाललाई यस्ता झुटा कारोबार गर्न मद्दत गर्ने तीनवटा धितोपत्र दलाल कम्पनीहरुलाई दण्डित गर्न पनि बोर्डले सिफारिस गरेको छ । बोर्डले सिप्ला सेक्युरिटिज कम्पनी, श्री कृष्ण सेक्युरिटिज र हातेमालो फाइनान्सियल सर्भिसेसलाई क्रमस २० लाख, १० लाख र १० लाख रुपैयाँ आर्थिक जरिवाना गराउन सुझाव दिएको छ ।

धितोपत्र दलाल कम्पनीले आफ्ना ग्राहकको पहिचान नगरी अन्य व्यक्तिको नामबाट कारोबार गर्न दिएको आरोपमा सम्पत्ति सुद्धिकरण निवारण ऐन अनुसार जरीवाना गरेको बोर्डले जनाएको छ ।

अग्रवाललाई किन नलाग्ने सम्पत्ति शुद्धीकरण ?

धितोपत्र बोर्डको अनुसन्धानले अग्रवालले सेयर मूल्यमा चलखेल गर्ने अध्ययन गरेर झुटा कारोबारका लागि थप अनुसन्धान गरेर कारबाही गर्न प्रहरीलाई पठाउने सुझाव दिएको छ । तर, उनले कारोबार गर्ने धितोपत्र दलाल कम्पनीलाई चाहिँ सम्पत्ति शुद्धीकरणको अरोपमा नगद जरिबानाको सिफारिस गरिएको छ ।

झुटा कारोबार गर्ने तथा सर्वसाधारण ठगी गरी कमाउने अग्रवाललाई भने सम्पत्ति शुद्धीकरणको कसुरमा सजाय गर्न बोर्डले सुझाव नदिनु अचम्मलाग्दो देखिएको छ ।

यसभन्दा अघि यस्तै कारोबार गरेका उर्जा उद्यमी गुरू न्यौपाने र ज्ञानेन्द्रलाल प्रधानलाई बोर्डले सम्पत्ति शुद्धीकरणको कसुरदार ठहर गरेको थियो । तर, मूल्यमा उतारचढाव गर्ने, झुटा कारोबार गर्ने, कृत्रिम कारोबार गर्ने अग्रवाललाई भने सम्पत्ति शुद्धीकरण कसुरदार हुन सक्ने गरी अनुसन्धान नै नगर्दा बोर्डको अनुसन्धान निष्पक्ष नभएको आशंका गरिएको सरोकारवाला बताउँछन् ।

झुटा कारोबार गर्ने तथा सर्वसाधारण ठगी गरी कमाउने अग्रवाललाई भने सम्पत्ति शुद्धीकरणको कसुरमा सजाय गर्न बोर्डले सुझाव नदिनु अचम्मलाग्दो देखिएको छ ।

के हो झुठा कारोबार ?

धितोपत्र ऐन २०६३ अनुसार प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा धितोपत्र खरिद वा बिक्री भएतापनि वास्तविक स्वामित्वमा फरक नपर्ने भएमा त्यस्तो कारोबारलाई कृत्रिम वा झुटा  कारोबार गरेको मानिन्छ । अर्कोले खरिद वा बिक्री गर्न प्रस्ताव गरेको मूल्य थाहा पाई सोहीसँग मिल्ने गरी खरिद वा बिक्री गर्ने प्रस्ताव गरे पनि भुटा कारोबार भएको ठहर्छ । समान्य अर्थमा भन्नु पर्दा सेयर कारोबार भए पनि वास्तविक सेयर धनी परिवर्तन नहुने अवस्था हो ।

दिपेन्द्र अग्रवालको कारोबार विवरण ।

झुटा कारोबार गर्दा कस्तो कारबाही हुन्छ ?

धितोपत्र ऐन २०६३ को ९४ र ९५ बमोजिमको कुनै काम गर्नेलाई ५० हजार रुपैयाँदेखि १ लाख ५० हजार रुपैयाँसम्म जरिबाना वा एक वर्षसम्म कैद वा दुवै सजाय हुनेछ । त्यस्तो काम कारबाहीबाट कसैलाई हानी नोक्सानी पर्न गएको रहेछ भने त्यस्तो हानी नोक्सानी समेत भराई दिनु पर्नेछ ।

साथै यस कसुरको सन्दर्भमा धितोपत्र बोर्डले प्ररम्भिक अनुसन्धान गरी थप अनुसान्धनका लागि प्रहरी कार्यालयमा विवरणसहितको प्रतिवेदन पेश गर्नुपर्छ । प्रहरीले थप अनुसन्धान गरी प्रतिवेदन सरकारी वकीलको कार्यालयमा पेस गर्नु पर्नेछ । मुद्दा चल्ने/नचल्ने निर्णय सरकारी वकिलको कार्यालयले गर्ने व्यवस्था ऐनमा छ ।

लेखक
भुवन पौडेल

अनलाइनखबर डटकमको आर्थिक ब्युरोमा कार्यरत पौडेल बैंक, वित्तीय तथा नेपाल धितोपत्र बजारमा रिपोर्टिङ गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?