
News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली कांग्रेस सांसद माया राईको अदालतमा बयान सुरु भएको छ।
- उनले कालीमाटीस्थित स्वर्णलक्ष्मी सहकारीको सञ्चालक समितिमा रहँदा करिब २ करोड ४० लाख रुपैयाँ अपचलन गरेको पाइएको छ।
- यस प्रकरणमा २० बचतकर्ताको ३७ लाख ३५ हजार ८४३ रुपैयाँ हिनामिना भएको पाइएको छ।
३१ वैशाख, काठमाडौं । कालीमाटीस्थित स्वर्णलक्ष्मी सहकारीको रकम अपचलनको आरोपमा पक्राउ परेकी नेपाली कांग्रेस सांसद माया राईको अदालतमा बयान सुरु भएको छ ।
काठमाडौं जिल्ला अदालतका न्यायाधीश महेन्द्रबहादुर कार्कीको इजलासमा सांसद राईको बयान सुरु भएको हो । बयान सकिएपछि थुनछेक बसह हुनेछ । त्यसपछि पुर्पक्षका लागि कारागार पठाउने वा साधारण तारेख र धरौटीमा छाड्ने मध्ये एक आदेश आउने छ ।
जिल्ला प्रहरी परिसर काठमाडौंले गरेको अनुसन्धान प्रतिवेदन अनुसार सांसद राईविरुद्ध मंगलबार जिल्ला सरकारी वकिल कार्यालयले अदालतमा मुद्दा दायर गरेको थियो ।
सहकारी ठगी र संगठित अपराधको कसुरमा सांसद राईसमेतका व्यक्तिलाई प्रतिवादी बनाउँदै पूरक अभियोजन दर्ता भएको हो ।
सांसद राई कुनै समय उक्त सहकारीको सहसचिव समेत थिइन् । उनी सञ्चालक समितिमा रहेको अवधिमा करिब साढे २ करोड रुपैयाँ अपचलन भएको खुलेको छ ।
राई आर्थिक वर्ष २०७३/७४ मा स्वर्णलक्ष्मी सहकारीको सञ्चालक समिति सदस्य थिइन् । आर्थिक वर्ष २०७४/७५ र २०७५/७६ मा भने उनी स्वर्णलक्ष्मी सहकारीको सहसचिवको जिम्मेवारीमा थिइन् ।
राई सञ्चालक समितिमा रहेको बेला आर्थिक वर्ष २०७३/७४ मा पनि रकम अपचलन भएको प्रहरी अनुसन्धानबाट खुलेको छ । त्यतिबेला विना धितो ऋण प्रवाह गरेको समेत भेटिएको थियो ।
स्वर्णलक्ष्मी सहकारीमा ८९ लाख ३४ हजार ३५५ रुपैयाँ सांसद राई सञ्चालक समितिको सदस्यमा रहेका बेला अपचलन भएको खुलेको छ । कुल पूँजीको १० प्रतिशतभन्दा बढी रकम लगानी गरेको भेटिएको छ ।
त्यस्तै सूचीकृत नभएका संस्थालाई समेत लगानी गरेको भेटिएको छ ।
उनी सञ्चालक समितिमा रहेको अवधिमा सहकारीको २ करोड ४० लाख ४४ हजार ७९० रुपैयाँ अपचलन भएको पाइएको जिल्ला सरकारी वकिल कार्यालयका प्रमुख रामहरि शर्मा काफ्लेले बताए ।
यो सहकारीका २० जना बचतकर्ताले राईसहितका व्यक्तिविरुद्ध जाहेरी दिएका थिए । २० बचतकर्ताको ३७ लाख ३५ हजार ८४३ रुपैयाँ हिनामिना भएको पाइएको छ ।
यसअघि यो सहकारी ठगी प्रकरणमा २१ पुसमा ३९ जनाविरुद्ध काठमाडौं जिल्ला अदालतमा ६९० बचतकर्ताको १ अर्ब १९ करोड ३० लाख ९० हजार ४९३ रुपैयाँ हिनामिना गरेको भन्दै मुद्दा दायर भएको थियो ।
त्यतिबेला सांसद राईलाई उन्मुक्ति दिँदै मुद्दा दर्ता भएको थियो । सांसद राईलाई उन्मुक्ति दिएको भन्दै आलोचना भएपछि १३ वैशाखमा प्रहरीले कपनबाट सांसद राईलाई पक्राउ गरेको थियो ।
संगठित अपराधको कसुरमा ६० दिनसम्म प्रहरी हिरासतमा राखेर अनुसन्धान गर्न सकिने व्यवस्था भए पनि सांसद राईको हकमा भने १७ दिनमै अदालतमा मुद्दा दर्ता भएको छ ।
प्रहरीले पक्राउ गरेर अनुसन्धान गर्ने क्रममा माइन्युटमा समेत सांसद राईले हस्ताक्षर गरेको भेटेको थियो । बयानका क्रममा समेत सांसद राईले उक्त हस्ताक्षर आफ्नै रहेको स्वीकार गरेकी छिन् ।
हाँडीगाउँमा एकै घरमा डेरा गरी बस्ने भुपेन्द्र राईको आग्रहमा हस्ताक्षर गरेको उनले बताएकी छिन् ।
प्रतिक्रिया 4