+
+
Shares

सशस्त्र प्रहरीको मनसुन पूर्वतयारी : सबै युनिटमा उद्वारका सामान

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख ३१ गते १७:००

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सशस्त्र प्रहरी बल नेपालले मनसुनजन्य विपद् न्यूनिकरण र उद्धारको लागि व्यापक तयारी थालेको छ, जसमा विपद् चेतना कार्यक्रम र तालिम सञ्चालन समेटिएको छ।
  • विपद् व्यवस्थापनका लागि आवश्यक उपकरण, मोटरबोट, रेस्क्यु टावर जस्ता स्रोतसाधन तयारी अवस्थामा राखिएको छ र स्थानिय स्रोतसाधनको अधिकतम प्रयोग गर्न निर्देशन दिइएको छ।
  • विपद् तयारी र प्रतिक्रिया सुधार गर्न विभिन्न मुख्यालय र प्रशिक्षण केन्द्रहरूमा तालिम, उपकरण र जनशक्ति तैनाथ गरिएको छ, जसले विपद् समयमा छिटो र प्रभावकारी प्रतिक्रिया सुनिश्चित गर्ने लक्ष्य राखिएको छ।

३१ वैशाख, काठमाडौं । सशस्त्र प्रहरी बल नेपालले मनसुनजन्य विपद् न्यूनिकरण तथा उद्वारका लागि तयारी थालेको छ ।

यसका लागि देशभरी नै विपद् जनचेतना रेस्पोन्स पट्रोल सुरु गरिएको छ भने टोलटोलमा विपद् सूचक राख्नेदेखि, सशस्त्र प्रहरीका सबै युनिटमा विपद् व्यवस्थापनका आधारभूत सामानको व्यवस्थापन गर्ने, विपद् सम्बन्धि अनुशिक्षण तथा अभ्यासको काम सुरु गरिएको सशस्त्र प्रहरीका सहप्रवक्ता तथा डीएसपी शैलेन्द्र थापाले बताए ।

अघिल्ला वर्षहरूमा भएको विपद्का घटनाहरूलाई विश्लेषण गर्दै आगामी दिनमा हुनसक्ने जोखिम न्यूनीकरणका लागि अवलम्वन गर्नुपर्ने उपायका बारेमा मंगलबार प्रधान कार्यालय हलचोकमा व्यापक छलफल भएको थियो ।

उपत्यकाका सबै युनिट कमाण्डर तथा फिल्डमा खटिने सिनियर, जुनियर अधिकृत तथा अन्य दर्जा समेतको सहभागितामा छलफल गर्दै फिल्डमा खटिँदा भोगेका अनुभव र समस्या तथा नयाँ रणनीतिको बारेमा पनि छलफल गरिएको छ ।

विपद् सूचक अन्तर्गत आफ्ना पूर्व कर्मचारी समेत यसमा सहभागि गराउँदै वडा–वडामा सचेतना मूलक कार्यक्रम गर्ने सशस्त्र प्रहरीले तयारी थालेको छ ।

यसबाट विपद्को बारेमा तत्काल सूचना प्राप्त गर्न सकिएमा छिटो भन्दा छिटो उद्वारका कार्यमा खटिन सक्ने विश्लेषण गरिएको छ ।

यसका साथै अब प्रत्येक दर्जाको आधारभूत तालिममा अनिवार्य रुपमा १५ दिनको विपद् व्यवस्थापन तालिम संचालन गरिने लक्ष्य समेत सशस्त्र प्रहरी बलको छ । सशस्त्र प्रहरीका युनिटमध्ये विपद् व्यवस्थापन साधनश्रोत सम्पन्न कम साधनश्रोत भएका र नभएका गरी ३ तहमा विभाजन गरेर साधनश्रोत नभएका युनिटमा तत्काल आधारभूत सामाग्री व्यवस्थापन गरिनेछ ।

छलफल कार्यक्रममा सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले विपद् व्यवस्थापनको लागि स्थानिय स्रोतसाधनको अधिकतम प्रयोग गर्न र सामान पुगेन भनेर पन्छिने छुट कसैलाई नभएको भन्दै विपद्को समयमा सरकार छ, सुरक्षाकर्मी छन् भन्ने आम जनतामा भरोसा हुनुपर्ने बताए ।

उनले आगामी मनसुनमा के गर्ने भन्ने बारेको स्पष्ट खाका तयार गर्न समेत विभागीय प्रमुखहरूलाई निर्देशन दिए ।

विपद्को समयमा तयारी र परिचालन उत्कृष्ट हुन जरुरी रहेको र विपद् भएको स्थानमा छोटो भन्दा छोटो समयमा पुग्न सकेमा मात्र जनधनको क्षती न्यूनीकरण गर्न सकिने बताउँदै उनले २४सै घण्टा परिचालन हुनको लागि सबै युनिटमा टोलीहरु तयारी हालतमा राख्न समेत निर्देशन दिए ।

परिचालन ढिला नहोस् र सम्बन्धित ठाउँमा पुग्न अलमल नहोस् भनेर आफ्नो जिम्मेवारी क्षेत्रभित्र सबै युनिटले विपद् जनचेतना तथा रेस्पोन्स पट्रोल संचालन गरी आफ्नो एरिया बारेमा जानकार रहन समेत प्रधान कार्यालयले मातहत युनिटलाई निर्देशन दिएको छ । यसैगरी समुदाय लक्षित विपद् सम्बन्धी स्वयमसेवक तालिम सुरु गरिएको छ ।

सशस्त्र प्रहरी बलको हाल कुरिनटारमा विपद् व्यवस्थापन तालिम शिक्षालय तथा काठमाडौँको उपत्यकामा विपद् व्यवस्थापन गण रहेको छ । यसैगरी धनकुटाको मुलघाट, बाराको निजगढ, धादिङको आदमघाट, सिन्धुलीको खुर्कोट, मकवानपुरको कुलेखानी, म्याग्दीको बेनी र नारच्याङ, दाङको भालुवाङ, सुर्खेतको चिप्ले र डडेलधुराको अमरगढीमा विपद् व्यवस्थापन बेस स्थापना भएका छन् ।

हाल सशस्त्र प्रहरी बलसँग विपद् व्यवस्थापन तालिमप्राप्त जनशक्ति २ हजार ४ सय ८५ जना छन् भने गोताखोरको संख्या १ सय ८ पुगेको छ । सशस्त्र प्रहरी बलसँग हाल ३३ मोटरबोट तथा ९१ र्‍याफ्टबोट रहेको छ ।

मनसुन प्रतिकार्यको लागि सशस्त्र प्रहरी बल नेपालको १३ वटा डोजर, लोडर र एक्जाभेटरसहित तालिम प्राप्त जनशक्ति तयारी छ । जसमध्ये सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयमा ३ वटा, नं. १ बराह बाहिनी मुख्यालय सनुसरीमा २ वटा, नं. ६ महेश्वरी बाहिनी मुख्यालय सुर्खेतमा १ वटा, नं. ७ बैद्यनाथ बाहिनी मुख्यालय कैलालीमा ३ वटा, नं. २० विपद् उद्धार उपत्यका गण सिनामंगलमा १ वटा र नं. २४ कालिका गण कास्कीमा २ वटा हेभी इक्युपमेन्ट तयारी अवस्थामा राखिएको छ ।

यसैगरी देशका ३९ जिल्लाका ५९ वटा सशस्त्र प्रहरी बल नेपालका युनिटहरुमा १ सय २४ वटा मोटर बोट र र्‍याफ्ट बोट तथा १३ जिल्लाका १५ वटा सशस्त्र प्रहरी बल नेपाल कार्यालयहरुमा २८ वटा डिजास्टर रिलिफ सिस्टम (डिआरएस कन्टेनर) समेत तयारी अवस्थामा राखिएको छ ।

त्यसैगरी सशस्त्र प्रहरी बल नेपाल नं. १ बराह बाहिनी मुख्यालय सुनसरी, नं. २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरी, नं. ४ मुक्तिनाथ बाहिनी मुख्यालय कास्की, नं. ५ विन्ध्यावासिनी बाहिनी मुख्यालय रुपन्देही, नं. ६ महेश्वरी बाहिनी मुख्यालय सुर्खेत, ७ बैद्यनाथ बाहिनी मुख्यालय कैलाली, विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटार र नं. २० विपद् उद्धार उपत्यका गण सिनामंगल १/१ वटा विपद् सामूहिक उद्धार एम्बुलेन्स राखिएको छ ।

त्यस्तै ए क्लासको एम्बुलेन्स सशस्त्र प्रहरी बल नेपाल नं. १ बराह बाहिनी मुख्यालय सुनसरी, नं. २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरी, नं. ४ मुक्तिनाथ बाहिनी मुख्यालय कास्की, नं. ६ महेश्वरी बाहिनी मुख्यालय सुर्खेत, ७ बैद्यनाथ बाहिनी मुख्यालय कैलाली, नेपाल एपीएफ अस्पताल बलम्बु, क्षेत्रीय अस्पताल बाँके र विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारमा १/१ वटा राखिएको छ ।

१ सय ८ जना गोताखोरहरुलाई आवश्यक उपकरणसहित सात वटै प्रदेशमा रहेका बाहिनी मुख्यालयहरु तथा सशस्त्र प्रहरी बल, नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटार, उपत्यकास्थित नं. २० विपद् उद्धार गण सिनामंगल, विपद् व्यवस्थापन वेश खुर्कोट र सिन्धुलीमा तैनाथ गरिएको छ ।

त्यसैगरी सशस्त्र प्रहरी बल नेपालका बाहिनी मुख्यालयहरु, विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटार, उपत्यकास्थित नं. २० विपद् उद्धार गण सिनामंगल, रेस्क्यु टावर फेवाताल कास्की, नारायणी नदी किनार चितवन र सबै विपद् व्यवस्थापन वेशमा विपद् व्यवस्थापन तालिम प्राप्त सशस्त्र प्रहरी कर्मचारीहरु परिचालित रहेका छन् ।

यसका साथै विपद् व्यवस्थापन तालिम प्राप्त जनशक्तिलाई सातै वटा प्रदेशस्थित बाहिनी मुख्यालयहरु, उपत्यकास्थित शिक्षालय, सबै गणहरुमा एक/एक प्लाटुन र गुल्म वा सो भन्दा साना युनिटहरुमा

१ सेक्सनको दरले आवश्यक स्रोतसाधनसहित तैनाथ रहने छन् ।

त्यसैगरी उपत्यकामा ७, कास्कीमा १, पश्चिम नवलपरासीमा १, बाँकेमा १ र कैलालीमा १ गरी जम्मा १२ वटा डिप ट्युवेल मनसुन प्रतिकार्यको लागि तयारी हालतमा राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?