+
+
Shares

यस्तो हुनेछ राइड सेयरिङ एप, यात्रुलाई बीमा र हेलमेट अनिवार्य

सेवा प्रदायकले राइड सेयरिङ सेवामा आबद्ध सवारी साधन र सवारी चालकबाट मात्र सेवा सञ्चालन गर्नुपर्नेछ ।

अमृत सुवेदी अमृत सुवेदी
२०८२ वैशाख ३१ गते १९:२६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • गण्डकी प्रदेश सरकारले राइड सेयरिङ नियमावली जारी गरी एपको सुरक्षा, गोपनीयता र प्रयोगको मापदण्ड तोकेको छ।
  • एपले यात्री र चालकको विवरण, यात्रा ट्र्याकिङ, र सुरक्षा सुविधाहरूलाई सुनिश्चित गर्नुपर्नेछ।

३१ वैशाख, पोखरा । गण्डकी प्रदेश सरकारले राइड सेयरिङ नियमन र व्यवस्थापन सम्बन्धी नियमावलीले एप कस्तो हुने भन्ने प्रावधान तोकेको छ । राइड सेयरिङ तथा सेल्फ ड्राइभ प्रदान गर्ने सेवा प्रदायक कम्पनीले सरकारले तोकेको प्रावधान पूरा गरेर एप निर्माण गर्नुपर्नेछ ।

स्वीकृति प्राप्त साइबर सेक्युरिटी फर्म वा कम्पनीबाट एपको सुरक्षा तथा ग्राहकको तथ्याङ्कको गोपनीयता सम्बन्धमा भल्नेराविलिटी एन्ड पेनिट्रेसन टेस्ट एन्ड आईटी सेक्युरिटी गरेको प्रमाणपत्र हुनुपर्ने व्यवस्था गरिएको छ ।

नेपाली र अङ्ग्रेजी दुवै भाषामा बुझ्न र प्रयोग गर्न सकिने यात्रीको विवरण राख्न मिल्नेगरी एप बनाउनुपर्ने नियमावलीमा उल्लेख छ ।

सेवा सञ्चालनका क्रममा सिर्जित तथ्याङ्क तथा विवरणहरूको भण्डारण गर्ने गरी नेपालमै सञ्चालन भएको सर्भर हुनुपर्ने व्यवस्था गरिएको छ ।

यात्रीले आफूले यात्रा सुरु गर्न चाहेको प्रस्थान विन्दु तथा गन्तव्य सम्बन्धी विवरण प्रविष्ट गरेपश्चात् उपलब्ध हुनसक्ने सवारी तथा चालक, यात्रा दूरी र लाग्ने भाडा सम्बन्धी विवरण पारदर्शी रूपमा देखिने व्यवस्था हुनुपर्नेछ ।

सवारी तथा सवारी चालकको फोटो सहितको स्पष्ट विवरण देखिने व्यवस्था गर्नुपर्ने प्रावधान राखिएको छ । सेवा प्रदायक र स्वीकृत सवारीको चालकसँग यात्रीले सोझै सम्पर्क गर्नसक्ने सुविधा हुनुपर्नेछ ।

यात्राको क्रममा यात्रुले आफ्नो अवस्थिति, यात्रा गरिरहेको बाटो सम्बन्धमा प्रत्यक्ष विवरणहरू वास्तविक समयमा आधारित रही आफ्नो दूरसञ्चार उपकरणमार्फत अरु कसैसँग साझेदारी गर्न मिल्ने सुविधा हुनुपर्ने प्रावधान नियमावलीमा राखिएको छ ।

यात्राको क्रममा यात्रुलाई असुरक्षित महसुस भएको अवस्थामा आफ्नो अवस्थिति, यात्रा गरिरहेको बाटो, यात्रा गरिरहेको सवारी साधन र चालकको प्रत्यक्ष विवरणहरू वास्तविक समयमा आधारित रही यात्रुले एपमा उल्लेख गरेको व्यक्ति, सुरक्षा निकाय र सेवा प्रदायकको प्रणालीमा सुरक्षा सतर्कता जनाउन मिल्ने सुविधा हुनुपर्ने व्यवस्था गरिएको छ ।

सम्बन्धित यात्रीले आफूले पछिल्लो न्यूनतम ९० दिनसम्म गरेका यात्राको प्रस्थान तथा गन्तव्य, सवारी साधन नम्बर, सवारी चालकको नाम र सम्पर्क नम्बर, बाटो, दूरी र भुक्तानी गरेको भाडा सम्बन्धमा एपबाट विवरणहरू हेर्न सक्नेगरी प्रणालीमा प्रबन्ध भएको हुनुपर्ने व्यवस्था गरिएको छ ।

तथ्याङ्क तथा विवरण सिर्जना भएको मितिबाट कम्तीमा ६ महिनासम्म उपलब्ध हुनेगरी प्रणालीमा सुरक्षित राख्ने व्यवस्था हुनुपर्नेछ ।

राइड सेयरिङ सेवा सञ्चालन सम्बन्धी सामान्य कार्यविधि, सेवा प्रदायकबाट यात्रुलाई प्राप्त हुने छुट तथा अन्य प्रोत्साहन रकम सम्बन्धी जानकारी पनि एपमा हुनुपर्ने प्रावधान नियमावलीमा राखिएको छ ।

सेवा प्रदायक, मुख्य सञ्चालकहरूको पूरा नाम तथा ठेगाना, सम्पर्क नम्बर र इमेल विवरण पनि एपमा हुनुपर्नेछ ।

सेवा प्रदायकले सञ्चालनमा रहेका आफ्ना सवारीको अवस्थिति, गति तथा बाटोको सम्बन्धमा ट्रयाकिङ प्रणालीमार्फत निरन्तर अनुगमन गरी चालकलाई वास्तविक समयमा सचेत गराउन चालकको दूरसञ्चार उपकरणमार्फत सन्देश पठाउने व्यवस्था हुनुपर्नेछ ।

सेवा प्रदायकले विद्युतीय सूचना प्रणालीमा यात्रीबाट सेवा मूल्याङ्कन गराउनका लागि आवश्यक फारामको व्यवस्थासमेत हुनुपर्ने नियमावलीले भनेको छ ।

यात्राको बारेमा सेवाको गुणस्तर, सवारीको अवस्था तथा चालकको व्यवहार सम्बन्धमा अंक दिई मूल्याङ्कन गर्ने व्यवस्था गर्नुपर्ने प्रावधान नियमावलीमा राखिएको छ ।

सेवा प्रदायक र चालकले सेवाको क्रममा सङ्कलित यात्रीका व्यक्तिगत विवरण सम्बन्धित यात्री वा सेवाग्राहीको लिखित मञ्जुरीविना अन्य कुनै पक्षलाई उपलब्ध गराउन नपाइने भएको छ ।

सेवा प्रदायक र स्वीकृत सवारीको चालकसँग यात्रीले सोझै सम्पर्क गर्नसक्ने सुविधा एपमा हुनुपर्नेछ ।

तर, संघीय सरकार वा प्रदेश सरकारसँग सम्बन्धित निकायबाट कानुन बमोजिम माग भएको अवस्थामा सेवा प्रदायकले माग भएअनुसार प्रणालीमा रहेको तथ्याङ्क तथा विवरण तत्काल उपलब्ध गराउनुपर्नेछ ।

सेवा प्रदायकले राइड सेयरिङ सेवामा आबद्ध सवारी साधन र सवारी चालकबाट मात्र सेवा सञ्चालन गर्नुपर्नेछ ।

राइड सेयरिङ सेवामा आबद्ध भएका सवारी साधन वा सवारी चालक सेवा प्रदायकबाट अलग भएमा तुरुन्त हटाई सोको जानकारी सात दिनभित्र कार्यालयलाई दिनुपर्ने प्रावधान राखिएको छ ।

राइड सेयरिङ सेवामा नयाँ सवारी साधन वा सवारी चालक आबद्ध भएमा सम्बन्धित सेवा प्रदायकले त्यसको विवरण ७ दिनभित्र सम्बन्धित कार्यालयमा पेस गर्नुपर्नेछ ।

आबद्ध भएका सवारी साधन वा सवारी चालकबाट सेवा प्रदायकले प्रणालीमा एक पटक आबद्ध हुन दुईपांग्रे सवारी साधनको हकमा बढीमा ५ सय रुपैयाँ र चारपाङ्ग्रे सवारी साधनको हकमा २ हजार रुपैयाँ रकम लिनसक्ने व्यवस्था गरिएको छ । तर वार्षिक नवीकरण शुल्कको रूपमा कुनै पनि रकम लिन पाइने छैन ।

प्रयोग हुने सवारी साधनको मापदण्ड

राइड सेयरिङ सेवाको रूपमा प्रयोग हुने सवारी साधनहरूले मापदण्ड पूरा गरेको हुनुपर्ने मापदण्ड तोकिएको छ ।

दुईपाङ्ग्रे सवारी साधनको हकमामा पेट्रोल वा विद्युतीय शक्तिबाट चल्ने भए पनि हुनेछ भने पेट्रोलियम इन्जिनको विस्थापन आयतन ९५ सीसीसम्म भएको हुनुपर्नेछ ।

विद्युतीयको हकमा कम्तीमा १.५ किलोवाट क्षमता भएको हुनुपर्नेछ । सवारी दर्ता प्रमाणपत्र र सवारी चालक अनुमतिपत्र अद्यावधिक भएको हुनुपर्नेछ ।

सवारी साधनको सञ्चालन अवधि १० वर्षभन्दा कम रहेको हुनुपर्ने छ तर, विद्युतीय सवारी भएमा १५ वर्षसम्म पुराना सवारी साधन प्रयोग गर्न बाधा पर्ने नपर्ने उल्लेख छ ।

पेट्रोलियम चारपांग्रे सवारी साधनको हकमा इन्जिनको विस्थापन आयतन कम्तीमा ७९० सीसी भएको हुनुपर्ने प्रावधान राखिएको छ । तर ट्याक्सी सेवा प्रदान गर्नेगरी कार्यालयबाट अनुमतिप्राप्त सवारी साधनको हकमा ७९० सीसीभन्दा कम भएमा समेत दर्ता गर्न बाधा पर्ने छैन ।

विद्युतीय शक्तिबाट सञ्चालन हुने सवारी साधनको हकमा कम्तीमा २० किलोवाट क्षमता भएको हुनुपर्ने व्यवस्था राखिएको छ । सवारी साधनको सञ्चालन अवधि १५ वर्षभन्दा कम रहेको हुनुपर्नेछ । तर विद्युतीय सवारी भएमा २० वर्षसम्म पुराना सवारी साधन प्रयोग गर्न बाधा नपर्ने नियमावलीमा छ ।

राइड सेयरिङ तथा सेल्फ ड्राइभिङ सेवामा प्रवेश सञ्चालन गर्नका लागि सवारी साधन गण्डकी प्रदेशमा नै अनिवार्य दर्ता भएको हुनुपर्नेछ ।

सवारीको दूरी र सुरक्षा

दुईपाङग्रे सवारी साधनले कुनै यात्रीलाई सेवा दिँदा सवारी साधनले बाटो इजाजत पाएको सञ्चालन क्षेत्रभित्र एक पटकमा प्रस्थान बिन्दुदेखि गन्तव्य बिन्दुसम्म बढीमा २० किमीको दूरीसम्म सेवा दिन पाउनेछ । सो दूरीभन्दा बढीका लागि सेवा खोज्न वा प्राप्त गर्न नसकिने गरी एपमै व्यवस्था भएको हुनुपर्ने उल्लेख छ ।

दुईपाङग्रे सवारी साधनले १० वर्ष उमेर नपुगेका बालबालिका वा ८० वर्ष पुगेका वृद्धवृद्धालाई सवारीमा यात्रीको रूपमा चढाई सेवा दिन नपाउने व्यवस्था गरिएको छ ।

सवारी चालक अनुमतिपत्र प्राप्त गरी कम्तीमा १८ वर्ष उमेर नपुगेको र एक वर्षको परीक्षणकाल पूरा नगरेको व्यक्ति राइड सेयरिङ सेवामा सवारी चालकको रूपमा काम गर्न योग्य हुने छैन ।

दुईपाङ्ग्रे सवारी साधनमा यात्रा गर्ने यात्रुले पनि अनिवार्य रूपमा हेलमेट लगाउनुपर्ने भएको छ । सेवा प्रदायकले गुणस्तरीय हेलमेटको व्यवस्था गर्नुपर्नेछ ।

राइड सेयरिङ सेवा प्रदायकसँग सेवाग्राहीले कुनै चालकको सम्बन्धमा गुनासो वा उजुरी गर्नु परेमा सिधै कम्पनीको हटलाइन नम्बरमा सम्पर्क गर्न मिल्ने व्यवस्था गर्नुपर्ने भएको छ ।

राइड सेयरिङ सेवामा आबद्ध हुने कुनै सवारी चालकले १ दिनको अवधिमा पटकपटक वा एकै पटक गरी १२ घण्टाभन्दा बढी समय काम गर्न पाउने छैन ।

चालक परिचयपत्रको व्यवस्था हुनुपर्ने

सेवा प्रदायकले आफ्ना प्रत्येक सवारी चालकको लागि सेवा प्रदायकको नाम तथा ठेगाना र सवारी चालकको नामथर, ठेगाना, सम्पर्क फोन नम्बर, नागरिकता प्रमाणपत्र नम्बर तथा जारी भएको जिल्ला, रक्त समूह र परिचयपत्र वहाल रहने अवधि उल्लेख गरिएको फोटो सहितको परिचयपत्रको व्यवस्था गर्नुपर्नेछ ।

सवारी चालकले यातायात सेवामा काम गर्दा प्रष्ट रूपमा देखिने गरी परिचयपत्र लगाउनुपर्नेछ ।

कुनै चालकले मादक पदार्थ वा लागुपदार्थ सेवन गरी सवारी चलाएको, यात्रीसँग दुर्व्यवहार गरेको वा गलत मनसाय राखी यात्रीलाई हानि-नोक्सानी हुने कुनै कार्य गरेको अवस्थामा सम्बन्धित यात्रीले प्रहरी कार्यालय वा सहायता कक्षमा उजुरी दिन सक्नेछ । त्यस्तो उजुरी प्राप्त भएको अवस्थामा सम्बन्धित सेवा प्रदायकले सो उजुरी उपरको कारबाही अन्तिम किनारा नलागेसम्म चालकलाई आफ्नो प्रणालीबाट तुरुन्त निलम्बन गर्नुपर्ने व्यवस्था गरिएको छ ।

कसुर गरेको प्रमाणित भएमा सम्बन्धित चालकलाई पहिलो पटकका लागि ३ महिनासम्म, दोस्रो पटकका लागि ६ महिनासम्म र तेस्रो पटकबाट सधैँका लागि सेवा प्रदान गर्न नपाउने गरी सेवा प्रदायकले प्रणालीमा निलम्बन गर्नुपर्ने नियमावलीमा व्यवस्था छ ।

कुनै यात्री वा सेवाग्राहीले नियतवश चालकलाई गम्भीर प्रकृतिको हानि नोक्सानी पुर्‍याएको वा पटकपटक चालकसँग दुर्व्यवहार गरेको प्रमाणित भएमा सम्बन्धित सेवा प्रदायकले त्यस्तो यात्रीलाई आफ्नो सेवा प्रयोग गर्न नपाउने गरी बन्देज लगाउने व्यवस्था नियमावलीले गरेको छ ।

बीमा र सामाजिक सुरक्षाको व्यवस्था

राइड सेयरिङ सेवा प्रदान गर्ने कम्पनी वा संस्थाले प्रत्येक सवारीको हकमा सवारी बीमा, चालक तथा यात्री बीमा र तेस्रो पक्ष बीमा गराएको हुनुपर्ने व्यवस्था गरिएको छ ।

बीमा कुनै चालक वा सवारी एउटा राइड सेयरिङ सेवा प्रदान गर्ने कम्पनी वा संस्था छाडी अर्को राइड सेयरिङ सेवा प्रदान गर्ने कम्पनी वा संस्था आबद्ध भएमा समेत मान्य हुने उल्लेख छ । तर यसका लागि सेवा प्रदायकले चालकसँग थप शुल्क लिन नपाउने नियमावलीमै व्यवस्था गरिएको छ ।

लेखक
अमृत सुवेदी

पोखरामा रहेर पत्रकारिता गरिरहेका सुवेदी अनलाइनखबरका गण्डकी प्रदेश ब्युरो प्रमुख हुन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?