+
+
Shares
मनमाैजी माननीय :

सदनमा विषय एक, बहस अनेक

सदनमा यतिबेला विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफल चलिरहेको छ । तर, छलफलमा सहभागी अधिकांश सांसदका अभिव्यक्ति विषयकेन्द्रित छैनन्, मनमौजी सुनिन्छन् ।

रघुनाथ बजगाईं रघुनाथ बजगाईं
२०८२ वैशाख ३१ गते २२:३०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • संसद्मा सांसदहरू आफ्ना विचारहरू खुलस्त रूपमा राख्न पाउने संवैधानिक व्यवस्था भएता पनि कहिलेकाहीं विषयकेन्द्रित हुनुपर्ने बहसमा पनि मनमाैजी सुनिन्छन् ।
  • सांसदहरूले आगामी बजेट सम्बन्धी विषयगत कार्यसूचीको छलफलमा भाग लिँदापनि र संविधान संशोधन जस्ता अनेक विषयमा बहस गरिरहेका छन् ।
  • नेपालको आर्थिक र सामाजिक अवस्था सुधार गर्न आवश्यक कदमहरू र नीति निर्माणमा सांसदहरूको सक्रियता र सुझाव महत्वपूर्ण छन्, जसले सरकारलाई सही दिशा दिन मद्दत गर्दछ।

३१ वैशाख, काठमाडौं । संसद्मा सांसदलाई आफ्ना कुरा राख्न कुनै बन्देज हुँदैछ । जनप्रतिनिधिलाई जनताको आवाज उठाउन कुनै बन्देज राख्न नहुने संसदीय मान्यता नै छ । यसकारण संसद्मा उठेको विषयमा मुद्दा नलाग्ने संवैधानिक व्यवस्था छ ।

तर, यसको प्रयोग यति भएको छ कि संसद्मा के विषयमा छलफल भइराखेको हो भनेर कतिपय अवस्थामा ठम्याउनै मुस्किल पर्छ ।

सांसदहरू निस्फिक्री विषय उठाइरहेका हुन्छन् । सुरुवाइ होस् वा नहोस् विषय राख्न छोड्दैनन् । यो शैली विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा पनि निरन्तर देखिएको छ ।

उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेलले २८ वैशाखमा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता संसद्मा प्रस्तुत गरेका थिए । त्यसमाथि बुधबार माओवादी केन्द्रका सांसद नारायणकाजी श्रेष्ठले २० मिनेट बोले ।

आगामी आर्थिक वर्षको बजेट यथास्थितिमा आउन नहुने बताएका उनले निरन्तरतामा क्रमभंगता हुनुपर्ने सुझाव दिए ।

‘अहिलेको आवश्यकता ठूलो संरचनात्मक सहितको क्रमभंगता हो । त्यसो नगरी हामीले देशलाई निकास दिन सक्दैनौं र संकटमा धकेलिनुबाट बचाउनु सकिँदैन । यो कुरामा गम्भीर ध्यान दिनु जरुरी छ,’ राष्ट्रिय सभा सदस्य श्रेष्ठको भनाइ थियो ।

क्रमभंगता के मा गर्ने ? श्रेष्ठको ठोस प्रस्ताव छैन । उनकै कुरा सुन्ने हो भने वर्तमान शासन प्रणाली दलाल र भ्रष्टाचारीलाई प्रोत्साहन गर्ने खालको छ । निर्वाचन प्रणाली महँगो र भ्रष्टिकृत छ ।

समस्या यस्तो छ भने समाधान कसरी गर्ने ? श्रेष्ठको प्रस्ताव छ– पहिलो, निर्वाचन प्रणाली फेर्ने र प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखमा जाने । दोस्रो, संसदभन्दा बाहिरबाट (सांसदबाहेकका व्यक्ति) मन्त्री नियुक्त गर्ने । यसो किन ? उनको तर्क छ– संसदबाहिरबाट विज्ञहरू मन्त्री नियुक्त गर्दा सांसदहरूलाई कानुन निर्माणमै केन्द्रित गर्न सकिन्छ ।

अनि यी प्रस्ताव बजेटमा समेटिने प्रस्ताव हुन् ? यसबारे श्रेष्ठ घोत्लिएनन् ।

राष्ट्रिय सभा सदस्य नारायणकाजी श्रेष्ठ ।

अर्थात, संसद्मा सरकारले आगामी आर्थिक वर्षको बजेट कस्तो ल्याउने भनेर सांसदहरूसँग सुझाव मागेको छ । तर, सांसदहरू संविधान संशोधन, वर्तमान सरकार गठन हुँदाको ७ बुँदे सहमतिको कार्यान्वयन, शासकीय स्वरूपको सबल र दुर्बल पक्ष केलाइरहेका छन् ।

जनतामा निराशा छ । अपेक्षित विकास भएन भन्ने गुनासो छ । तिनका असन्तोषलाई जनप्रतिनिधिले आफ्ना अभिव्यक्तिमार्फत संसद्मा प्रस्तुत गर्नु स्वभाविक हो । तर, के विषयमा छलफल भइराखेको छ ? के सुझाव दिँदा त्यसले अर्थ राख्छ भन्नेमा कमैले ध्यान दिएको पाइन्छ । अर्थात्, सदनमा विषयकेन्द्रित अभिव्यक्ति कमै मात्र सुनिन्छ ।

राष्ट्रिय सभा सदस्य बामदेव गौतम निराश जनतामा आश भर्न संविधान कार्यान्वयन र आवश्यक संशोधन गर्नुपर्ने बताउँछन् । अन्यथा, जनतामा निराशा बढेर जाने उनको चेतावनी छ ।

‘नेपालको संविधानमा नेपाल राज्यलाई चिनाउनका निम्ति समाजवादउन्मुख राज्य निर्माण गर्ने भनिएको छ, र त्यो समाजवादउन्मुख सबै नेताहरूको मुखमुखमा झुन्डिएको छ । तर समाजवाद बन्न सकेन,’ गौतमको ब्याख्या छ ।

समाजवाद ल्याउनका निम्ति शासन सत्तामा रहनेको व्यवहार सुर्धान आवश्यक रहेको उनको टिप्पणी छ ।

राष्ट्रिय सभा सदस्य बामदेव गौतम ।

‘गाउँमा जानुस्, बाटामा जानुस्, चिया पसलमा जानुस् चर्चा के भइरहेको छ ? इमानदारीताका साथ भन्नुस्– हाम्रो विरुद्ध चर्चा छ, यो व्यवस्थाको विरुद्ध चर्चा छ,’ गौतम भन्छन् ।

व्यक्ति वा नेता विरुद्धको चर्चा व्यवस्थाविरुद्धको चर्चा हो ? हो भने पनि यो विषय राख्ने ठाउँ र समय कहाँ र कुन हो ? सरकारले आगामी बजेटका लागि ल्याएका प्रस्तावमाथिको छलफलमा दिइने सुझाव यही हो होेइन ? गौतम पनि यसतर्फ घोत्लिँदैनन् ।

उनी, नेताहरू असुरक्षित देख्छन र संसद्मा त्यस्तै अभिव्यक्ति दिन्छन् । चियाचौतारामा चलिरहेका चर्चाले उनी आफैं कति सशंकित छन् भन्ने उनकै अभिव्यक्तिले झल्काउँछ ।

उनको थप आशंका छ, ‘व्यवस्था विरोधी चर्चाले गति लिइरहेको छ । त्यो गति एकदिन विष्फोट हुन्छ हामी सबै समाप्त हुन्छौं ।’

वर्तमान सरकार बनाउँदा नेपाली कांग्रेस र नेकपा एमालेले संविधान संशोधन गर्ने सहितका ७ बुँदे सहमति गरेका थिए ।

उक्त सहमतिको कार्यान्वयनको विषय सांसदले उठाउनु स्वभाविक हो । तर, संसद्मा के विषयमा छलफल भइराखेको छ भन्ने कम ख्याल गरेर यस्ता विषय उठिरहेका छन् ।

बजेटसँग आफूले उठाएका विषयको साइनो कति छ भन्ने ख्याल नगरी बोल्ने प्रवृति राष्ट्रिय सभा र प्रतिनिधि सभा दुवैमा देखिन्छ ।

नेपाली कांग्रेसका सांसद जितजंग बस्नेतले बुधबार संसद्मा आगामी वर्षको बजेट कस्तो ल्याउने भनेर सुझाव दिन ६ मिनेट समय पाए । तर, रोष्ट्रम पुगेपछि मुल विषय छाडेर अन्यत्रै मोडिए ।

सुरुमै संविधान संशोधनको विषय उठाए । ‘नेपालमा केही परिवर्तन गर्नुपर्छ । संविधान संशोधनको कुरा पनि आएको छ,’ उनले भने ।

के विषयमा संविधान संशेधन गर्ने ? बस्नेतको राय छ– ‘सबै तहका संरचनाहरू, स्थानीय निकायदेखि संघीय संरचना पनि घटाउनुपर्छ ।’

राष्ट्रिय सभा सदस्य जितजंग बस्नेत ।

यो विषय आफूले धेरै पहिलेदेखि उठाउँदै आएको स्मरण गर्दै उनले थपे, ‘वडा तहमा पाँच जना वडा सदस्य काम छैन, तीन जना भए पुग्छ । दलित, महिला र अन्य एक जना गरेर तीन जना भए पुग्छ ।’

प्रदेश र संघको संरचना पनि घटाउनुपर्ने उनको प्रस्ताव छ, ‘प्रदेशका संरचना पनि घटाउनुपर्‍यो, पाँच जना मन्त्री भए पुग्छ ।’

संघीय संसद्को आकार घटाउन प्रत्यक्ष निर्वाचित सांसदहरू प्रतिनिधि सभामा रहने र समानुपातिक सांसदहरू राष्ट्रिय सभामा रहने गरी संविधान संशोधन गर्नुपर्ने राय पनि सांसद बस्नेतले दिए ।

‘डाइरेक्ट जो पार्लियामेन्ट मेम्बर छन्, प्रतिनिधिसभामा बस्छन् । जो समानुपातिक वाला छन्, उनीहरू राष्ट्रिय सभामा बस्नुपर्‍यो । त्यसको पनि संरचना घटाउनुपर्‍यो’ उनले बुधबार सुझाए ।

यो सुझाव सरकारले नमागेरै सांसद बस्नेतबाट पाएको छ । उनलाई विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथिको छलफलका लागि समय दिइएको थियो । तर, त्यस भन्दा विल्कुल पृथक संविधान संशोधनको विषयमा उनले आफ्नो मत सुनाए । जुन मत संविधान संशोधनको विषयले सदनमा प्रवेश पाएको अवस्थामा प्रभावकारी बन्छ ।

हाल प्रतिनिधिसभा सदस्य निर्वाचन र राष्ट्रिय सभा सदस्यको निर्वाचन प्रणाली फरक–फरक छ । प्रतिनिधिसभा सदस्य निर्वाचनमै पनि दुई प्रकृति छ । प्रत्यक्ष निर्वाचित भएर १६५ जना आउँछन् भने पार्टीले पाएको मतका आधारमा समानुपातिक निर्वाचन प्रणाली अन्तर्गत ११० जना निर्वाचित हुन्छन् ।

राष्ट्रिय सभा सदस्यको मतदाता स्थानीय तहका प्रमुख र उपप्रमुख र प्रदेश सभा सदस्य हुन्छन् । प्रतिनिधिसभा सदस्यको चुनाव पाँच/पाँच वर्षमा हुन्छ । ५९ सदस्यीय राष्ट्रिय सभा सदस्यको चुनाव प्रत्येक दुई/दुई वर्षमा एकतिहाइ निर्वाचित भएर आउँछन् ।

राष्ट्रिय सभामा समानुपातिक निर्वाचन प्रणाली अन्तर्गत निर्वाचित भएकालाई राख्ने हो भने राष्ट्रिय सभा स्थायी सदनको रूपमा नरहन सक्छ ।

राष्ट्रिय सभा सदस्य निर्वाचन चुन्ने स्थानीय तहका प्रमुख र उपप्रमुख तथा प्रदेश सभा सदस्यको अधिकार खोसिन्छ । यी यावत विषयमा के गर्ने ? यसबारे सांसद बस्नेतको कुनै ब्याख्या र राय छैन ।

सांसद बस्नेतले नमागेको विषयमा दिएको सुझावमा धेरै अध्ययन र ठोस राय दिन आवश्यक ठानेनन् । किनभने, बजेटमा निर्वाचन प्रणाली के गर्ने ? राज्यका संरचना कस्तो बनाउने वा बदल्ने भनेर समेटिँदैन् ।

संसद्मा छलफलको विषय एउटा हुने तर, सांसद्का राय वा बहस अर्कैतिर मोडिने प्रवृत्ति प्रति कतिपय सांसदहरू नै असन्तुष्ट छन् ।

नेपाली कांग्रेसका सांसद अर्जुनरसिंह केसीका अनुसार यतिबेला सरकारलाई नेपालको अर्थतन्त्रको वर्तमान अवस्था, समस्याको सही पहिचान गरेर अगाडि जाने बाटो देखाउन सक्नुपर्ने छ ।

‘नेपाल सम्पति शुद्धीकरणमा ग्रे लिस्टमा परेको छ । हरेक वर्ष भ्रष्टाचारको अंकमा एक श्रेणी बढ्दै गएको छ,’ उनी भन्छन्, ‘यो अन्तराष्ट्रिय परिस्थिति चिर्न सक्नुपर्ने चुनौती नेपालसामू छ ।’

नेपालको व्यापार घाटाको अवस्था अत्यन्तै निराशाजनक छ । ‘ब्यापार घाटा हरेक महिना सवा खर्बदेखि डेढ खर्ब पुग्ने स्थिति छ । नेपालको वर्तमान राष्ट्रिय परिस्थितिको चित्रण यही हो,’ सांसद केसीको ब्याख्या छ ।

राष्ट्रिय र अन्तर्राष्ट्रिय परिस्थितिलाई ख्याल गर्दै सीमित साधन–स्रोत परिचलान गरेर अधिकतम प्रतिफल लिने गरी बजेट बनाउन कसरी सकिन्छ ? यो प्रश्नको जवाफ सांसदहरूले दिन सक्नुपर्ने र सरकारले सांसदहरूका राय बजेट समेट्नुपर्ने सांसद केसीको भनाइ छ ।

अन्यथा, नेपालको अर्थतन्त्रमा सुधार नहुने र नागरिकको समग्र अवस्थामा सुधार ल्याउन नसकिने हुन्छ । यस्तो अवस्थाले जनतामा थप निराशा बढाउने सांसद केसी बताउँछन् ।

प्रतिनिधिसभा सदस्य अर्जुननरसिंह केसी ।

संविधानले नागरिकका लागि ३१ वटा मौलिक हक सुनिश्चित गरेको छ । आधारभूत तहसम्म निःशुल्क र अनिवार्य शिक्षालाई ज्ञारेण्टी गरिएको छ । तर, संविधान जारी भएको एक दशकसम्म यो हकको अनुभुत जनताले गर्न पाएका छैनन् ।

रोजगारी संविधानतः मौलिक हक हो । तर, स्वदेशमा रोजगारी नपाएकै कारण विदेशिने युवा जनशक्ति बढ्दो छ । स्वदेशमै स्वरोजगार हुने र यस निम्ति युवालाई प्रोत्साहन गर्ने नीति राज्यले लिन सकेको छैन ।

स्वास्थ्य उपचार मौलिक हक हो । तर, उपचार नपाएरै नागरिकले ज्यान गुमाउनु परिरहेको छ ।

नागरिक भएकै कारणबाट राज्यबाट प्राप्त गर्नुपर्ने शिक्षा, स्वास्थ्य, रोजगारी जस्ता न्युनतम आवश्यकता र मौलिक हक कार्यान्वयनमा आउन सकेका छैनन् । परिणाममा नेपालको मानव अधिकारको अवस्था समेत अन्तराष्ट्रिय रूपमा खस्कँदो छ ।

सांसद केसीका अनुसार यी विषयलाई सम्बोधन गर्ने ठोस योजना र आवश्यक रकम विनियोजन गर्नुपर्छ । यस निम्ति सांसदहरूले आफ्नो विवेक र क्षमता अनुसारको सहयोग सरकारलाइ गर्नुपर्छ । यसो हुन सक्दा संसदीय छलफलको औचित्य थप स्थापित हुनेछ ।

लेखक
रघुनाथ बजगाईं

अनलाइनखबरको राजनीतिक ब्यूरोमा आबद्ध बजगाईं संसदीय मामिलामा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?