+
+
Shares

इमाडोलको घरमा रुमलिएको जनमतको विवाद, निलम्बित कोषाध्यक्षसँग मागियो झन्डै २ करोड

जनमतका नेताहरूको यो विवाद भने ललितपुरको इमाडोलको एक घरबाट सुरु भएको देखिन्छ । शिवा आलेको नाममा रहेको महालक्ष्मी नगरपालिका–४ इमाडोलमा रहेको कित्ता नम्बर ९४३ को १४३.१२ वर्गमिटरमा (साढे चार आना) तीन तले आठ कोठे घरको विवादले अहिले अदालतसम्मको रूप लिएको छ ।

नारायण अधिकारी नारायण अधिकारी
२०८२ जेठ २ गते १७:४८
सुरेन्द्रनारायण यादव

News Summary

Generated by OK AI. Editorially reviewed.
  • जनमत पार्टीका निलम्बित कोषाध्यक्ष सुरेन्द्रनारायण यादवलाई ठगीको आरोपमा पक्राउ गरी अनुसन्धान भइरहेको छ। उनीमाथि पार्टीको रकम हिनामिना गरेको आरोप छ।
  • यादव र उनका पत्नीविरुद्ध ललितपुर जिल्ला अदालतमा मुद्दा दायर भएको छ ।

२ जेठ, काठमाडौं । जनमत पार्टीका निलम्बित कोषाध्यक्ष सुरेन्द्रनारायण यादव ७ वैशाखदेखि जिल्ला प्रहरी परिसर जावलाखेल, ललितपुरको हिरासतमा छन् । सप्तरीबाट पक्राउ परेका यादवलाई त्यसैदिन ललितपुर ल्याइएको थियो ।

ललितपुर जिल्ला अदालतबाट ठगी कसुरमा म्याद लिँदै उनीमाथि प्रहरीले अनुसन्धान अघि बढायो । हिरासतमै रहेका बेला यादवकै तर्फबाट पत्नी ललिताकुमारी यादवले सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको रिट दायर गर्दै हिरासतमुक्त हुनुपर्ने माग गरिन् ।

तर, सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुँयाल र तिलप्रसाद श्रेष्ठको इजलासले ३० वैशाखमा रिट खारेज गर्दै निलम्बित कोषाध्यक्ष यादवको पक्राउलाई कानुनसम्मत ठहर गरिदियो ।

त्यसपछि भने यो विवादमा निलम्बित कोषाध्यक्षमाथि थप अनुसन्धानका लागि प्रहरीलाई बाटो खुल्यो । यो मुद्दा अहिले ललितपुर जिल्ला अदालतमा पुगिसेकेको । परिसर ललितपुरले गरेको अनुसन्धान प्रतिवेदनका आधारमा जिल्ला न्यायाधिवक्ता लोकबहादुर कटुवालले शुक्रबार ललितपुर जिल्ला अदालतमा मुद्दा दायर गरेका छन् ।

जसमा यादवका साथै उनकी श्रीमती ललिताकुमारी यादव गरी दुई जनालाई प्रतिवादी बनाइएको छ । यसअघि श्रीमान् पक्राउ परेपछि बन्दीप्रत्यक्षीकरणको रिट दायर गरेकी ललितालाई फरार प्रतिवादी बनाइएको छ ।

जनमत पार्टीका नेताहरूले भने एक करोड ७ लाख २५ हजार रुपैयाँ घरजग्गा खरिदका लागि भनेर यादवलाई दिएको दाबी गरेका छन् ।

ठगीको कसुरमा उनीहरू दुई जनाबाट १ करोड ८५ लाख १ हजार रुपैयाँ बिगो असुल उपर गर्नुपर्ने माग गरिएको छ । मुलुकी फौजदारी अपराध संहिता २०७४ को दफा २४९ को कसुर गरेको भन्दै उनीहरूविरुद्ध जनमत पार्टीका प्रवक्ता डा. शरदसिंह यादवले किटानी जाहेरी दिएका थिए । सोही अनुसार उनीहरूसँग बिगो, क्षतिपूर्ति र कैद सजाय समेत माग गर्दै मुद्दा दायर भएको छ ।

ललितपुर जिल्ला अदालतका न्यायाधीश टेकराज जोशीको इजलासमा यादवविरुद्धको सुनुवाइ भएको छ । आज सुनुवाइ नसकिएकाले हेर्दाहेर्दैमा राखिएको छ । थुनछेक बहस सकिएपछि पुर्पक्षका लागि थुनामा पठाउने वा साधारण तारेख तथा धरौटीमा रिहा मध्ये एक आदेश आउनेछ ।

इमाडोलको घर विवाद पार्टी हुँदै जब अदालत पुग्यो

जनमतका नेताहरूको यो विवाद भने ललितपुरको इमाडोलको एक घरबाट सुरु भएको देखिन्छ । शिवा आलेको नाममा रहेको महालक्ष्मी नगरपालिका-४ इमाडोलमा रहेको कित्ता नम्बर ९४३ को १४३.१२ वर्गमिटरमा (साढे चार आना) तीन तले आठ कोठे घरको विवादले अहिले अदालतसम्मको रूप लिएको छ ।

यो खरिदका लागि भने जनमत पार्टीको सचिवालयले नै निर्णय गरेर कोषाध्यक्ष समेत रहेका यादवलाई जिम्मा दिएको बताइएको छ । तर अनुसन्धानका क्रममा लिखित माइन्युट भने कतै नदेखिएको जिल्ला प्रहरी परिसर ललितपुरका प्रमुख तथा एसएसपी श्यामकृष्ण अधिकारी बताउँछन् ।

‘घर किन्ने भन्ने पार्टीको लिखित निर्णय देखिँदैन । तर जनमत पार्टीका नेताहरू भने मौखिक रूपमा किन्ने निर्णय भएर रकम समेत हालेको दाबी गर्नुहुन्छ,’ एसएसपी अधिकारीले अनलाइनखबरसँग भने ।

जनमत पार्टीका नेताहरूले भने एक करोड ७ लाख २५ हजार रुपैयाँ घरजग्गा खरिदका लागि भनेर यादवलाई दिएको दाबी गरेका छन् ।

यो घर खरिदका लागि भनेर जनमतका सांसद भाग्यश्रीकुमारी चौधरीले १५ लाख, सांसद हसिना खातुनले १४ लाख बबिताकुमारी राउत इसरले ८ लाख ७५ हजार, सांसद सोनु मुर्मुले १५ लाख, सांसद रन्जुकुमारी मण्डलले १४ लाख ५० हजार, सांसद महेशप्रसाद यादवको तर्फबाट उनका साथी कृष्णचन्द्र मण्डलले ८ लाख, वसन्त कुशवाहले ३२ लाख तत्कालीन कोषाध्यक्ष यादवको बैंक खातामा हालेको दाबी गरेका छन् ।

यो घर खरिद गरेपछि बैंकमा राखेर लिएको ऋणको किस्ता बापत ३९ लाख ७७ हजार रुपैयाँ पार्टीका तर्फबाट शिवनारायण महतोले तिरेको भन्दै एक करोड ८५ लाख १ हजार यादवले घोटाला गरेको बताइएको छ ।

करिब दुई वर्षअघि जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त राउत (सीके) ले काठमाडौंमा पार्टीका लागि भवन खरिद गर्न भन्दै यादवलाई जिम्मा दिएको बताइन्छ । यादवले घर किन्दै आफ्नी श्रीमती ललिताकुमारीको नाममा जेठ २०८० मा पास गरेका थिए ।

तर, यसको करिब दुई वर्षपछि मात्रै यो विवाद सतहमा आएको छ । यो घरमा अहिले पनि डा. सीके राउत पनि बस्दै आएका छन् । ललिताको नाममा घर रहेको थाहा पाएपछि नामसारी गरिदिन भन्दा नगरेपछि प्रहरीमा जाहेरी दिनु परेको सीकेले बयानमा उल्लेख गरेका छन् ।

सीके राउतलाई समेत मासिक २५ हजार भाडामा आफूले बस्न दिएको तर, पछिल्लो समय सीके राउतको श्रीमतीसँग सम्बन्धमा दरार आएपछि घरको विषय बाहिर निकालिएको आरोप उनको छ ।

यो घर एक करोड ५० लाखमा खरिद गरी श्रीमतीको नाममा नामसारी पास गरेपछि त्यही घर राखेर गरिमा विकास बैंकबाट एक करोड ४९ लाख रुपैयाँ कर्जा लिएको पनि अनुसन्धानबाट खुलेको छ । यही ऋणको किस्ता जनमत पार्टीले तिरेको भन्दै उनीहरूले भौचर समेत पेस गरेका छन् ।

घर खरिदको गरेको दुई वर्षपछि पार्टीको नाममा नामसारी गर्न भन्दा नगरी ठगी गरेको आरोप यादवमाथि छ । अनुसन्धानका क्रममा समेत सीके र यादवबीच सामाजिक सञ्जाल ह्वाट्स एपमा घर खरिदको बारेमा कुराकानी भएको प्रमाण प्रहरीले फेला पारेको छ । ‘घर पार्टीको नाममा नामसारी गरिदिनुहोस् भन्दा अहिले म कतारमा छु । मेरो खातामा रकम जम्मा गरिदिनुहोस् भनी बैंक खाता उपलब्ध गराएको देखिन्छ,’ एक अनुसन्धान अधिकृतले भने, ‘रकम आएपछि काठमाडौं फर्केर घर नामसारी गरिदिने भनेको पनि देखिन्छ ।’

पछि घर नामसारी गर्न निरन्तर दबाब दिएपछि घर खरिद गर्दा आफ्नो २४ लाख रुपैयाँ परेको त्यसको ब्याजसहित ४० लाख रुपैयाँ हाल्न भनेकाले त्यस वापतको ३७ लाख ९९ हजार हालेको बताइएको छ । यसको बैंक स्टेटमेन्ट समेत पेस भएको छ ।

घर किन्नेदेखि फिर्ता गर्नेबारेसम्म भएको ह्वाट्स एप कुराकानी, रकम हालेको बैंक स्टेटमेन्ट, किस्ता वापतको रकम तिरेको बैंक स्टेटमेन्ट लगायत प्रमाणलाई आधार बनाउँदै प्रहरीले पनि कोषाध्यक्ष यादवले नै ठगी गरेको निष्कर्ष निकालेको छ । यसैलाई आधार बनाउँदै उनीविरुद्ध मुद्दा दायर भएको हो ।

‘चुनावको बेला गरेको खर्च तिरेका हुन्’

प्रहरी हिरासतमा रहेका निलम्बित कोषाध्यक्ष यादवले भने रकम लिएको विषय इन्कार गरेका छैनन् । तर उक्त रकम भने चुनावको बेला जनमतका नेताहरूले खर्च गरेकाले त्यही रकम फिर्ता गरेको दाबी गर्दै बयान दिएका छन् ।

ह्वाट्स एपमा सीके राउतसँग माग गरिएको ४० लाख प्रतिनिधिसभा र प्रदेशसभा चुनावमा गरेको खर्चको माग गरेको उनको दाबी छ । त्यसको ब्याजसहति ४० लाख भएकाले ४० लाख हाल्नु भनेर बैंक खाता दिएको दाबी उनले गरेका छन् ।

सीके राउतलाई समेत मासिक २५ हजार भाडामा आफूले बस्न दिएको तर, पछिल्लो समय सीके राउतको श्रीमतीसँग सम्बन्धमा दरार आएपछि घरको विषय बाहिर निकालिएको आरोप उनको छ ।

लेखक
नारायण अधिकारी

अधिकारी अनलाइनखबरका लागि सुरक्षा, अपराध विषयमा रिपोर्टिङ गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?