
News Summary
Generated by OK AI. Editorially reviewed.- सरकारले स्टार्टअप नीतिका कार्यान्वयन र मेन्टरिङमा ध्यान नदिएर समस्या सिर्जना भएको बताए।
- नेपालमा स्टार्टअपलाई सफल बनाउन नीति र रणनीति कार्यान्वयन आवश्यक छ।
- भारतको जस्तै स्टार्टअप नीति र कार्यक्रमलाई प्रभावकारी रुपमा लागू गर्न आवश्यक रहेको सुझाव दिइएको छ।
सरकारले ‘स्टार्टअप’ भनेर वर्षेनि नीति तथा कार्यक्रममा समेट्ने, नीति बनाउने, बजेट छुट्याउने तर कुनै पनि विषय कार्यान्वयनमा नआउनुका कारण यस विषयमा जति अध्ययन र ज्ञान चाहिने हो त्यो नपुगेर हो ।
जसले नीति निर्माण गर्नुहुन्छ, जसले घोषणा गर्नुहुन्छ, जसले बजेट छुट्याउनुहुन्छ उहाँहरू कसैले पनि यो विषयमा बुझेको वा अध्ययन गरेको देखिँदैन । अहिले देखिएका जति पनि समस्या छन्, यो सबै यसका कारण आएको हो ।
पहिला पनि सरकारले तीन–चार पटक स्टार्टअप उद्यमीलाई सहुलियतपूर्ण कर्जा दिने भनेर घोषणा गर्ने र आवेदन लिने काम पनि गरेको थियो । तर, स्टार्टअप भनेको के हो भन्ने परिभाषा राज्यले कतै पनि परिभाषित गरेको थिएन । यसले गर्दा के हो त स्टार्टअप, कसलाई दिने त अनुदान भन्ने अन्यौल थियो ।
म नेपाल उद्योग वाणिज्य महासंघमा हुँदा नै यससम्बन्धी नीति बनाउनुपर्छ भनेर लागिरहेको बेला सहुलियतपूर्ण कर्जाका लागि कार्यविधि हुनुपर्छ र त्यसमा स्टार्टअपलाई परिभाषित गरिनुपर्छ भनेर परिभाषा सहितको कार्यविधि बनायौं । त्यही कार्यविधिलाई नै टेकेर पछिल्लो दुई वर्षमा स्टार्टअप उद्यमीले सहुलियत रकम पाएका छन् । अघिल्लो वर्ष २५ करोड रुपैयाँ दिइएको थियो भने यो वर्ष १ अर्ब सहुलियतपूर्ण ऋण प्रवाह गरिने भन्ने छ ।
स्टार्टअप उद्यमीलाई सहुलियतपूर्ण ऋण प्रवाह भयो त ? भन्ने प्रश्न धेरै उठेको छ । यो कार्यक्रम ऋण मात्रै दिएर सफल हुनेवाला छैन । किनभने, यो कार्यविधिमा ऋण दिने भन्ने एउटा पाटो मात्रै हो । त्योभन्दा बाहेक पनि अन्य पाटाहरू छन् जसमा सरकारले काम गरेको देखिँदैन । जस्तै, सरकारले जसलाई ऋण दिन्छ उसले रकम मात्रै पाएर व्यवसाय सफल हुने वातावरण बन्दैन । ऋण पाएर उसलाई केही सहज होला तर सफल बन्न गाह्रो छ । सफल बनाउनका लागि मेन्टरिङ (मार्गनिर्देश) हुन जरुरी छ ।
सरकारले आफ्ना तर्फबाट नै मेन्टर (मार्गनिर्देशक) को सूची बनाएर मेन्टरिङ गराउनुपर्छ । तर, अहिले सरकारले सहुलियत ऋण कर्जा दिँदै गर्दा मेन्टर असाइनमेन्ट भएको देखिँदैन । मेन्टरिङको पाटो नै छोइएको देखिँदैन । यसो हुँदा उद्यमीले रकम पायो, उसले जे सोचेको छ त्यही व्यापारमा लगायो र त्यो सोच गलत रहेछ भने उद्यम डुब्छ ।
सुन्दा आइडिया राम्रो छ, उसले प्रस्तुति पनि राम्रो गर्यो, प्रस्ताव पनि राम्रो छ । तर, कार्यान्वयन गर्दा थुप्रै चुनौती आउँछन् । त्यो चुनौतीका लागि कुनै न कुनै अनुभवी व्यक्तिले गाइड गर्नु, सल्लाह सुझाव दिन जरुरी हुन्छ । जसका लागि हामीले मेन्टरिङ प्रोग्राम गर्नुपर्छ । जुन विश्वस्तरीय प्रोग्राम हो । यो प्रोग्रामले विश्वमा सबैतिर स्टार्टअपलाई मेन्टरिङ हुनुपर्छ भनेर मान्यता दिएकोे छ । त्यो अनुसार नै हामीले नीति तथा कार्यविधिमा मेन्टरसिप हुनुपर्छ भनेर मेन्टरसिपको अवधि तोकेर मेन्टरहरू कस्तो हुनुपर्छ भन्ने पनि खुलाएरै पठाएका थियौं ।
मेन्टर असाइन मात्रै होइन, मेन्टर र मेन्टी दुवैले मेन्टरसिप प्रोग्रामको एउटा खाका हामीले बनाइदिएका छौं, त्यसलाई फलो गर्नुपर्छ । हरेक महिना दुई पटक भेट्नुपर्ने, मिटिङ गर्नुपर्ने, रिपोर्टिङ गर्नुपर्ने लगायत थुप्रै कुरा समावेश छन् । यी सबै विषय कार्यान्वयन नभएसम्म यो ऋण फर्किएर आउँदैन ।
ऋण भनेको फर्किएर आउनुपर्छ । सरकारले हरेक वर्ष अनुदान स्वरूप १ अर्ब दिने होइन । सरकारले २ अर्ब रुपैयाँ छुट्याइदियो र तीन वर्षपछि १ अर्ब मात्रै फकिर्यो भने त्यो पनि फेरि साइकलमा जानुपर्यो । ताकि, सरकारले विभिन्न वर्षमा ५–७ अर्ब रुपैयाँ छुट्याइदियो भने त्यो साइकलमा ५–७ अर्ब घुमिरहनुपर्यो । अनि, उद्यमीहरू पनि ४–५ वर्षमा ठूलो उद्यमीका रूपमा स्थापित हुँदै जान्छन् । आइडिया यो हो । तर, अन्य कार्यक्रमहरूमा अझै पनि केही नभएको हुँदा यसले डर बढाइरहेको छ ।
सरकारले ऋण प्रवाह गर्दै जाने, उद्यमीले लिँदै जाने र नबुझेर, थाहा नपाएर अनुभवको कमीले गर्दा व्यापार डुबेको खण्डमा सरकारको यो सम्पूर्ण रकम डुब्ने सम्भावना अत्यन्तै उच्च छ । यस कारण कार्यविधिमा भएका अन्य कुरा जुन राष्ट्रिय स्टार्टअप नीतिमा पनि हामीले बोलेका छौं, त्यो कार्यान्वयन हुनै पर्छ । स्टार्टअप नीतिले थुप्रै कार्यक्रमहरू बोलेको छ ।
नीति मात्रै भएर भएन, रणनीति पनि चाहियो । रणनीतिसँगै त्यसलाई कार्यान्वयन गर्नका लागि कार्यविधि पनि चाहिन्छ भनेर इनोभेसन सेन्टरको कार्यविधि पनि बनाउन सहयोग गर्यौं र बन्यो पनि । तर, यी सबै पाटोहरू जबसम्म एकमुष्ट रूपमा अगाडि बढ्दैन तबसम्म यसले सफलता हासिल गर्न सक्दैन ।
हामीले यतिजना युवालाई ऋण दियौं भनेर भाषण गर्न त मिल्ला तर त्यसको उपलब्धि के हुन्छ भन्ने कुरामा सधैं दुविधा रहन्छ ।
सरकारले अहिले दिएको सहुलियत कर्जा व्यापार र आइडियाका लागि हो । यसमा धितो राखिएको छैन । र, यो कर्जा कुन–कुन शीर्षकमा खर्च गर्न पाउने भनेर राखिएको छ । त्यो हिसाबले यदि व्यापार व्यवसाय डुबेको खण्डमा यो कर्जा पनि डुब्छ । यसमा कर्जा सुरक्षण बीमा गरिएको छ भनिएको छ । यसै आधारमा बीमाले पैसा फिर्ता दियो भने दियो नत्र उद्यमी–व्यवसायीले फिर्ता गर्न सक्ने अवस्था रहँदैन । यो एउटा जोखिम छ । यो जोखिमलाई नै न्यूनीकरण गर्न मेन्टरसिप प्रोग्राम हुनुपर्छ । व्यवसायीलाई बजारको वातावरण बनाइदिनुपर्छ ।
भारतको स्टार्टटअपको कुरा गर्नुपर्दा ‘मेक इन इन्डिया’ भन्ने कार्यक्रम सञ्चालनमा आयो । सोही कार्यक्रमका कारण नै भारतमा स्टार्टअपहरूले आफ्नो बजार प्राप्त गरे । बजार प्राप्त भएकै कारण उनीहरू सुचारु हुन सके, सञ्चालन हुन सके र कुनै त युनिकर्न नै बने । सरकारले नै सहुलियत दिएर निर्यातको वातावरण बनाइदियो । उत्पादित सामग्री निर्यात भए । स्टार्टअपलाई दिगो बनाउन सरकारले चारतिरबाट सहयोग पुर्यायो ।
हाम्रो अवस्था के छ भन्दा ऋण दिने काम गरिरहेका छौं । त्योभन्दा बाहेक गर्नुपर्ने काममा भने हामी अगाडि बढेका छैनौं । जबकि, हाम्रो स्टार्टअप नीतिमा यी सबै कुरा समावेश छन् । त्यसैले नीति बनाएर मात्रै हुँदैन । कार्यान्वयन गर्नुपर्छ भनेर हामीले बारम्बार घचघचाएकै कुरा हो ।
चुनौती के छ ?
हामीलाई स्टार्टअप बजार बनाउनुपर्ने चुनौती छ । हामीले उद्यमी क्रिएट गरेर नयाँ–नयाँ उत्पादन बनाउन लगाएर मात्रै हुँदैन । त्यसका लागि बजार पनि चाहिन्छ । उदाहरणका लागि सरकारले किवी खेती गर्नुपर्छ भनेर तालिम पनि दियो, सहुलियतमा कर्जा पनि दियो, किवी उत्पादन पनि भयो । उत्पादन धेरै हुँदा त्यसको भाउ घट्यो । नेपालमा किवीको कति आवश्यकता छ त्योभन्दा बढी उत्पादन हुँदा भाउ घट्यो, बिक्री भएन, किसानलाई गाह्रो भयो । उनीहरू डुबे पनि ।
अब यसमा हुनुपर्ने के थियो भने किवी कार्यक्रम सञ्चालन गर्दै गर्दा किवीको बजार सरकारले बनाइदिनुपर्थ्यो । बजार बनाउने काम गर्दै गर्दा निर्यातका लागि कहाँ सम्भावना छ, त्यो पत्ता लगाउनुपर्थ्यो । र, सँगसँगै किवीको विभिन्न प्रडक्ट बनाउन सकिन्छ भनेर तालिम पनि दिएको भए बाँकी रहेको किवीको उपयोग हुन पाउँथ्यो । प्रिमियममा बेच्न पाइन्थ्यो । यसो हुँदा उत्पादन खेर जान पाउँदैन । जुन कुरा सरकारले नगर्दा किसान मारमा परेको गुनासो आइरहन्छ ।
स्टार्टअप नीतिले माथि उल्लेख गरेको सबै कुरा बोलेको छ । मात्रै खाँचो कार्यान्वयनको हो । तर, त्यो पाटो कसैले पल्टाएर हेरेको छ कि छैन भन्नेमै दुविधा छ । अर्को भनेको टेक्नोलोजी इन्टरभेन्सन गरिरहेका स्टार्टअपको नयाँ–नयाँ आइडियाका लागि अन्य मन्त्रालय तथा नीतिहरूले रोकिरहेको हुन्छ । त्यसलाई पनि फुकुवा गर्ने काम सरकारले गरिदिनुपर्छ । त्यो गरिएन भने टेक्नोलोजिकल्ली इन्भेन्सन गरिरहेका नयाँलाई समस्या पर्छ । त्यस्तो समस्या हामीले सुरुमा टुटलमा देख्यौं । राइड सेयरिङ नीतिको कन्टेक्सबाट उनीहरूलाई बारम्बार झमेला बेहोर्नुपरेको थियो । यस्ता समस्या समाधानका सुझाव पनि नीतिमै राखिएको छ । तर, काम भएको छैन ।
स्टार्टअपमा भारतको अनुभव
छिमेकी भारतले स्टार्टअपलाई उद्योग मन्त्रालय अन्तर्गत नराखेर प्रधानमन्त्री कार्यालयमा राख्यो । यो नेपालले भारतबाट स्टार्टअपमा सिक्नुपर्ने पहिलो पाठ हो । भारतले स्टार्टअप नीतिलाई तुरुन्तै कार्यान्वयन गर्यो । नीति ल्याउँदै गर्दा मेक इन इन्डिया कार्यक्रमलाई पनि प्रधानमन्त्री कार्यालयकै मातहत राखियो । उक्त कार्यक्रमलाई वृहत्तर प्रचारप्रसार गरेर धेरै ठूलो बनाइयो । स्टार्टअपमा चाहिने अन्तर्राष्ट्रिय लगानी र लगानीकर्तालाई पनि सहज वातावरण गराइयो । यसमा प्रोत्साहन गर्नका लागि बाहिरबाट लगानी ल्याउने हो भने एकदिनमा नै त्यो लगानीलाई प्रोसेस गराउने वातावरण मिलाइयो ।
अब नेपालको कुरा गर्ने हो भने बाहिरी लगानी नेपालमा ल्याइयो भने राष्ट्र बैंकमा मात्रै ६ महिनादेखि ८ महिना झुलिनुपर्छ । त्यो पैसा आफ्नो बैंक एकाउन्टमा आउनका लागि डेढदेखि २ वर्ष लागेको अवस्था छ । त्यो कुनुपर्ने समयसम्म स्टार्टअपको आइडिया, बिजनेस मोटिभेसन सबै सकिइसकेको हुन्छ । र, लगानी गर्ने विदेशी पनि दिक्क मानेर फर्किसकेको हुन्छ ।
हाम्रो अवस्था यो हुँदा भारत सरकारले २४ घण्टाभित्र सम्पूर्ण रकम वितरण गराउनका लागि भारतीय रिजर्भ बैंकलाई निर्देशन दिएको छ । भारतको जस्तो स्टार्टटअप व्यवस्था जबसम्म नेपालमा आउँदैन र नेताहरूले स्टार्टअप भनेको युवाहरूलाई भुलाउने माध्यम हो भनेर सोच्न छाड्दैनन्, तबसम्म क्रान्ति सम्भव छैन ।
स्टार्टअप भनेको युवा भुलाउने काम होइन । यसले देशको कायापलट गर्न सक्छ । भारतमा हरेक महिना दर्जनौं युनिकर्न जन्मिरहेका छन् । भारतको स्टार्टअप नीतिमै युनिकर्न जन्माउने कुरा परेको छ । त्यसको रणनीति कार्यान्वयन भएर नै त्यो सम्भव भएको हो । सबैभन्दा ठूलो कुरा भनेकै इच्छाशक्ति र कार्यान्वयन हो । त्यसमा हामी चुकेका छौं ।
(लेखक आचार्य प्रिज्मा एडभर्टाइजिङका प्रबन्ध निर्देशक हुन् ।)
प्रतिक्रिया 4