+
+
Shares

अख्तियारमा वीरगञ्ज महानगरसम्बन्धी उजुरी धेरै

अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पर्साका १४ पालिकामध्ये सबैभन्दा धेरै वीरगञ्ज महानगरकाका कामकारबाहीसम्बन्धी उजुरी परेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ ९ गते १६:५६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • पर्साका १४ पालिकामध्ये अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा वीरगञ्ज महानगरपालिका सम्बन्धी सबैभन्दा बढी उजुरी परेका छन्।
  • आयोगका अनुसार चालु आर्थिक वर्षको १० महिनामा वीरगञ्ज महानगरसँग सम्बन्धित १४१ उजुरी परेका छन् ।
  • प्रहरी नायब उपरीक्षक राजीव श्रेष्ठले सार्वजनिक खरिद र निर्माण प्रक्रियामा धेरै उजुरी आउने गरेको जानकारी दिए ।

९ जेठ, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पर्साका १४ पालिकामध्ये सबैभन्दा धेरै वीरगञ्ज महानगरपालिकाका कामकारबाहीसम्बन्धी उजुरी परेका छन् ।

आयोगको हेटौंडा कार्यालयका अनुसार चालु आर्थिक वर्षको १० महिनामा वीरगञ्ज महानगरसम्बन्धी १४१ उजुरी परेका छन् । कार्यालयका प्रहरी नायब उपरीक्षक राजीव श्रेष्ठले पर्साका पालिकामध्ये सबैभन्दा धेरै उजुरी वीरगञ्ज महानगरकाको परेको जानकारी दिए ।

‘चालु आर्थिक वर्षको १० महिनामा वीरगञ्ज महानगरमा १४१ उजुरी परेका छन्,’ उनले भने, ‘सोही अवधिमा पटेर्वा सुगौली र जिराभवानी गाउँपालिकाको उजुरी भने शून्य रहेको छ ।’

कार्यालयका अनुसार चालु आवको वैशाख मसान्तसम्म छिपरमाई गाउँपालिकामा १०४ उजुरी परेका छन् । यस्तै, बहुदरमाइमा २३, पोखरियामा २९, कालिकामाइमा छ, पकाहाँमैनपुरमा १७, जगरनाथपुरमा चार, धोबिनीमा १०, विन्दावासिनीमा आठ उजुरी परेका छन् ।

यस्तै, पर्सागढीमा चार, सखुवाप्रसौनी र ठोरी गाउँपालिकाका तीन/तीनवटा उजुरी परेका छन् । चालु आवको १० महिनामा जिल्लाका स्थानीय तहसम्बन्धी ३५२ वटा उजुरी परेका छन् जबकि गत आवभरिमा १७२ वटा उजुरी परेका थिए ।

कार्यालयका अनुसार चालु आवको १० महिनाको अवधिमा वीरगञ्ज महानगरसम्बन्धी १०२ उजुरी फछ्र्यौट भएका छन् । यस्तै, छिपरमाइसम्बन्धित उजुरी पनि ५७ र बहुदरमाइसम्बन्धित नौवटा उजुरी फछ्र्यौट भएका छन् ।

प्रहरी नायब उपरीक्षक श्रेष्ठले स्थानीय तहमा सार्वजनिक खरिद प्रक्रियाका विषयमा धेरैजसो उजुरी आउने गरेको बताए । ‘स्थानीय तहमा विशेष गरेर सार्वजनिक खरिद र निर्माण प्रक्रियासम्बन्धी उजुरी धेरै आउने गरेका छन्,’ उनले भने, ‘गलत इष्टिमेट तयार पार्ने, खरिद प्रक्रिया र कानुनको परिपालन नगर्ने समस्या छ । यस्तै, उपभोक्ता समितिले जिम्मा लिएका काम अर्काे ठेकेदारमार्फत गराउने गलत प्रवृत्तिको पनि विकास भइरहेको छ । जसले धेरैजसो समस्या उत्पन्न भइरहेका छन् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?