
News Summary
Generated by OK AI. Editorially reviewed.- सर्वोच्च अदालतले बुटबलको सुप्रिम सहकारी ठगी मुद्दामा पूर्वगृहमन्त्री रवि लामिछानेलाई थुनामा पठाउने आदेश सदर गर्यो।
- जिल्ला अदालत रुपन्देहीलेसफाइ दिएमा उनी थुनामुक्त हुनेछन् । तर मुद्दा टुंगिन छिटोमा पनि केही महिना लाग्नेछ ।
- उनीविरुद्ध अन्य जिल्ला अदालतहरूमा पनि सहकारी ठगीका मुद्दा विचाराधीन छन् ।
९ जेठ, काठमाडौं । सर्वोच्च अदालतले शुक्रबार बुटबलको सुप्रिम सहकारी ठगी मुद्दामा पूर्वगृहमन्त्री रवि लामिछानेलाई थुनामा पठाउने उच्च अदालतको आदेशलाई सदर गर्यो ।
जिल्ला अदालतको आदेश उच्च अदालतले बदर गरी रविलाई थुनामा पठाएकोमा सर्वोच्च अदालतले सदर गरेको हो । अब कम्तीमा पनि रुपन्देही जिल्ला अदालतबाट मुद्दा टुंगो नलाग्दासम्म रवि थुनामा बस्नुपर्ने हुन्छ ।
जिल्ला अदालत रुपन्देहीले उनलाई दोषी ठहर गरेमा तोकिए बमोजिमको कैद सजाय भोग्नुपर्ने हुन्छ । तर, सफाइ दिएमा उनी थुनामुक्त हुनेछन् । जिल्ला अदालतमा विचाराधीन मुद्दा टुंगिन छिटोमा पनि केही महिना लाग्नेछ ।
रवि लामिछानेविरुद्ध जिल्ला अदालत रुपन्देहीमा मात्रै सहकारी ठगीको मुद्दा छैन । कास्की, चितवन र काठमाडौं जिल्ला अदालतमा पनि उनी विरुद्ध सहकारी ठगी मुद्दा विचाराधीन छ । ती सबै जिल्ला अदालतबाट धरौटीमा छुटेका उनी विरुद्ध सरकारी वकिलहरू उच्च अदालतमा गएका छन् ।
यदि, अरु उच्च अदालतहरूले धरौटीमा छाडे पनि सर्वोच्चको आदेशका कारण उनी थुनामा बस्नुपर्नेछ । थुनामा राख्ने आदेश गरे र सर्वोच्चले तिनलाई सदर गर्यो भने अरु मुद्दा नटुंगिदासम्म पनि रवि थुनामै बस्नुपर्नेछ ।
रवि लामिछानेले अब अरु तीनवटा मुद्दामा यसैगरी सर्वोच्च अदालतको आदेशको सामना गर्नुपर्नेछ । ती मुद्दामा उनकै पक्षमा आदेश आएमा पनि बुटबलको मुद्दा फैसला नहुञ्जेल उनी थुनामा बस्नुपर्ने विवरण माथि नै उल्लेख भइसकेको छ ।
अरु मुद्दामा पनि उनलाई थुनामा राख्ने आदेश भए उनको थुना अवधि अझै लम्बिने देखिन्छ ।
प्रतिक्रिया 4