
१२ जेठ, काठमाडौं । भिजिट भिसा प्रकरणमा तानिएका गृहमन्त्री रमेश लेखकबारे सार्वजनिक रूपमा मात्र होइन, नेपाली कांग्रेसको पदाधिकारी बैठकमा समेत चर्चा भएको छ ।
जनस्तरबाट तथा कांग्रेसभित्रैबाट राजीनामा गर्न लेखकमाथि दबाब बढिरहेका बेला सोमबार पदाधिकारी बैठक बस्यो । तर, बैठकले यस विषयमा कुनै निर्णय गरेन । बरु बैठक सकिएपछि गृहमन्त्रीबाट लेखकको राजीनामा माग्ने कांग्रेस नेताहरूलाई पार्टी सभापतिले स्पष्टीकरण माग्ने पर्ने धारणा व्यक्त भएको खबर बाहिरियो ।
यो खबर सार्वजनिक गरेका थिए, कांग्रेसका पूर्वमहामन्त्री डा. शशांक कोइरालाले । बैठकबाट बाहिरिने क्रममा उनले सञ्चारकर्मीहरूसँग कुरा गर्दै बैठकमा गृहमन्त्रीको राजीनामा माग्ने नेताहरूसँग सभापतिले स्पष्टीकरण माग्नु पर्ने धारणा राखेको बताए । उनले शेखर कोइराला, सुनील शर्मा र राजेन्द्र बजगाईंको नामै लिएर उनीहरूसँग स्पष्टीकरण सोध्नुपर्ने माग पदाधिकारीले सभापतिसमक्ष राखेको बताएका थिए ।
सोमबारको पदाधिकारी बैठकले राजीनामाबारे कुनै निर्णय गरेन । आखिर के भएको थियो बैठकमा ? एक सहभागी नेता भन्छन्, ‘पदाधिकारी बैठकमा गृहमन्त्री रमेश लेखकले समय लिएरै आफू चोखो रहेको धारणा राखे । राजीनामा मागिएकोमा केही नेताप्रति चित्त दुखाए ।’
कांग्रेसको क्रियाशील सदस्यताबारे समेत छलफल गर्न भनेर डाकिएको भए पनि बैठकको अधिकांश समय रमेश लेखक वरिपरि नै घुम्यो ।
ती नेताका अनुसार बैठकको प्रारम्भमै गृहमन्त्री लेखकले समय लिएर भिजिट भिसा प्रकरण र आफू माथि उठेका प्रश्नबारे सविस्तारमा जानकारी गराए । लेखकले यस प्रकरणमा छिटो प्रतिक्रिया आफूले नदिएको र अरुले के बोल्छन् भनी प्रतीक्षा गरेको बताएका थिए ।
पार्टीभित्र यो प्रकरणलाई लिएर सबैभन्दा पहिले नेता डा. शेखर कोइरालाले राजीनामा मागेको प्रसंग उनले उठाए । राजीनामा दिनु उपयुक्त हुने धारणा सार्वजनिक गरेपछि गृहमन्त्री लेखकले शेखरलाई फोन गरेका थिए ।
बैठकमा उनले शेखर कोइरालासँग भएको आफ्नो टेलिफोन संवादको बेलिबिस्तार नै लगाए । ‘मैले शेखर दाइलाई फोन गरें । दाइ तपाईंले मलाई भन्नुपर्ने । मलाई फोन गरेर राजीनामा देऊ भनेको भए पनि हुने थियो । बाहिर गएर बोल्नुभयो । अरु बेला काम पर्दा फोन गर्ने तपाईंले यो विषयमा मलाई नै भनेको भए हुने थियो नि,’ लेखकले भनेका थिए ।
गृहमन्त्री लेखकले गुनासो गरेपछि ‘तपाईंलाई सजिलो बनाउन’ राजीनामा दिँदा उपयुक्त हुने धारणा राखेको कोइरालाले फोन संवादमा बताएका थिए । शेखरले आफूसँग भनेको कुरालाई लेखक बैठकमा सुनाए, ‘राजीनामा दिनुस् । अख्तियारले २/४ दिनमा छानबिन गरिहाल्छ । तपाईं निर्दोष भएको क्लिन चिट पाइहाल्नुहुन्छ ।’

अख्तियारले २/४ दिनमै छानविन सकिहाल्छ भनेर लेखकले उल्टै शेखरलाई प्रश्न गरेको बैठकमा बताए । बैठकमा हाँस्दै लेखकले शेखरलाई भनेको कुरा नेताहरूसँग बाँडे, ‘शेखर दाइ राजकाज यस्तो हुन्छ ? अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २/३ दिनमा छानबिन टुंग्याउँछ ?’
गृहमन्त्री लेखकले आफूमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन नगरेको हुँदा चाँडो टुंगिने भन्ने प्रश्नै नरहेको बताए । लेखकले बैठकमा भने, ‘म माथि छानबिन गरेको भए छानबिन चाँडो टुंगियोस् भन्नु । छानबिन नै म माथि गर्या छैन । जो जसलाई छानबिन गरेको छ उसको बयान नै सुरु भएको छैन ।’
शेखरले काठमाडौं आएर कुरा गर्ने भनेको लेखकले सुनाए ।
बैठकमा सहभागी एक नेताका अनुसार लेखकले पार्टीभित्रका नेताहरूसँग गुनासो राखेपछि उपसभापति पूर्णबहादुर खड्काले बोलेका थिए । पार्टीभित्रकै नेताहरूले गृहमन्त्रीको राजीनामा माग्नु गम्भीर विषय भएको उनको भनाइ थियो ।
पार्टी बैठकमा आफ्ना कुरा नराख्ने तर बाहिर बाहिर बोल्ने प्रवृत्ति शेखरमा रहेको भन्दै खड्काले आपत्ति जनाएका थिए । शेखरको बोलीप्रति असन्तुष्टि जनाउँदै खड्काले भने, ‘पार्टीको बैठकहरूमा कहिले पनि नआउने । खाली बाहिर मात्र बोल्ने । सभापतिले उहाँ (शेखर)लाई बोलाएर कुरा गर्नुपर्छ ।
शेखरप्रति देउवाको टिप्पणी
पूर्णबहादुर खड्काको कुरा सुनिसकेपछि सभापति शेरबहादुर देउवाले बैठकमा आउनुपर्छ भनेका थिए । आफूसँग भेट हुँदा मिठो कुरा गर्ने तर बाहिर बाहिर बोल्ने गरेको देउवाले पनि सुनाए । शेखरबारे देउवाले भने, ‘मसँग कुरा गर्दा जहिले पनि मिठो कुरा गरेर जाने । अनि बाहिर गएर बोलिहाल्ने । मैले बोलाएर कुरा गरें भने मैले त्यस्तो भनेकै होइन भन्दिने क्या । खाली बाहिर गएर बोल्ने । यहाँ आएर होइन भन्दिने ।’
देउवाले शेखरको व्यवहारप्रति असन्तुष्टि व्यक्त गरेपछि नेता विमलेन्द्र निधि बैठकमा बोलेका थिए । गृहमन्त्रीको राजीनामा माग्ने काम गम्भीर भएको भन्दै नेता निधिले भने, ‘यसरी कसरी पार्टीको पोजिसन बन्छ पार्टीमा छलफल गर्नुभन्दा पहिले विषय प्रस्तुत राखिदिएपछि ?’ उपसभापति खड्का र निधिको बोलीमा प्रवक्ता डा. प्रकाशशरण महत र गोपालमान श्रेष्ठले समर्थन जनाए ।
महामन्त्री थापाको समन्वय प्रयास
महामन्त्री गगन थापाले नेता डा. शेखर कोइराला र कृष्णप्रसाद सिटौलाको व्यक्तिगत बोलीका रूपमा लिँदा उपयुक्त हुने धारणा राखेका थिए । गृहमन्त्रीको बारेमा आफ्नो र सिटौलाको बोली व्यक्तिगत धारणा हुने शेखरले बोलिसकेको उल्लेख गर्दै विवादको विषय बनाउन नहुने थापाको भनाइ थियो ।
महामन्त्री थापाले भने, ‘अब यसलाई बढाएर किन विवाद तन्काउनु पर्योे । शेखर दाइले व्यक्तिगत विचार भनिसक्नु भएको छ । पार्टीले जे निर्णय गर्छ मेरो निर्णय त्यही हो भनिसक्नुभयो । अब यसलाई किन तन्काइराख्नु ?’ पार्टी बैठकले गर्ने निर्णय आधिकारिक हुने शेखरले आफूसँग बताइसकेको देउवाले नेताहरूलाई जानकारी गराएका थिए ।
‘गढबढ गरिरहेको सूचना पाएर तानेको हुँ’
त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको अध्यागमन विभागका प्रमुख सहसचिव तीर्थराज भट्टराईले अनियमितता गरेको सूचना पाएर मन्त्रालय तानेको स्पष्टीकरण गृहमन्त्री लेखकले बैठक दिए । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छापा मार्ने सुइँको पाएर भट्टराईलाई मन्त्रालय तानिएको भन्ने भनाइमा सत्यता नभएको उनको दावी थियो ।
तीर्थराज भट्टराईको जानु अघि त्यहाँ रहेका व्यक्ति स्वच्छाले सरुवा मागेको हुँदा उनलाई त्यहाँ पठाइएको लेखकले जानकारी गराएका थिए । ‘उनी हुनभन्दा अघिकाले आफैँले सरुवा मागेका हुन् । म यहाँ बस्दिनँ भनेर । त्यो भएपछि तीर्थ भट्टराई ल्याएँ,’ लेखकले बैठकमा भने, ‘मैले केही समयदेखि तीर्थ भट्टराईको बारेमा अलिकति यसले गडबड गर्दैछन् भन्ने सूचना पाएँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग छानबिन गर्न आउँदैछ भनेर हटाएको होइन ।’
प्रतिक्रिया 4