+
+
Shares
विचार :

भारतको सफलतामा नेपालको भविष्य

न म कहिल्यै ठूलो नेपालवादी हुन सकें, न अमितभा पाण्डेय कुनै सङ्कीर्ण भारतवादी थिए। उनले प्रस्तुत गरेको दक्षिणएशियाको चित्र सटिक मात्र थिएन, यसले गम्भीर अर्थ बोकेको थियो।

सञ्जीव पोखरेल सञ्जीव पोखरेल
२०८२ जेठ १३ गते २२:१५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • लेखकले सन् २००८ को अध्ययन भ्रमणको अनुभव र दक्षिणएशियाको राजनीतिक अवस्थालाई विश्लेषण गरे।
  • उहाँले भारतको आन्तरिक र अन्तर्राष्ट्रिय स्थिति, नेतृत्व र नीति परिवर्तनको प्रभाव उल्लेख गरे।
  • लेखकले भारतको धार्मिक राष्ट्रवाद र अतिवादले देशको उन्नतिमा बाधा पुर्‍याएको बताए।

सन् २००८ को हिउँद महिनामा म एउटा अध्ययन भ्रमणमा नयाँदिल्लीमा थिएँ। एक साँझ ग्रेटर कैलाश नजिकैको ‘ओ.. क्यालकाटा’ भन्ने रेस्ट्रोमा अन्तरप्रदेश समन्वय समितिका पूर्व सचिव अमितभा पाण्डेयसँग गफगाफ चल्दै थियो। पाण्डेयले आफू कुनै बेला सचिव रहेको समितिले विभिन्न राज्यहरू बीचको समन्वयका लागि कसरी काम गर्छ भन्ने विषयमा हामीलाई विस्तृत प्रशिक्षण दिए। उनको प्रशिक्षण सत्र सकिएपछि डिनर शुरू भयो र हामी यस क्षेत्रको राजनीति र समाजका विषयमा गफ गर्न थाल्यौं।

नेपाल र भारतसँग जोडिएका केही प्रसङ्गको कुराकानी चलिरहँदा तिनलाई बाँध्न पाण्डेयले एउटा बृहत् दृष्टिकोण पेश गरे। उनले गम्भीर मुद्रामा हामीलाई भने- हेर, दक्षिणएशिया एउटा ठूलो तलाउ हो। यसको कुनै कुनामा कसैले ढुङ्गा फाल्दा तलाउका सबै कुनासम्म यसको तरङ्ग पुग्छ। जब यसको केन्द्र भारतमा ठूलो परिवर्तन हुन्छ, यसको ठूलो प्रभाव वरिपरिका सबै साना देशहरूसम्म पुग्छ।

म भयङ्कर राष्ट्रवादी भएको भए अमितभा पाण्डेयको विचारप्रति ठूलो असहमति रहने थियो। उनका विचारमा दुई ‘समस्या’ थिए। पहिलो- उनले दक्षिणएशियालाई एउटा ठूलो तलाउसँग तुलना गरेर यहाँका नेपाल, बाङ्लादेश, भुटान, श्रीलंका वा पाकिस्तान जस्ता तुलनात्मक रूपमा साना देशहरूको सार्वभौमिकतालाई ‘अवमूल्यन’ गरेका थिए। दोस्रो- उनको उदाहरणमा भारत केन्द्रबिन्दुमा थियो।

तर, न म कहिल्यै त्यति ठूलो नेपालवादी हुन सकें न अमितभा पाण्डेय कुनै सङ्कीर्ण भारतवादी थिए। यस क्षेत्रका बारेमा पाण्डेयको ज्ञान विस्तृत थियो। उनले प्रस्तुत गरेको दक्षिणएशियाको चित्र सटिक मात्र थिएन, यसले गम्भीर अर्थ बोकेको थियो।

१७ वर्षअघिको त्यो हिउँदमा एक महिना दिल्ली बस्दा भारतको वैभवलाई नजिकबाट हेर्न पाएँ। त्यो वैभवको एउटा अंश सम्भवतः दिल्ली शहरको विशालता थियो। तर, त्यो भारतप्रति मेरो ‘आरिस’को एक अंश मात्र थियो। अध्ययन भ्रमणका क्रममा भेटेका राजनीतिशास्त्री, अर्थशास्त्री, इतिहासकार, संघीय प्रणालीका विज्ञ र वरिष्ठ कर्मचारीहरूको घागडान बौद्धिकता र उनीहरूको आत्मविश्वास देखेर म भारतबाट अति प्रभावित भएको थिएँ।

उपनिवेशबाट स्वतन्त्र भएपछि लोकतन्त्र, विविधता, न्याय र धर्मनिरपेक्षतालाई ठूला चुनौतीका बाबजुद साथ कसरी जोगाएर राखेको छ र थप उन्नत बनाइरहेको छ भन्ने विषयमा हामीले त्यहाँका संविधानविद्हरूबाट सुनेका फेहरिस्त यति लोभलाग्दा थिए कि तिनले भारतको कष्टपूर्ण विगत र सुन्दर भविष्यलाई एकसाथ दर्शाइरहेका थिए।

भ्रमण सकेर घर फर्किने क्रममा जेट एअरको विमानमा चानचुन ३२००० फिटको उचाइमा आफ्नो अध्ययन भ्रमणका बारेमा गम्दा मलाई यस्तो लाग्यो- दक्षिणएशियाको एक्काइसौं शताब्दीको नेतृत्व अब भारतले गर्नेछ। तर, भारतको वैभवतामा एकाएक कसैको ‘आँखा लाग्यो’।

अन्ना हजारेले मनमोहन सिंह नेतृत्वको सरकारलाई लक्षित गरेर भ्रष्टाचार विरुद्ध भोक हड्ताल गरे जसले घनीभूत आन्दोलनको रूप लियो। गुजरातमा लामो समय मुख्यमन्त्री रहेका नरेन्द्र मोदी हिन्दु समुदायको रक्षा गर्ने र भारतको गुमेको साख फर्काउने नाराका साथ दिन दुई गुणा रात चौगुना शक्तिशाली भइरहेका थिए। अनुलोम विलोम र सूर्य नमस्कार गर्न सिकाएर मानिसलाई स्वस्थ बनाउने अभियानमा जुटेका बाबा रामदेव एकाएक अर्थशास्त्री बनेर विदेशबाट कालो धन फर्काएर हरेक परिवारलाई १५ लाख बाँड्ने प्रलोभन बाँड्दै मोदीका पक्षमा जनमत बनाइरहेका थिए।

नरेन्द्र मोदीसँग बाबा रामदेव

भारतीय नागरिकको रातारात विकसित देशको दाँजोमा पुग्ने रहर र भ्रष्टाचारीबाट फर्काएको कालो धन आफ्नो खातामा आउने लोभले सन् २०१४ मा नरेन्द्र मोदीलाई सत्तामा पुर्‍यायो। त्यसपछि सबै कुरा फेरिंदै गए।

१७ वर्ष एउटा देशका लागि लामो समय होइन। यो छोटो समयमा भारतले आफ्ना गौरवका मूल आधारहरू एकएक गर्दै गुमाउँदै गयो। बौद्धिकता, आर्थिक विकास, न्याय, विविधता जस्ता विशेषतामा आफ्नो छवि अन्तर्राष्ट्रिय रूपमा बलियो बनाएको भारत क्रमशः हिंसा, बेलगाम भ्रष्टाचार, चरम असमानता, बलात्कार, असहिष्णुता र अतिवाद जस्ता विशेषताबाट आज थला परेको छ।

विगत १२ वर्षमा भारतमा विद्वानहरूको ठाउँ पण्डा, मठाधीशहरूले लिएका छन्। वस्तुगत अध्ययन अनुसन्धानमा लाग्ने ऊर्जा गाई, गोबर र गौमूत्रमा खर्च भइरहेको छ। स्वतन्त्र र निष्पक्ष सञ्चारमाध्यमलाई आमूल रूपमा समाप्त पारिएको छ। सरकार जनताको खानपिन, लुगा र भाषालाई अनुशासित बनाउने अभियानमा जुटेको छ। चरम स्वमुग्धतावादबाट आक्रान्त मोदी राज्यको सम्पत्ति खर्च गरेको आफ्नो झुटो प्रतिष्ठा बनाउन तल्लीन छन्।

पहलगाममा भएको आतङ्कवादी घटना र त्यसपछि भएको भारत-पाकिस्तान द्वन्द्वको विश्रामपछि भारतमा आमरूपमा के स्वीकार गर्न थालिएको छ भने विगत १२ वर्षमा भारत उन्नतिको मार्गमा अघि बढेको छ भन्ने कुरा सरकारी ‘प्रोपोगाण्डा’मात्र रहेछ। भारत विगतको तुलनामा कमजोर भएको छ। यही अवस्था रहने हो भने भारतको अधोगति थप तीव्र हुनेछ।

म भारतको आलोचक होइन

वास्तवमा एउटा मानिस समग्र देशको आलोचक हुन सक्दैन। देश भनेको सरकार र त्यसको नेतृत्व गर्ने व्यक्ति मात्र होइन। देश सहजताका लागि कृत्रिम रूपमा निर्माण भएका राजनीतिक एकाइ हुन्। त्यहाँभित्र विविध मानिस, भूगोल, संस्कृति, कला, अर्थव्यवस्था, ऐतिहासिकता आदि सबै समेटिएका हुन्छन्। ती (मानिस, भूगोल, संस्कृति, कला, अर्थव्यवस्था, ऐतिहासिकता, आदि) यथार्थ हुन्- सरकार, सीमा, झण्डा वा राष्ट्रिय गान आवश्यक हुन्, तर कृत्रिम हुन्।

एउटा देशलाई समग्रतामा विरोध गर्ने वा कुनै पनि देशलाई (चाहे त्यो आफू नागरिक भएको देश नै किन नहोस्) सम्पूर्ण रूपमा उत्कृष्ट ठान्ने प्रवृतिलाई अङ्ग्रेजीमा ‘जिङ्गोइज्म’ भनिन्छ। जिङ्गोइज्म मूर्खताको परिचायक त हुँदै हो, यसले उत्पन्न गर्ने विषाक्तता द्वन्द्व र हिंसाको स्रोत पनि हो। यसको विपरित म भारत देशको शुभचिन्तक हो।

मलाई लाग्छ दक्षिणएशियाको शान्ति र समुन्नति भारतको शान्ति र समुन्नतिमा निर्भर छ र रहनेछ। भारत जति सौम्य, उन्नत, बौद्धिक भयो नेपाल जस्ता उसका छिमेकीलाई त्यति नै बढी फाइदा हुनेछ। पाकिस्तान, चीन वा बाङ्लादेश नेपालका छिमेकी देश अवश्य हुन्- तर आर्थिक, सांस्कृतिक, बौद्धिक, भौगोलिक, भाषिक र मनोवैज्ञानिक रूपमा भारतसँग नेपाल जति नजिक छ त्यति नजिक अन्य छिमेकी मुलुकसँग छैन- हुन सम्भव पनि छैन।

दक्षिण एसियाली देशहरुको राजनीतिक नक्सा । फाइल फोटो

त्यसैले, अमितभा पाण्डेयले उपमा दिएको तलाउमा जति छालहरू उठ्छन् ती छालले नेपाल र भारतलाई बराबर तरङ्गित बनाउँछन्- चाहे ती उन्नतिका ताल हुन् या अवनतिका।

यसपालि भारत-पाकिस्तानको द्वन्द्व हुँदा म यो दु:खद् रमिता पाकिस्तानको राजधानी शहर इस्लामावादबाट हेरिरहेको थिएँ।

आजभन्दा ६ वर्षअघि पाकिस्तानमा मेरो कार्यकाल शुरू भएको थियो। यस अवधिमा पाकिस्तानलाई नजिकबाट हेर्ने र बुझ्ने अवसर मलाई मिल्यो। पाकिस्तानका कतिपय क्षेत्र द्वन्द्व र आतङ्कवादबाट चरम रूपमा ग्रसित छन् जसमा मेरो पहुँच छैन। तर, आफ्नो कार्यकालका दौरान पाकिस्तानका सबै मुख्य शहर र त्यसभित्रका स-साना नगर क्षेत्रहरू पुगेको छु। मानिसहरूसँग अन्तरक्रिया गरेको छु। आफ्ना ज्ञान र अनुभव बाँडेको छु र उनीहरूबाट धेरै कुराहरू सिकेको छु।

पाकिस्तानको भूगोल, कला, साहित्य, संस्कृति र विशेषगरी यहाँका मानिसहरूको शालीनता र बौद्धिकताबाट म प्रभावित छु। अर्को वर्ष पूरा हुँदै गरेको कार्यकाल सिकाइ र अनुभवका आधारमा मेरा लागि महत्त्वपूर्ण रहनेछ। तर, पाकिस्तानको सरकार कसरी चलेको छ, यसले कस्तो काम गर्छ त्यो सार्वजनिक बहसको विषय हो। यसका बारेमा प्रशस्त जानकारी र सूचनाहरू उपलब्ध छन्। यस विषयमा मैले दिने दृष्टिकोण सीमित र अपरिपक्व हुनेछन्।

आफ्नो पेशागत जिम्मेवारी प्रभावकारी रूपमा सम्पन्न गर्ने बाहेक पाकिस्तानका बारेमा मेरो चासो र चिन्ता ठूलो छैन। नेपालको सफलता वा असफलता पाकिस्तानको सफलता वा असफलतासँग प्रत्यक्ष रूपमा जोडिएका छैनन्। पाकिस्तानको प्रसङ्ग जोड्नुको तात्पर्य यति मात्र हो कि यसपटक भारतमा उठेको छालबाट मुख्य रूपमा भारत र पाकिस्तान तरङ्गित रहे। दक्षिणएशियाको समग्र ताललाई यो द्वन्द्वले तरङ्गित बनायो।

अब लागौं यस पटकको भारत-पाकिस्तान द्वन्द्वतर्फ। पहलगाममा भएको आतङ्कवादी हमलापछि भारत र पाकिस्तानबीच द्वन्द्व जसरी शुरू भयो र अप्रत्यासित रूपमा यो जसरी युद्धविराममा परिणत भयो यी घटनाले दक्षिणएशियालाई एउटा नयाँ युगमा प्रवेश गराएका छन्। यो नयाँ युगमा तीन यथार्थ सतहमा आएका छन्। पहिलो, दक्षिणएशियामा विद्यमान भारतको एकछत्र वर्चस्व समाप्त भएको छ, अब दक्षिणएशियाले चीनको सामरिक शक्तिलाई बेवास्ता गर्न सक्दैन। दोस्रो, आफ्ना छिमेकी देशहरूसँगका द्वन्द्वलाई पारस्परिक सम्बन्धमा सीमित राख्ने र अन्तर्राष्ट्रियकरण हुन नदिने भारतको अहिलेसम्मको रणनीतिले विश्राम पाएको छ। विशेषगरी कश्मीरको मुद्दा र यसको निरूपणका प्रक्रियामा भविष्यमा विश्वका अन्य शक्तिशाली मुलुक प्रत्यक्ष रूपमा सामेल हुनेछन्। तेस्रो, दक्षिणएशियामा शक्तिमान र समृद्ध मानिएको भारत भित्रबाट कमजोर भएको छ। भारत आन्तरिक रूपमा आफ्नो लोकतन्त्र (अभिव्यक्ति स्वतन्त्रता, अर्थतन्त्र, सामाजिक न्याय, आदि) लाई सम्बर्धन गर्नमा मात्र होइन, कूटनीतिको क्षेत्रमा पनि विगतका तुलनामा कमजोर भएको छ।

आलङ्कारिक भाषाको प्रयोग गरेर भन्नुपर्दा- आम मानिसलाई गोबर र गौमूत्रमा भुलाएर भारतका शासकहरूले उनीहरूबाट महत्त्वपूर्ण अधिकार र अवसरहरू लुटेका छन्। यो परिस्थितिलाई भारतमा देखिएका केही प्रवृत्तिहरूबाट हेरौं।

जनसाङ्ख्यिक हिसाबले संसारको सबैभन्दा ठूलो लोकतन्त्र भनेर चिनिने भारत प्रशस्त सम्भावना र अवसर भएको देश हो। दक्षिणएशियामा उसको अस्तित्व र प्रभाव अहिलेसम्म पनि ठूलो छ। यसका लागि पश्चिमका विकसित देशहरूसँग पनि भारतसँग राम्रो सम्बन्ध बनाउनुको विकल्प छैन। तर, भारतले दक्षिणएशियामा आफ्नो विशिष्ट स्थानबाट लाभ लिन उसले अन्य देशहरूसँग सम्मानपूर्ण र सहकार्यमा आधारित सम्बन्ध कायम गर्न सक्नुपर्छ।

यस प्रसङ्गमा एकपटक भारतका विदेशमन्त्री जयशंकरको कार्यशैलीलाई हेरौं। नेपालले संविधानसभाबाट नयाँ संविधान जारी गर्न लागेका बेला विदेश सचिव रहेका जयशंकरले नेपालका राजनीतिक दलहरूलाई गरेको हप्कीदप्कीका कथाहरूको चर्चा काठमाडौंको राजनीतिक वृत्तमा आजसम्म पनि सुन्न पाइन्छ।

सन् २००८ को भारतमा अथाह जोश थियो। मानिसहरूमा भयङ्कर ठूलो आशा र उत्साह थियो। आत्मविश्वास थियो। अनेकन् चुनौतीका बीच भारत सफल देशका रूपमा स्थापित हुँदैछ भन्ने आम मानिसहरूको बुझाइ थियो। नरेन्द्र मोदीको धार्मिक राष्ट्रवादले यी सबै विश्वासलाई गोबर र गहुँतमा मिसाएको छ।

जयशंकरको अहङ्कारपूर्ण टिप्पणी र हेपाहा प्रवृत्ति नेपालका प्रसङ्गमा मात्र सीमित छैन। इन्स्टाग्रामका भाइरल रिलहरूमा कुदिरहेका युरोप र अन्य पश्चिमी देशहरूका बारेमा उनका टिप्पणीहरू नरेन्द्र मोदीको कार्यकालमा मौलाएको भारतको संकीर्ण र अव्यावहारिक विदेश नीतिको परिचायक बनेका छन् जसले भारतलाई विश्व परिवेशमा थप एक्लो बनाएको छ।

नरेन्द्र मोदी प्रधानमन्त्री भएपछि भारतले अन्य देशहरूसँगको सम्बन्धलाई प्रभावकारी बनाउन सार्थक भूमिका खेल्न सकेन। प्रधानमन्त्रीका विदेश भ्रमणहरू प्रशस्त भए। भारतले सन् २०२३ मा जी-२० को सम्मेलन आयोजना गर्‍यो। चीनका राष्ट्रपतिको भारत भ्रमण र मोदीको अमेरिका भ्रमण राष्ट्रिय उत्सव झैं धुमधाम सम्पन्न भए। तर, तिनीहरू पारस्परिक विश्वास र सहकार्य निर्माण गर्ने कुरामा नभई प्रधानमन्त्रीको छवि राम्रो बनाउने उद्देश्यमा केन्द्रित भए। पाकिस्तानसँगको द्वन्द्वका क्रममा भारतले अन्य मुलुकबाट उल्लेख्य समर्थन प्राप्त गर्न नसक्नुले आज समग्र भारतका बुद्धिजीवी र सर्वसाधारणलाई झस्काएको छ।

एउटा देशमा आतङ्कवादी हमला भएर जब दर्जनौं मानिस मारिन्छन् त्यसबेला राज्यको प्राथमिकतामा दुई कुरा स्वाभाविक रूपमा सामेल हुनुपर्छ। पहिलो, आतङ्कवादी हमलाबाट मृत र घाइते तथा उनीहरूका परिवारप्रति भरपूर संवेदना र सहयोग। दोस्रो, आतङ्कवादीहरूको पहिचान गर्ने, पक्रिने र दण्डित गर्ने प्रक्रिया। यी दुई प्राथमिकतामा कुनै चासो वा गम्भीरता नदेखाई सरकार प्रमुख अर्को अमूक देशलाई ‘समाप्त पार्ने’ र ‘माटोमा मिलाउने’ घोषणा गर्दै हिंड्छ भने यसबाट कमसे कम बुझ्नुपर्ने हुन्छ कि सरकार आफ्नो जिम्मेवारीमा गम्भीर छैन।

यस प्रसङ्गमा मेरो तात्पर्य कुनै देशलाई प्रत्यक्ष, अप्रत्यक्ष समर्थन गर्ने होइन। भारत र पाकिस्तान बीच भएको पछिल्लो द्वन्द्वमा पनि कसैको जित भएन। सरकार र सेनाहरूले आफूले जितेको घोषणा गरे। उत्सव मनाए। यस्ता उत्सवहरू भविष्यमा पनि जारी रहनेछन्। सामरिक हतियार बनाउने कुनै कम्पनीको शेयरको भाउ बढ्यो, कुनैको घट्यो। दुवैतिर कतिपय सर्वसाधारण मानिसहरूको ज्यान गयो। दुःखको कुराचाहिं के छ भने यसले हाम्रो ‘तलाउ’लाई थप असुरक्षित र अनिश्चित बनाएको छ।

कूटनीति मेरो दक्षता र चासोको विषय होइन। यस लेखको उद्देश्य भारतको विदेश नीति कस्तो हुनुपर्छ भन्ने विश्लेषण गर्नु थिएन। मैले प्रस्तुत गर्न चाहेको विषय यो हो- अतिवाद, अन्ध राष्ट्रवाद र धार्मिक अतिवादलाई राज्यले प्रश्रय दिंदा एउटा देश कसरी तीव्र गतिमा ओरालो लाग्छ ?

सन् २००८ को भारतमा अथाह जोश थियो। मानिसहरूमा भयङ्कर ठूलो आशा र उत्साह थियो। आत्मविश्वास थियो। अनेकन् चुनौतीका बीच भारत सफल देशका रूपमा स्थापित हुँदैछ भन्ने आम मानिसहरूको बुझाइ थियो। नरेन्द्र मोदीको धार्मिक राष्ट्रवादले यी सबै विश्वासलाई गोबर र गहुँतमा मिसाएको छ।

मलाई आशा छ भारत यो दु:खद् चक्रबाट बाहिर निस्किन सक्षम हुनेछ। भारतको सफलतासँग नेपालको पनि सुखद् भविष्य जोडिएको छ।

लेखक
सञ्जीव पोखरेल

लेखक ब्लगर हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?