
News Summary
Generated by OK AI. Editorially reviewed.- अमेरिकाको गीसिंगर कलेज अफ हेल्थ साइन्सेसले गरेको अनुसन्धानले पुरुष र महिलाको उचाइमा २२.६% अन्तर SHOX जीनसँग सम्बन्धित देखाएको छ।
- SHOX जीन एक्स र वाई क्रोमोजोममा पाइन्छ र यसको सक्रियता पुरुषहरूलाई महिलाको तुलनामा ३.१ सेन्टिमिटर अतिरिक्त उचाइ दिन्छ।
- अनुसन्धानले लिंग-आधारित रोग र स्वास्थ्य अध्ययनमा यस जीनको महत्वपूर्ण भूमिका रहेको देखाएको छ।
प्रायः विश्वका हरेकजसो ठाउँमा त्यहाँका महिलाको तुलनामा पुरुषहरुको कद अग्लो हुन्छ । यो केवल संयोग होइन, यसको पछाडि एउटा गहिरो वैज्ञानिक कारण रहेको पत्ता लागेको छ ।
हालै गरिएको अनुसन्धानले पुरुष र महिलाको सरीरको उचाइँमा हुने यस्तो अन्तर SHOX नामक जीन (वंशाणु) सँग सम्बन्धित भएको देखाएको छ।
SHOX जीन के हो ?
SHOX (Short Stature Homeobox) नामको जीन एक्स र वाई दुबै क्रोमोजोममा पाइन्छ।
पुरुषहरूमा एउटा एक्स र एउटा वाई क्रोमोसोम हुन्छ। जबि महिलाहरूमा दुईवटा एक्स क्रोमोसोम हुन्छन् । तर, तीमध्ये एउटा प्रायः निष्क्रिय हुन्छ ।
वाई क्रोमोसोममा क्ज्इह् जीन बढी सक्रिय हुने हुँदा पुरुषहरूलाई औसतमा महिलाको तुलनामा ३.१ सेन्टिमिटर अर्थात १.२ इन्च अतिरिक्त उचाइ प्राप्त हुन्छ।
उता महिलाहरूमा भने निष्क्रिय एक्स क्रोमोजोमले त्यस्तो सक्रियता कम बनाउँछ । जसका कारण महिलाहरूको शरीरको उचाइ तुलनात्मक रूपमा पुरुषको भन्दा कम हुन्छ।
यसरी गरियो अनुसन्धान
अमेरिकाको पेनसिल्भेनिया राज्यस्थित गीसिंगर कलेज अफ हेल्थ साइन्सेसले यो शोध गरेको हो । वैज्ञानिकहरूले अमेरिका र बेलायतका तीनवटा ठूला स्वास्थ्यसम्बन्धी डेटाबेसबाट १२२५ जना व्यक्तिको तथ्यांक संकलन गरे । ती सहभागीहरूमध्ये धेरैको क्रोमोजोम संरचना असामान्य थियो, जसले SHOX जीनको प्रभाव बुझ्न सहयोग गर्यो। तथ्यको विश्लेषण पश्चात् के तथ्य पत्ता लाग्यो भने महिला र पुरुषबीचको उचाइमा देखिने लैंगिक अन्तरको २२.६% कारक तत्व SHOX जीन हो।
उचाइमा फरक पार्ने अन्य कारणहरू
हुनत महिला र पुरुषबीचको उचाइको अन्तरमा SHOX जीन महत्वपूर्ण छ । तर उचाइँको अन्तरका लागि यो मात्र एकल कारण होइन । अन्य कारक तत्वहरु निम्न छन् :
१. आनुवंशिकता : यदि बाबुआमा अग्ला छन् भने उनीहरुका सन्तान पनि प्रायः अग्ला नै हुन्छन्।
२. हर्मोन : पुरुषहरूमा टेस्टोस्टेरोन नामक हार्मोनको मात्रा बढी हुन्छ, जसले हड्डीको विकासमा सहयोग पुर्याउँछ र त्यसका कारण पुरुषहरुको शरीरको कद महिलाको भन्दा अग्लो हुन्छ ।
३. वातावरणीय प्रभाव : पोषण, स्वास्थ्य सेवा, जीवनशैली र देशको आर्थिक अवस्थाले पनि व्यक्तिको शरीरको उचाइ निर्धारणमा महत्वपूर्ण हुन्छन् ।
महत्वपूर्ण हुनेछ खोजको निष्कर्ष
वैज्ञानिकहरूले गरेको यो अध्ययन केवल लैंगिक भिन्नता र उचाइको भिन्नतामा मात्रै सीमित छैन । यसको निष्कर्षको बहुआयामिक उपादेयता रहेको दाबी गरिएको छ । यसले लिंग-आधारित रोगहरूको अध्ययनमा सघाउ पुर्याउने र महिलामा अल्जाइमरजस्ता रोगहरू किन बढी देखिन्छन् भन्ने तथ्य बुझ्न सहयोग पुग्ने शोधकर्ताहरुको विश्वास छ ।
त्यसैगरी मुटु तथा मानसिक रोगहरूमा लिंगीय भिन्नता बुझ्न, पुरुष र महिलाको शरीर तथा मस्तिष्कको विकासको भिन्नता बुझ्नका लागि पनि यो शोध उपयोगी हुने बताइएको छ । यसैगरी चिकित्सा अनुसन्धान तथा स्वास्थ्य र पोषणसम्बन्धी नीतिहरुको निर्माणलाई तथ्य र प्रमाणमा आधारित बनाउन पनि यसले सहज पार्ने शोधकर्ताहरू बताउँछन् ।
वैज्ञानिकहरुका अनुसार यस अनुसन्धानले लिंग–आधारित शारीरिक र मानसिक स्वास्थ्यभित्र लुकेका वैज्ञानिक यथार्थहरू उजागर गर्दै, चिकित्सा अनुसन्धानलाई नयाँ दिशा दिने सम्भावना बोकेको छ ।
प्रतिक्रिया 4