+
+
Shares
बिदा गणेश रसिक :

सम्झ, नबिर्स माया छ तिमीलाई

रसिक गए । उनी जाँदा हामीसँगको धेरै ठूलो सम्पदा समेत गयो । अब त सम्झना मात्रै बाँकी छन् ।

बसन्त बस्नेत बसन्त बस्नेत
२०८२ जेठ १८ गते २२:३३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • गणेश रसिक १८ जेठ काठमाडौंमा निधन भएका हुन्, उनले कविता, संगीत र साहित्यमा योगदान दिए।
  • उनले इलाम र काठमाडौंमा कला, राजनीति र सांस्कृतिक कार्यहरू गरे, र लोकप्रिय गीतहरू लेखे।
  • रसिकको मृत्युले नेपाली सांस्कृतिक क्षेत्रमा ठूलो क्षति पुगेको छ, उनका गीत र कविता सधैं स्मरणीय रहनेछन्।

१८ जेठ, काठमाडौं । गणेश रसिक सबैका मान्छे थिए । उनका मान्छे कति थिए होलान् !

परिवार थियो, वियोगै वियोगमा उनलाई एक्लै छाडिराखेको । साथीभाइ थिए, आत्मीयता भन्दा बढ्ता तिक्तता र उनकै उचाईसँग बिच्किएर टा–टाढा पुगेका । ‘मैले जीवनमा दुःख बाँड्ने साथी धेरै पाएँ,’ इलाम फिक्कलस्थित रम्फोकमा रसिकले यो पंक्तिकारसँग ०७८ असोजमा भनेका थिए, ‘तर सुख बाँड्ने साथी पाइनँ । जीवनमा सुख बाँड्ने साथी पनि चाहिँदो रहेछ ।’

रसिकका पालाका कवि लेखकका उपनाम सम्झौं । उनीहरू दुःखी, विरही, वियोगी संज्ञामै अनुरक्त हुन्थे । भोजपुर छिनामखुमा ७८ वर्षअघि जन्मेका गणेश राई आफैं चाहिँ जीवनमा धेरैपल्ट दुःखी भइरहे । तर कहाँ–कहाँबाट उपनाम जुराएछन्, गणेश रसिक ।

रसिक राल्फाली भए । प्रगतिशील विचार अँगाले । पन्चायतको विशाल वृक्षभित्र उनी पनि केही बेर ओतिए । बहुदल आएपछि पनि त्यही विचारले कताकति उनमा हाँगा हालिरह्यो । कवि थिए, बहिरहन्थे, बगिरहन्थे । एमालेबाट ०७० र ०७४ मा झलनाथ खनाल उठ्दा उनैलाई सघाए । भोट मात्रै हालेनन्, हार्मोनियम नै दिए, चुनावी सभामा बजाउन । रसिकले झलनाथलाई दिएको हार्मोनियमको पनि कुनै दिन इतिहास लेखिएला !

रसिकले भोजपुर काठमाडौं गर्दैरहे । जीवनको एउटा खण्डमा पुगेपछि उनले इलामलाई आफ्नो बास बनाउने निधो गरे । फर्केर हेर्दा लाग्छ, उनको जीवनको सर्वाधिक एक्ला, तर सन्तोषका दिनहरू इलाममा बिते ।

यो बेग्लै हो, इलाम छाड्ने बेला भने उनी इलामसँग, अनि आफैंसँग पनि विरक्तिएका थिए ।

इलाममा रसिकले के गरेनन् ! वा भनौं के मात्रै गरेनन् !

उनले चिया किसानी गरे । खेतीबाली लगाए । रेडियो स्टेशन खोले । राजनीति गरे । चुनावै लडे । र चुनावबाट नराम्रोसँग लडे । उनी लोकप्रिय थिए । तर उनका गीतका प्यारा स्रोताहरूले मतदाता हुने निर्णय गरेनन् । तर उनीहरूले रसिकलाई मतबाकस बाहिर शब्द, संगीत र स्वरमै मन पराइरहे । आज पनि उत्तिकै मन पराउँछन् ।

रसिक कति लोकप्रिय थिए भन्नेबारे जगदीश घिमिरेले अन्तर्मनको यात्रा पुस्तकमा एक प्रसंग वर्णन गरेका छन् । पुस्तकका अनुसार नेपाल–भारत सीमा क्षेत्र नाघ्दा भारतीय प्रहरीले खानतलासी गरेर हैरान पार्‍यो । गाडीमा गणेश रसिक छन् भन्ने थाहा पाएपछि ससम्मान अभिवादन गरेर छाडिदियो ।

यो त एउटा सामान्य प्रसंगमात्रै ।

रसिक थिए पनि त्यस्तै । उनका गीतहरूका भाव कति गहिरा थिए :

हिँड्दाहिँड्दै पैतालाले बाटोसँग सोध्यो
म हिँड्दा त दुख्छ भने टेकिनेलाई कति दुख्यो

रसिकले लेखेझैं लेख्न अक्सर लेखकहरूलाई हम्मे पर्छ । किनकि उनले जस्तो जीवन बाँच्न, र बाँचिरहन प्रत्येकलाई असम्भव जस्तै छ ।

रसिकले जीवनमा जति ठक्कर, चोट र वियोगहरू झेलेका छन्, त्यसको चर्चा गरेर साध्य छैन । छोरा, भाइ, अनि केही वर्षमात्रै कोभिडकालमा पत्नी निरा रसिक शेरचनलाई गुमाउँदाको चोट त्यसको उत्कर्ष हो । रसिकको पीडा शमन गर्ने एउटै उपाय थियो, कला । उनको कला रचना, संगीत र स्वर तीनै विधामा थियो । साँच्चै भनौं भने उनको परिवारका सदस्य भन्नु नै शब्द, सुर र धुन ।

तर यो रसिकको छनोट थिएन । भवितव्य मानिसको रोजाइ यसै पनि हुँदैन । ३० को दशकमा भरपुर चल्तीका कलाकार थिए रसिक । उनको लोकप्रियता साहित्यका विधाहरूमा सीमित थिएन । रेडियो नेपालले हाँकेको युगमा सम्भवतः उनी सर्वाधिक खोजिने, सुनिनेमध्येका एक स्वर हुन् ।

राल्फाकालदेखि लेकालीसम्मको कला स्कुलमा रसिक एक अगुवा हुन् । त्यसैले रसिकले लेख्दा एउटा निबन्ध कविता बन्छ । रसिकले गाउँदा त्यो कविता गीत बन्छ । रसिकका कविता ती हुन्, जसलाई उनले संगीत भर्न भ्याएनन् । उनको हार्मोनियमले नफिटेका, फिट्न नभ्याएका शब्दहरू कस्ता होलान्, गम्भीर स्रोताले सहजै अनुमान गर्न सक्छ ।

ओ याङ्जी नाना
तिम्रो रिन्जी हिमाल चढ्दा
मर्‍यो भने नसम्झ
ऊ त तिम्रो चौरी गोठमा
कुहिरोसँग उड्दै उड्दै आइरहेछ
ऊ त तिम्रो सल्लेरीगाउँमा
घामसँग उड्दै उड्दै आइरहेछ

त्यसैले उनलाई राम्रोगरी सुन्ने हरकोहीले निर्धक्क भन्न सक्छ, रसिक एउटा स्वाद र शैली थिए । उनी आफैंमा एउटा विधा थिए । तब त एउटै व्यक्तिले घरबेटी नानीजस्तो ठेट लोककवितादेखि कति दिन बाँच्नु यो हुस्सुले छोपेको शहरमा जस्ता दुई भिन्न किसिमका रचना सिर्जना गर्न सक्छ ।

मेरो अतीतलाई कहाँ भेटुँ जस्तो सर्वकालीन शक्तिशाली कवितादेखि आज भेडाबाख्रा कता लाने भनी भेडीगोठालासँग सोध्न एउटै कविलाई सामान्यतयाः कठिन नै हुन्छ । रसिकले बाँचेको, भोगेको अनि अनुभूत गरेको यथार्थ यस्तै खालको थियो ।

‘कतिदिन बाँच्नु यो हुस्सुले छोपेको सहरमा’ गीतलाई संगीतबाट छुटाएर शब्दमा पढिहेर्नुहोस् त, त्यो कति बलियो कविता बन्छ । धेरै लामो आयु भएको एउटा कविता । मूर्तिकार र मूर्तिको संवादमा उनी कला र कलाकारबीचको फासला अन्त्य गर्छन् । उनी पलान्चोक भगवती, शोभाभगवती, नक्साल भगवतीका मन्दिरहरूमा कुँदिएका विशाल कलाहरूको जुन भव्यताका साथ परख गर्छन्, तर तिनको निर्माण क्रममा कलाकारले उत्सर्ग गर्न बाध्य हुनुपरेको कारुणिक बयान एउटै गीतमा गरिभ्याउँछन् । सामान्यतयाः कुनै एउटा गीतमा यस्तो हुन सम्भव नै छैन ।

काठमाडौंको घन्चमन्च, या इलामका एकाकी दिनहरू, हामीले रसिकलाई उनका काव्यहरूमै सुनिरह्यौं, पढिरह्यौं । सरकार संरक्षित साँस्कृतिक साहित्यिक प्रतिष्ठानहरूको नेतृत्व गर्दाका वर्षहरूमा रसिकको कलम कसरी, कस्तो गतिमा चलेको थियो, यो लेखकलाई ठ्याक्कै थाहा छैन । तर उनीभित्रको कवि कहिले पछ्यौरीभित्रको सुनाखरी चिनो लेख्ने, लाहुरेको कहानी सुनाउने, घरकाहरूको वेदना बोल्ने, मायामा हारेको तिर्खालु तन्नेरीको आकुलता प्रकट गर्ने प्रवृत्तिको मानिस हो ।

प्रोष्टेट क्यान्सरसँग जुधिरहेका रसिकको गत माघमा खिचिएको पछिल्लो तस्वीर ।

पिखुवा खोलाको किनारमा ढाकरमा जिन्दगी बोक्ने भरिया रसिकको गीतको पात्र हो । उनको कविताले देशको धेरैपल्ट कुरा गरेको छ, तर नागरिकको असुरक्षा, चित्कार र अभावलाई हटाएर रसिकले कोरा भूगोलको मात्रै कुरा गरेका छैनन् । स्वाधीनताका पीडा, ताराभन्दा सपना धेरै जस्ता संग्रह पढ्दा होस् या उनका एल्बमहरू सुन्दा, अनि रसिकलाई कन्सर्टहरूमा सुन्दा हामी यस्तो निष्कर्षमा पुग्छौं ।

हट्ने होइन डटी लड्ने जस्ता केही लोकप्रिय गीतहरू सुनेको आधारमा रसिक यस्ता कवि होलान् भनी धारणा बनाउनु एकांगी हुन्छ । रातो भाले क्वायाँ क्वायाँ सुत्केरीलाई ख्वाएँ । वा घरबेटी नानी आँगनीमा देऊ न मलाई बास । जुनै गीत उठाएर टिपे हुन्छ । वा भनुँ वासु शशिको गीत मसँग एउटा तारा छ मायाको । जुनै गीतको वा रचनाको कुरा गर्न सकिन्छ ।

मेरो लागि रसिक जहिले पनि शब्दहरूमा गहिरा अर्थहरू खोज्ने, तर त्यसलाई जनसाधारणले बुझ्ने गरी लोकबोलीमा कथ्ने मानिस हुन् । सरलताभित्रको गाम्भीर्य, यही नै रसिकको चिनारी हो । त्यसभन्दा बढ्ता उनलाई चिन्न खोज्दा बढ्ता भूल भइजाला ।

क्लिशे लेख्नु रसिकलाई फिटिक्कै मन पर्दैन । तर उनको अनुभूतिको अभिव्यक्ति कस्तो वास्तविक । तब त एउटा गीतमा उनी लेख्छन् ः

तिमीले साँच्चै बिर्सेर हो कि
सपनीमा देख्दिनँ
देख्दिनँ मायालु, सपनीमा देख्दिनँ ।

कति सजिलो गरी, तर कस्तो दुख्नेगरी भन्दिएका रसिकले । अर्को इन्टरल्युडमा भन्छन्,

तिमीले साँच्चै भुलेर हो कि
बाडुली लाग्दैन
लाग्दैन मायालु, बाडुली लाग्दैन

बाडुली लाग्नु शरीर विज्ञानभित्रको अर्कै प्रक्रिया हो, जससँग पर्याप्त पानी पिउनु, निद्रा आहारजस्ता कुरा जोडिन्छन् । तर रसिकको कवि तर्कशास्त्रलाई जितेर मानिसको संवेदनाभित्र पस्छ । मायालुसँगको भेट पातलिँदै गएपछि त्यसले स्वभाविक चिन्ता मनमा ल्याउँछ । खाना रुच्दैन, पानी पिउँदैन, राम्रोसँग सुत्दैन । बाडुली त त्यसै लाग्छ । सपनी बिग्रँदा सोचेको र भोगेको अर्कै भइजान्छ । रसिकले खेल्ने भनेको कल्पना र यथार्थको दसगजामै हो । उनको निबन्धहरू पढ्दा, संस्मरण पढ्दा त्यो काव्यात्मकता र गेयात्मकताको प्रष्ट झल्को आउँछ ।

मायाले मलाई विषै देऊ
म नीलकन्ठ भई पिइदिन्छु
जलनहरू बोकी छातीभित्र
म तिम्रै निम्ति जिइदिन्छु ।
माया गरेर तिमीलाई पिँजडामा राख्न सक्दिनँ
पखेटा लागेको यो मनलाई उड्नबाट रोक्न सक्दिनँ
बरु मलाई आँधी देऊ हिमपहिरो सबै सहिदिन्छु

माथिको काव्यलाई दुई भागमा हेरौं । स्थायीले लोकबोली जनाउँछ, अन्तराले गहिरो साहित्यिक भाव । रसिकका जुनसुकै रचनाहरूमा पाइने साझा गुण नै यही हो । सयौं गीतकारहरूको बीचमा उनलाई यही चेतनाले अरुभन्दा भिन्न देखाएको छ । त्यो भाव विस्तारित भएर उनका निबन्ध र आख्यानसम्मै छरिएको छ । सांग्रिला बुक्सले हालैका वर्षमा छपाएको पेरुंगो नामक रसिकको समस्त संकलनमा त्यसलाई पढ्न पाइन्छ ।

यी बाहेक पनि रसिकले लेखेका कविता र गीतहरूको संख्या गन्दा सयौं संख्या नाघ्छ । अझ त्यसले नपुगेर हिजोआज उनी नयाँ पुस्ताका सुन्दर कुरुप, सरस्वती राई, स्वप्निल स्मृतिलगायतका कवितालाई धुनमा रच्न लागिपरेको पनि बुझिन्छ ।

२०७८ सालमा पत्नी नीरा शेरचनसँग रसिक । कोभिडको कारण उनको पनि निधन भइसकेको छ ।

मलाई कहिलेकाहिँ लाग्छ, साहित्य, खासगरी कविता हुन्थेन भने रसिकलाई यो जीवन बाँच्न कति कठिन पथ्र्यो होला । उनको त नामैमात्र रसिक । उनले बाँचेको जिन्दगीको आयाममा साहित्यको अनुपस्थितिले ल्याउने रिक्तताबोध कल्पनामात्रै गर्न सकिन्छ । उनले अभागी कर्म शीर्षक कवितामा लेखेका छन्, : मर्न मन लाग्छ मलाई काल आउँदैन । सपनीको लौरो टेकी हिँड्न सकिएन । चिताएको कर्म धेरै गर्न सकिएन ।

रसिकले जे लेखेका थिए, त्यही गरे ।
मेरो वर्कतले भ्याएसम्म
यो देशको सेवा गरिरहन्छु म
मेरो सामथ्र्यले केही नलागे
बरु देशकै गीत गाइरहन्छु म
तर अस्तित्व मेटेर
पराइसामु कहिले घुँडा टेक्दिनँ म ।

रसिकको यही देशप्रेम, साहित्य र कलाप्रतिको सर्वकालीन भक्ति देखेर कवि तथा एमाले नेता विजय सुब्बाले फेसबुकमा लेखे–

नेपाली गीत, सङ्गीत र गायनका त्रिवेणी र त्यत्तिकै धुरी उँचाइका संस्मरण, कथा र निबन्ध लेखक गणेश रसिक दाइको उपन्यास ‘आकाशगङ्गाको ओतमुनि’लाई नाटकका रूपमा मञ्चन पनि गरिएको थियो । वहाँको निधनको खबरले असाध्य दुखित छु । मन रोइरहेको छ । मलाई लाग्छ वहाँको स्रष्टा व्यक्तित्वको पर्याप्त चर्चा हुन सकिरहेको छैन । वहाँजस्तो बहुमुखी प्रतिभाका मान्छे धेरै कममात्र देखिन्छ भेटिन्छ। यति धेरै विधामा यति सशक्त सिर्जना गर्नसक्ने मान्छे मैले तुरून्त सम्झन सकिनँ । म दाइप्रति भावपूर्ण श्रध्दाञ्जलि अर्पण गर्दछु र शोकाकुल परिवारमा हार्दिक समवेदना व्यक्त गर्दछु । २०५२ सालदेखिको दाजुसँगको सङ्गत गर्नु यति नै रहेछ । दाजु सदाको लागि विदा तर सदा सम्झिरहनेछु ।

रसिकले कुनै बेला पुस्तक लेखेका थिए, आकाशगंगाको ओतमुनि । उनको यो कृतिमाथि चेतन आङ्थुपोले सुन्दर नाटक ‘झोडा’ तयार पारी शिल्पी थिएटरमा देखाए । रसिक लामो समययता प्रोस्ट्रेट क्यान्सरसँग जुध्दै आइतबार, १८ जेठ मा आफैं आकाशगंगाको ओतमुनि पुगेका छन् ।

रसिकसँग गनेरै नसकिने सम्झनाहरू छन् । तर ती सम्झना पनि कति सम्झिनु । रसिककै गीतले भन्छ : धेरै सम्झे धेरै हुन्छ ।

इलाममा छँदा अग्रज कवि विमल वैद्यसँग हामी रसिकको घर रम्फोक गइरहन्थ्यौं । उनी हार्मोनियमका रिडहरू चलाउँदै, हामीलाई हल्का मत्मत्याउँदै गीत थपिरहन्थे । पत्नी निरा रसिक घरि काठमाडौं, घर इलाम भइरहन्थिन् ।

उनले भर्खरै सुन्दर कुरुपदेखि इरानमा आफ्नो बलात्कारीविरुद्ध लड्ने रेहनेह जब्बारीसम्मका गीतहरूमा धुन भरे ।

हरिभक्त कटुवालदेखि स्वप्निल स्मृतिसम्मका शब्दमा सुर हाले ।

वासु शशिको ‘मसँग एउटा तारा छ मायाको’ छाड्ने हो भने उनले सधैं आफ्नै शब्दलाई मात्रै धुन हाल्ने गरेका छन् । अब भने नयाँ पुस्तासँग संवाद गर्ने ताकमा छन् रसिक ।

रम्फोकमा अलिकति जग्गा रेडियो फिक्कललाई छुट्याइदिएका छन् । त्यो त्यहीँको माटोमा दिवंगत छोरा निमेष र भाइ प्रजुकुमारको नाममा अर्पेर जाँदैछन् उनी । राष्ट्रिय आदर्श निमावि ऐलानी जग्गामा बसिरहेको रहेछ । त्यसलाई पनि आफ्नो एक रोपनी जग्गा दिएका छन्– आफू गए पनि चिनो रहिरहोस् है भनेर ।

रसिक भन्थे, ‘जीवनमा हिँडिरहनुपर्छ हौ । एकै ठाउँ बसिराख्यो भने त गन्हाइन्छ पो !’

रसिक गए । उनी जाँदा हामीसँगको धेरै ठूलो सम्पदा समेत गयो । अब त सम्झना मात्रै बाँकी छन् । रसिकलाई उनकै गीतको शब्द–श्रद्धाञ्जली !

‘सम्झ, नबिर्स, माया छ तिमीलाई
दुःखमा सुखमा सम्झन्छु म तिमीलाई ।’

लेखक
बसन्त बस्नेत

बस्नेत अनलाइनखबरका सम्पादक हुन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?