 
																						२० जेठ, काठमाडौं । प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सुरु गरेको ‘म झोले हो’ अभियानको काउन्टरमा ‘म झोले होइन’ अभियान पनि सुरु भएको छ ।
प्रधानमन्त्री ओलीले सोमबार आफ्नो फोटोसहित ‘म झोले हो,’ लेखिएको पोष्टर सामाजिक सन्जालमा सार्वजनिक गरेका थिए । त्यसपछि एमालेका अन्य नेता कार्यकर्ताहरुले पनि आफ्नो फोटोसहित सुन्तला र सुनौलो रंग मिश्रित त्यही पोष्टर भाइरल बनाए । भनिन्छ– एमालेले आफ्ना नेता–कार्यकर्ताहरुलाई ‘म झोले हो’ लेखिएको पोष्टर साझा गर्न उर्दी नै जारी गरेको थियो ।
तर भाइरलको यो भीडबाट केही नेता–कार्यकर्ता अलग देखिए, जसले ‘म झोले हो’ ट्रेन्डलाई पछ्याएनन् । एमाले सांसद एवम् पूर्वमन्त्री गोकुल बास्कोटा त्यसको एक उदाहरण हुन् । उनले आफू एमाले ‘कार्यकर्ता’ भएको उल्लेख गरेका छन् ।
‘ज्यामितीय गणितको उदाहरणसहित बास्कोटाले सामाजिक सन्जालमा लेखेका छन्, ‘दुई विन्दुलाई सरल रेखाबाट जोड्न सकिन्छ, त्रिभूजका आन्तरिक कोणको योगफल १८० डिग्री हुन्छ । राजनीतिमा पनि त्यही हो अर्थात् म एमाले कार्यकर्ता हुँ । त्यहाँ मेरो विश्वासको माक्र हैन, समाज नै बदल्ने त्रान्तिकारी सिद्धान्त छ ।’
फेसबुकमा चन्द्र गुरुङ नाम भएका व्यक्तिले पनि आफू एमालेको झोले नभई कार्यकर्ता भएको उल्लेख गरेका छन् । उनले लेखेका छन्, ‘म नेकपा एमालेको शुभेच्छुक, समर्थक र कार्यकर्ता हुँ । झोले होइन ।’ सरोज बोहराले पनि यही स्टाटस फेसबुकमा राखेका छन् ।
यसैगरी आरसी न्यौपानेले ‘म झोले हो’ भन्ने विषयलाई अभियानको रुपमा लैजानु शोभनीय नभएको टिप्पणी गरेका छन् । उनले फेसबुकमा लेखेका छन्, ‘नेकपा एमालेका हामी कार्यकर्ता एवम् नेतृत्व पंक्तिले म झोले हो भन्ने विषयलाई पोष्टर नै बनाएर सार्वजनिक प्रचार तथा अभियानको रुपमा लैजानु त्यति शोभनीय लागेन ।’
यो शब्द एमालेका लागि व्यंग्यात्मक नाम बन्ने हो कि भन्ने चिन्ता उनलाई छ । माधव कुमार नेपालको उदाहरण दिँदै उनले त्यसलाई स्थगित गर्दा कसो होला ? भनेर प्रश्न गरेका छन् । ‘कुनै समय कसैले माधवकुमार नेपालको नाम बिगारेर माकुने राखिदिए पछि माकुने भन्ने नाम सार्वजनिक रुपमै स्थापित व्यंग्य नाम बन्न पुग्यो,’ उनले लेखेका छन्, ‘कुनै नेकपा एमालेको पार्टी नाममा पनि झोले शब्द माकुने नाम झैं स्थापित व्यंग्य नाम बन्ने त होइन । त्यसकारण म झोले हो भन्ने पोष्टर अभियानलाई स्थगित गर्न एकपटक पुनः सोच्दा कसो होला ?’
यसैगरी प्रिन्सबाबु भण्डारी नाम भएका व्यक्तिले फेसबुकमा लेखेका छन्, ‘नेकपा एमाले जनतामा आधारित, कार्यकर्तामा आधारित, आधारभूत तहमा आधारित व्यवस्थित संगठित पार्टी हो । नेकपा एमालेका नेताकार्यकर्तासँग विवेक छ त्यसकारण म पार्टीको कार्यकर्ता हुँ, झोले होइन ।’
एमाले मात्र होइन राजसंस्था समर्थक केही व्यक्तिहरुले पनि ‘म झोले होइन’ भन्दै सामाजिक सन्जालमा स्टाटस लेखिरहेका छन् । राप्रपा केन्द्रीय सदस्य जनकराज पाठकले कसैको झोले वा दास हुनुभन्दा प्रजा हुनुमा गर्व रहेको उल्लेख गरेका छन् ।
यसैगरी आनन्द अधिकारीले पृथ्वीनारायण शाहको फोटो राख्दै ‘म झोले होइन’ लेखेका छन् ।
 
                









 
                     
                                 
 
 
                 
                 
                 
                 
                 
         
                                                %20-%20Copy.jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4